काठमाडौँ — सन् १९६७ मा आजकै दिन (जनवरी २) मा रोनाल्ड रेगनले अमेरिकी राज्य क्यालिफोर्नियाको गभर्नरमा शपथ लिएका थिए । उनी १९७५ सम्म राज्यको गभर्नर थिए । रेगन अमेरिकाका ४० औं राष्ट्रपति हुन् । उनले १९८१ देखि १९८९ सम्म अमेरिकी राष्ट्रपतिको पद सम्हालेका थिए ।
अमेरिकाको इलिनोइ राज्यको टाम्पिकोमा १९११ को फेब्रुअरी ६ मा जन्मिएका रेगनले १९३२ मा अर्थशास्त्र र समाजशास्त्रमा स्नातक गरेपछि केही समय रेडियोमा काम गरेका थिए । रेगन राजनीतिमा प्रवेश गर्नुअघि अभिनेताका रूपमा निकै चर्चित थिए । उनले १९३६ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए ।
१९३७ को फिल्म ‘लभ इज अन द एअर’ बाट उनले हलिउड यात्रा थालेका हुन् । रेगनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् । रेगनका ‘नुट रोक्न : अल अमेरिकन (१९४०)’, ‘किंग्स रो (१९४२)’, ‘द हास्टी हर्ट (१९५०)’, ‘बेड टाइम फर बोन्जो (१९५१)’ लगायतका फिल्म चर्चित छन् । रेगनको २००४ को जनवरी ६ मा अमेरिकाको लस एन्जलसमा ९२ वर्षको उमेरमा निधन भएको थियो ।
