सन् १९९९ मा आजकै दिन : अमेरिकाद्वारा पनामा नहर हस्तान्तरण

पुस १५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९९ मा आजकै दिन (डिसेम्बर ३१) मा अमेरिकाले पनामा नहर हस्तान्तरण गरेको थियो । १९७७ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र पनामाका जर्नेल ओमर टोरियोसले एक सम्झौता गर्दै १९०३ को सन्धि विस्थापित गरेका थिए ।

सम्झौतामा अमेरिकाले १९९९ को अन्त्यसम्ममा अमेरिकी नियन्त्रणमा रहेको नहर पनामा गणतन्त्रलाई हस्तान्तरण गर्ने उल्लेख थियो । 

पनामाको साँघुरो घाँटीमार्फत एट्लान्टिक र प्रशान्त महासागर जोड्ने ८० किलोमिटर लामो मानवनिर्मित नहर वर्षौं लगाएर निर्माण गरिएको थियो । नहर निर्माणको जिम्मा लिएको फ्रान्सेली कम्पनीले १८८२ को जनवारीमा काम सुरु गरेको थियो । तर काममा सोचेअनुसार प्रगति नभएपछि १९०४ मेमा अमेरिकाले काम थालेको थियो ।

निर्माण सम्पन्न भएपछि नहर १९१४ को अगस्ट १५ खुला भएको थियो । नहरबाट पहिलो पटक ‘एसएस एन्कन’ पानीजहाजले यात्रा गरेको थियो । नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तट बीचको दूरी करिब १२ हजार ८ सय ७५ किमि कम भएको थियो ।

नहर निर्माणका लागि निकै चासो देखाएका अमेरिकी राष्ट्रपति थियोडोर रुजबेल्टले निर्माण कार्यको निरीक्षणका लागि १९०६ को नोभेम्बर ६ मा पनामाको भ्रमणसमेत गरेका थिए । उनी अमेरिकाबाहिरको यात्रा गर्ने पहिलो अमेरिकी राष्ट्रपतिसमेत हुन् । नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारको ज्यान गएको थियो । तीमध्ये अधिकांशको नहर निर्माणका क्रममा फैलिएको मलेरिया र ज्वरोका कारण मृत्यु भएको बताइएको थियो

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully