कोरियाली बैंकमा जमेकी नमुना

गुल्मीको रिमुवामा २०५३ सालमा जन्मिएकी नमुना ज्ञवाली हाल दक्षिण कोरियाको केइबी हाना बैंकमा एसिस्टेन्ट म्यानेजर छिन् । करिब पाँच वर्षअघि कोरियामा आयोजित पर्सनल डेभलपमेन्ट कन्फरेन्समा भाग लिन पुगेकी नमुना हाल नेपाली समुदायका लागि प्रेरणाकी स्रोत बनेकी छन् । 

पुस १५, २०८०

सन्जु पौडेल

लुम्बिनी — मध्यम कदकी, झट्ट हेर्दा आफ्नो उमेरभन्दा कमकी देखिने । चकचके र धेरै बोल्ने स्वभाव त उनको बच्चैदेखिको हो । गुल्मीमा जन्मिएर दक्षिण कोरिया पुगेकी नमुना त्यहाँको बैंकिङ क्षेत्रमा जमेकी होलिन् भनेर पत्याउन जो कोहीलाई गाह्रै पर्छ । निकै फरासिली र पढाइमा टाठी नमुना हाल कोरियाको केइबी हाना बैंकमा एसिस्टेन्ट म्यानेजर छन् । 

नमुना २०५३ सालमा खगेश्वर र लक्ष्मी ज्ञवालीको तेस्रो सन्तानका रूपमा गुल्मीमा जन्मिएकी हुन् । उनको खास नाम श्रीदेवी हो । सानैदेखि नै निकै टाठीबाठी भान्जीको स्वभावकै कारण मामाले उनको बोलाउने नाम नमुना राखिदिएका थिए । त्यसयता उनलाई आफन्तले पनि नमुना नै भन्ने गर्छन् । परिवारभित्रै पढ्नेको बाहुल्यता रहेकाले उनलाई पढ्नुपर्छ, पढेरै अघि बढिन्छ भन्ने राम्रो ज्ञान थियो । यदाकदा साथीहरूसँग झगडा हुँदा लड्न नसके पनि पढेर जित्छु भन्ने आँट सानैदेखि पलाएको थियो उनमा । 

गुल्मीको हुँगास्थित जनजागृति माविबाट २०६७ सालमा एसएलसी गरेकी नमुनाले त्यसमाथिको अध्ययन रुपन्देहीमा गरिन् । बुबाआमा दुवै शिक्षण पेसामा आवद्ध थिए । उनीहरूको सरुवा भएपछि २०६८ मा सैनामैनामा बसाई सरेर आएको उनले बताइन् । सैनामैनाबाटै कक्षा १२ सम्मको अध्ययन सकेपछि स्नातक तह बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढिन् उनले । स्नातक पढ्दै गर्दा बैंकमा काम गर्ने अवसर पाएपछि वित्तीय क्षेत्रमा उनको प्रवेश सुरु भएको हो । 

नमुनाले स्नातक पढ्दै गर्दा दिदी सृजनाको विवाह भइसकेको थियो । विवाहपछि दिदी विद्यावारिधि गर्नका लागि दक्षिण कोरिया पुगेकी थिइन् । दिदीले त्यहाँको उरी बैंकमा जागिर गर्थिन् । उनै दिदीको प्रेरणाले स्नातक सकाएपछि सन् २०१८ मा नमुना दक्षिण कोरियामा आयोजित पर्सनल डेभलपमेन्ट कन्फरेन्समा भाग लिन कोरिया पुगिन् । टुरिस्ट भिसामा गएकी नमुनाले त्यहाँको वातावरण बुझेपछि उतै बसेर पढ्न थालिन् । 

‘सुरुमा कोरियन भाषा जान्नै पर्ने भएकाले त्यसकै अध्ययन गरें,’ उनले भनिन्, ‘घरमा सबैसँग सकभर कोरियाली भाषामै बोल्ने, भेटेका बेला स्थानीयसँग पनि बोल्थें । छोटो समयमै भाषा सिकेँ ।’ त्यसपछि उनले भाषा पढ्दै करिब डेढ वर्ष विश्वविद्यालयकै ग्लोबल लाउन्जमा काम गरिन् । ‘त्यसपछि भने राम्रो कम्पनीको अफर आयो । मार्केटिङ म्यानेजरका रुपमा काम सुरु गरेँ,’ नमुनाले भनिन् । उक्त जागिरका लागि कोरियन भाषा तीन लेभलसम्म जानेको हुनुपर्ने भए पनि उनले दुई लेभल सकेकै भरमा अवसर पाइन् । 

उनले कोरियाको राजधानी सोलमा नेपाली विद्यार्थीको संजालले गठन गरेको संस्था सोसाइटी अफ नेपलीज स्टुडेन्ट इन कोरियामा मार्केटिङ अफिसरको जागिरमा उत्तीर्ण भइन् र गर्न थालिन् । छोटो समयमै राम्रो अवसर र कोरियन भाषमा बोल्दै त्यहाँका मान्छेसँग काम गर्न पाउँछु भन्ने सोचेकै थिइनन् उनले । त्यो पनि, विश्वविद्यालय अध्ययन गर्नुअघि नै राम्रो जागिर । त्यही जागिरले नै आफुलाई परिपक्क बनाउँदै लगेको बताउँछिन् नमुना । 

यसैबीचमा स्नातकोत्तरका लागि केइमयुंग विश्वविद्यालयमा छात्रवृत्तिमा नाम निकालिन् । ‘पढाई सकेपछि वित्तिय क्षेत्रमा काम गर्ने रहर जाग्यो,’ उनले भनिन्, ‘भ्याकेन्सी खुलेको देखेपछि आवेदन दिएँ । प्रतिस्पर्धाका विभिन्न चरणबाट पास भएर काम गर्ने अवसर पनि पाएँ ।’ ‘आवेदन दिन नै तीन दिन लाग्यो,’ उनले भनिन्, ‘त्यसपछि पनि लामै प्रक्रिया थियो । जागिर पाए हुन्थ्यो भन्ने त थियो, तर त्यति साह्रै चिन्ता लिएकी थिइन् । दुई महिनापछि छनोट भएको खुसी साट्न पाएँ ।’ 

नेपालमा रहेका बुवा आमाले सरकारी जागिर गरिदिए हुन्थ्यो भन्ने सोच्थे । तर आफूले त्यो चाहना पुरा गर्न नसक्दा भने पिर लागेको बताउँछिन् उनी । उनले बुवाआमालाई नेपालको जस्तै जागिर छ भनेर चित्त बुझाउनका लागि पनि बैंकको जागिर रोजेको बताइन् ।

उनी कार्यरत बैंकको मुख्य कार्यालय कोरियाली राजधानी सोलमा छ । यसका विभिन्न २४ देशमा शाखा छन् । बैंकमा जागिर खान जानुअघि उनले आफ्नो पहिलेको काममा केही जानकारी गराएकी थिइनन् । तर बैंकमा जाने भए पनि भने पहिले कार्यरत संस्थाका हाकिमले ‘ई सेभेन’ भिसा बनाएर हामीसँगै राखेर अघि बढाएकी चेलीले छोड्ने भई भन्दा उनी निकै भावुक भएको बताइन् । संस्थाबाट नगइदिए हुन्थ्यो भन्ने आग्रह भए पनि गतिलो अवसर भएकाले गुमाउन सकिनन् नमुनाले । ‘पहिलो अफिस छोड्दा गाह्रो महसुस भयो,’ उनले भनिन्, ‘मेरो भिसा, कागजपत्रदेखि हरेक मेसो मिलाइदिएको संस्थाबाट टाढिन निकै गाह्रो पर्‍यो ।’

सुरुमा इन्टर्नसिप गर्नैपर्ने बैंकको नियम भए पनि उनले गर्नुपरेन । दुई पटकसम्म बेस्ट इम्प्लोइ अवार्ड पाइसकेकी नमुनाले आफ्नो चाहना अनुसारकै जागिरमा काम गरिरहँदा खुसी लागेको उनले बताइन् । बुवाआमा, आफन्त र कोरियास्थित नेपाली पनि उनको छलाङको प्रशंसा गर्छन् । तर अझै पनि बुवाको खुसीसँगै सरकारी जागिरको भूत भने कायमै रहेको उनले सुनाइन् ।

नमुनाले गत वर्ष विवाह पनि गरिन् । उनका श्रीमान् पुष्पराज अधिकारी पनि कोरियामै विद्यावारिधि गर्दै छन् । स्टुडेन्टको संस्थामा आबद्ध रहेका पुष्पराजको स्वभावले नै मायामा परेकी थिइन् उनी । दुवैजना त्यो समूहको उपाध्यक्ष थिए । नेपालबाट पनि विवाह गर्नुपर्छ भन्ने कुरा आइरहन्थ्यो । त्यहीबेला उनले पुष्पसँग विवाह गर्ने निधो गरिन् । अफिसियल कुराकानी गर्दागर्दै मायामा परेका थिए उनीहरू । दिदीले दाइलाई समेत उतै बोलाइन् । भाइ भने बुवाआमासँग रुपन्देहीको सैनामैनामै बसेर पढिरहेका छन् । 

कोरियामा बस्दै गर्दा नमुनाले धेरै नेपालीलाई चिन्ने, साथी बनाउने र संस्थामा आबद्ध हुने मौका पाइन् । उनी हँसिली र फरासिली भएकाले सबैको नजरमा राम्रै छिन् उनी । उनलाई हाल पुष्पराजको साथ र सहयोग पनि थपिएको छ । बिदामा नेपाली पुस्तक पढ्छु,’ उनले भनिन्, ‘यहाँ कोरियन भाषा र अंग्रेजी चल्छ । नेपाली पढ्दा बेग्लै मजा आउँछ ।’

युवा ग्यालरी

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully