वार्षिक झन्डै ६२ करोड रुपैयाँको माछा बेच्ने रूपन्देहीको सियारी गाउँले माछा पालनको यात्रामा ६ दशक खर्चिसकेको छ, यस गाउँका ३ सय घरधुरीले ४ सय १५ हेक्टर पोखरीमा माछा पालन गर्दै आइरहेका छन्
लुम्बिनी — सियारी गाउँपालिका–५, दुर्गापुरका अवकाशप्राप्त शिक्षक प्रेमकुमार पोखरेललाई बर्माबाट नेपाल फर्केको हिजैजस्तो लाग्छ । उनी आउँदाको कुनै दुर्गम र परित्यक्त बस्तीजस्तो सियारी गाउँ पछिल्ला चार दशकमा हेर्दाहेर्दै माछा गाउँमा परिणत भएको छ ।
हेलिकोप्टरमा चढेर यो गाउँ हेर्ने हो भने पोखरीका स–साना कुण्डहरूको लस्कर बीचोबीच बस्ती बसेजस्तो देखिन्छ । यो त्यही गाउँ हो, जहाँका ३ सय घरधुरीले ४ सय १५ हेक्टरमा माछा पालिरहेका छन् ।
भैरहवाबाट १४ किलोमिटर उत्तर–पश्चिमको सियारी गाउँ कसरी माछा गाउँमा परिणत भयो भनेर बुझ्न बर्मासम्मको इतिहास उधिन्नुपर्छ । किनभने, २०१८ सालमा तत्कालीन राजा महेन्द्र बर्मा भ्रमणमा पुगेका बेला त्यहाँ बसोबास गरिरहेका नेपालीहरूको स्वदेश फिर्तीको विषयमा छलफल चलेको थियो । यही छलफलपछि ०१९ देखि ०२७ सालसम्म हजारौं घरधुरी बर्माबाट नेपाल फर्किए । यही टोलीमा मिसिएर ०२१ सालमा नेपाल आएका थिए, ११ वर्षीय प्रेम, उनका पाँच भाइ, चार बहिनी र आमाबुवासहितको परिवार । यसरी आएका बर्मेलीले नै समयक्रममा सियारी गाउँलाई माछा गाउँ बनाउन भूमिका खेलेका हुन् ।
बर्माबाट आएका झन्डै ८ सय घरधुरी उतिबेला चिलिया आसपासमा आएर बसेका थिए । ०२७ सालबाट सरकारले जमिन दिए पनि बर्मेलीहरू खेतीपातीमा लागेका थिए । शिक्षक पोखरेलका अनुसार त्यतिबेला उनीहरूले पिउने पानीको अभाव टार्न सरकारी निकायमा हारगुहार थाले । ‘सरकारको सहयोगमा ट्युबवेल र बोरिङ गाड्न थालेपछि पानीको अभाव टर्यो,’ उनले भने, ‘अनि, खेतीपातीको क्रम बढ्न थाल्यो ।’ ०३४ मा स्थानीय वीरेन्द्र प्राविबाट शिक्षकको जागिर सुरु गरेका पोखरेलले ०४२ बाट सियारी–४ स्थित पब्लिक माविमा पढाए । उनले ०७२ सालमा विद्यालयबाट अवकाश प्राप्त गरेका हुन् ।
०३८/३९ सालतिर भैरहवा–लुम्बिनी भूमिगत जल आयोजना (भैलभुज) निर्माण भएपछि गाउँमा सिँचाइ पुग्यो । त्यही बेला सडक र नहर बनाउन खेतको माटो उत्खननको काम सुरु भयो । भैलभुजले बनाएको सडकलाई भैलभुज सडक तथा नहरलाई भैलभुज नहर भनिन्थ्यो । त्यसबेला बर्मेलीको बसोबास रहेका पण्डितपुरको ओर्लहवा, छपियाको कृष्णपुर, बैदौलीको सिद्धपुर र चिलियाको दुर्गापुर बस्तीका झन्डै ६० स्थानीय परिवारको खेतबाट माटो निकालिएको थियो । माटो निकालेपछि धेरैका बारीमा गहिरा खाडल बनेका थिए । बारीमा खाडल परेपछि किसान चिन्तित बने । तर, त्यही बेला पानी जमेको खाडलमा माछा हुर्किएको देखेर माछा पालन गर्न सकिन्छ कि भन्नेमा पुगे । त्यही बेला माछासम्बन्धी अध्ययन गरेका सरकारी कर्मचारी र दयानगरतिर घुम्दै आएका विदेशीले तिनै खाडलमा माछा पाल्न सिकाए । पोखरेलले पनि यही बेला १० कट्ठा जमिनमा माछा पाल्न सुरु गरे । ०५२ सालमा परिवार छुट्टी भिन्न भएपछि उनको माछापालन यात्रा रोकियो ।
पोखरेलका अनुसार छपियामा भने ०३४ सालबाट व्यावसायिक माछापालन सुरु भएको हो । ०२० सालमा भैरहवाको ठुटीपीपलमा माछापालन तथा भुरा उत्पादन विकास कार्यालयले यी किसानलाई माछा पालनसम्बन्धी तालिम दिएर मद्दत गर्न थाल्यो । त्यसपछि सुरु भयो व्यावसायिक माछा पालनको यात्रा । ०२३ सालमा बर्माबाट आएका सियारी–४ का गोपालप्रसाद पाण्डेले ०३५ सालबाट माछापालन सुरु गरे । पुर्ख्यौली कर्म खेतीपाती भए पनि सुरुमा एक कट्ठाबाट सुरु भएको माछापालन अहिले १० कट्ठामा विस्तार भएको बताए ।
एसएलसी परीक्षापछिको बिदाको समयमा उनले ठुटेपीपलस्थित नेपाल मत्स्य विकास केन्द्रमा ज्यालादारी कर्मचारीका रूपमा काम गर्न थाले । त्यो अवधिमा उनले माछाका भुरा हुर्काउने तरिका सिके । एक महिनामै यो काम छोडेर गाउँ फर्केपछि माछापालनमै जोडिए । चार/पाँच दिन मजदुर लगाएर खनेको पोखरीमा तीन सय कपन कार्प जातका भुरा हालेर माछापालन सुरुवात गरेको उनले बताए । ‘पहिले पहिले कपन कार्प माछा धेरैले पाल्थे,’ उनले भने, ‘अहिले त बिगहेड, नैनी, रहु र पंगासिस माछा पाल्ने चलन चलेको छ ।’
माछा पालनको सुरुवाती दिन किसानका निम्ति संघर्षपूर्ण थिए । त्यसबेला माछाको दाना सजिलै उपलब्ध हुन्थेन । माछापालकले धानको भुस, घाँस खुवाउँथे । त्यसरी पालिएका माछा प्रतिकिलो ५०/६० रुपैयाँमा बिक्री हुन्थ्यो । ०६४/६५ सालदेखि सियारी र आसपास माछापालनमा आधुनिक शैली भित्रियो । शैली फेरिएसँगै यसको बजार पनि बिस्तारै बढ्दै जान थाल्यो अनि आम्दानी पनि बढ्न थाल्यो । गोपालप्रसादले अहिले माछापालन हेर्नकै लागि दुई जना कर्मचारी राखेका छन् । आफू र श्रीमतीको खटाइ त छँदै छ । उनले पोखरी सफा गर्दा, नयाँ भुरा हाल्दा र माछा समात्ने बेला धेरै मिहिनेत पर्ने बताए । माछाको बजार बढ्दै गएपछि र यसबाट आम्दानी पनि भनेजस्तो हुन थालेपछि यहाँका धेरैले माछा पालन सुरु गरेको उनले बताए । ‘धेरै पानी नसोस्ने र माछाका लागि उपयुक्त माटो छ,’ उनले भने, ‘सिँचाइको प्रबन्ध भएकाले पनि यहाँ माछा पाल्न सजिलो छ ।’
सियारीमा माछापालन बढ्नुका पछाडि ०३२ सालमा खुलेको कृषि विकास बैंक पनि एउटा कारण हो । किनभने, बैंकले माछापालनका लागि ऋण दिन्थ्यो । यहाँका बासिन्दा नै माछापालनमा लागेपछि सरकारले ०६४/६५ देखि ०७०/७१ सम्म फिस मिसन कार्यक्रम सञ्चालन गर्यो । माछापालनको आम्दानीले किसानको जीवनस्तर मात्रै बदलिएन, उनीहरूका घरमा टीभी, फ्रिज र मोटरसाइकल पनि भित्रिन थाले ।
धान र गहुँको परम्परागत उत्पादन छाडेर यहाँका अधिकांश किसान माछापालनमा लागेका छन् । त्यसैले त समयक्रममा सियारी गाउँको नाम नै माछा गाउँमा बदलिएको छ । माछापालन सुरु गरेदेखि किसान समूह गठन गरेर एकताबद्ध हुँदै आएको स्थानीयले बताए । ०६५ असार ४ मा माछापालन किसान समूह नै श्री जलदेवी मत्स्य उत्पादक सहकारी संस्था लिमिटेडमा परिणत भएको हो । सुरुमा ३० सदस्यीय समिति बनेको र सहकारीका साधारण सदस्य ५ सयको हाराहारीमा रहेको सहकारीका पूर्वअध्यक्ष गणेश शाहीले बताए । ‘संस्था दर्ता भएपछि सेयर खरिदका आधारमा सदस्यता दिन थाल्यौं,’ उनले भने, ‘अहिले ३ सय ३० सदस्य छौं ।’ सहकारीको पुँजी अहिले ३ करोडभन्दा बढी पुगेको उनले बताए ।
जलदेवी सहकारीका वर्तमान अध्यक्ष थमन पौडेल पनि बर्माबाटै आएका हुन् । ०५० सालबाट माछा पाल्न सुरु गरेका उनले सियारी गाउँका किसान माछापालनमा मात्रै सीमित नभएर उत्पादित माछाको बजार विस्तार गर्ने उपायको खोजी पनि गरिरहेको बताए । ‘समयमै माछा बिक्री हुन नसके बिग्रिने भएपछि सहकारीले ०७८ सालमा फ्रोजन युनिट स्थापना गरेको हो,’ उनले भने, ‘हामीसित माछा चिस्याएर प्याकेजिङ गरेर बिक्री गर्ने क्षमताका कन्टेनर पनि छन् । वर्षौंसम्म खान मिल्ने गरी फ्रोजन गरेर प्याक गर्न सकिन्छ ।’
सियारीका पुरुषमात्र नभई महिलाले समेत व्यावसायिक माछापालनलाई जोड दिएका छन् । स्थानीय गोमा दाहालका बुवाआमा ०२० सालमा बर्माबाट बसाइँ सरेर छपिया आएका हुन् । ०३१ सालमा सियारीमा जन्मेकी उनको परिचय सियारीकी अगुवा महिला उद्यमीको रूपमा छ । ०५८ मा श्रीमान्को मृत्यु भएपछि गोमाका अघि २ छोरा कसरी हुर्काउने भन्ने चिन्ताका बीच उनले ३५ हजार खर्चेर ९ कट्ठा जमिनमा पोखरी खन्न थालेकी थिइन् । ‘सुरुमा त कसरी पाल्ने भन्ने पनि तरिका थाहा थिएन,’ उनले भनिन्, ‘सुरुकै वर्ष ४० हजार आम्दानी भएपछि अरू कुरा सिक्दै गएँ ।’
माछा पालनको पुरानो शैली फेरिएको बताउने गोमाले अहिले डेढ बिघामा माछा पालेकी छन् । मासिक ५ हजार रुपैयाँ पारिश्रमिक दिएर १ जना कर्मचारी राखेकी छन् । आफू भने बजार बुझ्ने र माछा बिक्री गर्दै आएकी छन् । यही माछा पालनकै कमाइले दुई छोरालाई क्यानडा र अमेरिका उडाइसकेको उनले बताइन् । पोखरी र माछा स्याहारमा वार्षिक २ लाख खर्च हुने र ४ लाख रुपैयाँ बचत हुने गरेको उनले सुनाइन् ।
माछा गाउँमा आर्थिक वर्ष ०७३/७४ बाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरिएको छ । यो परियोजनाले सियारीसमेत जिल्लाका अन्य तीन पालिका (गैडहवा, शुद्धोधन, मायादेवी) लाई ‘माछा जोन’ घोषणा गरेको थियो । त्यसमार्फत किसानलाई अनुदान, तालिम, माछामा लाग्ने रोग नियन्त्रणका लागि उपचार, पोस्ट हार्भेस्ट सेन्टर स्थापना, ह्याचरी, नर्सरी पूर्वाधार विकास सहयोग मिलेको छ । साथै साना सिँचाइ निर्माण तथा मर्मत सम्भार, मिनी ल्याब स्थापना सहयोग, जिउँदो माछा पसल तथा दाना उद्योग स्थापनाका लागि सहयोग, प्राविधिकबाट माछा पोखरी निरीक्षण भइरहेका छन् । कृषि आधुनिकीकरण परियोजनाको हालसम्म सियारी गाउँपालिकामा नयाँ पोखरी निर्माणका लागि ३ करोड ७७ लाख रुपैयाँ लगानी भएको परियोजना प्रमुख नारायण काफ्लेले बताए । साथै अन्य उपकरण, मर्मत सम्भार, भुरा खरिदजस्ता काममा परियोजनाले किसानलाई कुल ६ करोड ५० लाख हाराहारीको बजेट सहयोग गरेको उनले बताए ।
सात वर्षको अवधिमा सियारीका २ सय ५० घरधुरी यो परियोजनामा दर्ता भएका छन् । परियोजना प्रमुख काफ्लेले दर्ता नभएका समेत गरेर सियारीमा ३ सय घरधुरी माछापालनमा आबद्ध रहेको र ४ सय १५ हेक्टरमा माछापालन भइरहेको बताए । ‘हामीले २ सय हेक्टरमा नयाँ पोखरी खन्यौं,’ उनले भने, ‘एक हेक्टर बराबर ३ लाख रुपैयाँ अनुदान दिने गरेका छौं ।’ माछापालन क्षेत्रफल १ हजार हेक्टर नाघेपछि ०७५/७६ मा सियारीसहित ७ पालिका र ४४ वडा सुपरजोनमा परिणत भएको काफ्लेले बताए । जसमा सियारी, शुद्धोधन, गैडहवा र मायादेवी गाउँपालिकाका साथसाथै बुटवल उपमहानगरपालिका, तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र सिद्धार्थनगर नगरपालिकाका वडा समावेश छन् ।
परियोजना प्रमुख काफ्लेका अनुसार सियारीमा पोखरी खन्नका लागि मात्र हालसम्म २० करोड ७५ लाख रुपैयाँ खर्च भएको छ । त्यसबाहेक प्रतिहेक्टर (३० कट्ठा) मा माछाका लागि आवश्यक दाना, पोखरी मर्मत, आवश्यक उपकरण खरिद, भुरा व्यवस्थापन, सिँचाइ, औषधि, ढुवानी लगायतमा वार्षिक ६ लाख ८२ हजार ५ सय ३८ रुपैयाँ खर्च हुने गरेको काफ्लेले जानकारी दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार सियारीमा प्रतिहेक्टरमा वार्षिक ६ हजार ८९ किलो माछा उत्पादन हुने गरेको छ । यो भनेको प्रतिकट्ठा २ सय २ किलोका दरले उत्पादन हुन्छ भन्ने हो । परियोजना प्रमुख काफ्लेका अनुसार सियारीको ४ सय १५ हेक्टरमा २ हजार ५ सय २६ मेट्रिक टन माछा उत्पादन हुन्छ । जुन माछा औसत दर २ सय ७० रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको छ ।
बजारीकरण गर्दा ५ प्रतिशत भने नोक्सान हुने गरेको बताउँदै उनले ९५ प्रतिशत बिक्री गर्दा १ वर्षमा ६१ करोड ४० लाख ४५ हजार २ सय ५ रुपैयाँ आम्दानी हुने गरेको बताए । उनले भने, ‘खर्च कटाएर किसानको घरमा भित्रिने नाफा ३३ करोड ७ लाख ९१ हजार ९ सय ३५ रुपैयाँ छ ।’
मत्स्य पर्यटनका माध्यमबाट पालिकाको आर्थिक विकास गर्न सकिने सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताए । मुलुकको कुल उत्पादनमा सियारीका माछाले ३० प्रतिशत योगदान दिएको उनको दाबी छ । ‘सियारी माछाको पकेट क्षेत्र हो,’ उनले भने, ‘यहाँको माछाको प्रचारप्रसार र बजारीकरणका लागि सुरुवातदेखि नै विशेष चासो राखेर अगाडि बढेका छौं ।’ माछा उत्पादन र बजार विस्तारका लागि संघीय सरकारका गृहमन्त्रीसँग पटकपटक भेट गरेर छपियाका माछालाई ‘फ्रोजन’ गरेर काठमाडौंबाट बिक्री वितरण गर्ने वातावरण मिलाउन आग्रह गरिरहेको उनले बताए ।
पालिकाले १० कट्ठामा माछा पोखरी भएकालाई प्रतिकेजी ५ रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइरहेको छ । ०७८/७९ बाट सुरु भएको अनुदानबापत पालिकाले वार्षिक साढे २३ लाख रुपैयाँ माछापालन क्षेत्रमा छुट्याएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले माछा किसानलाई अनुदानबापत साढे २३ लाख रुपैयाँ वितरण गरेको उनले बताए ।
डिलमा होटल–रेस्टुराँ
सियारीको परिचय माछामा मात्रै सीमित छैन । माछा पालन गरिएका पोखरीका डिलमा आकर्षक होटल तथा रेस्टुराँ खोलेर त्यहाँबाट माछाका अनेकन स्वाद पस्किएर पनि आम्दानीका थप अवसर सिर्जना गरिरहेको छ । कतिपयले पोखरीमाथि नै होटल/रेस्टुराँ निर्माण गरेका छन् । यस्ता होटल र रिसोर्टका कारण सियारी माछा पर्यटकको गन्तव्य पनि बनिरहेको छ ।
सियारीको बीच छपियामा रहेको लुम्बिनी प्यालेस रिसोर्ट अहिले आकर्षणको केन्द्र बनेको छ । उक्त रिसोर्टले डुंगामा चढेर कोठासम्म पुग्ने र पोखरीको बीचमै रहेको कोठामा रात बिताउन मिल्ने ‘पोन्ड भिल्ला’ तयार गरेको छ । त्यस्तै स्थानीय माछा पालक गौरव गौतमले ०७४ यता सियारी–४, शिवपुरमा रिसोर्ट सञ्चालन गरिरहेका छन् । ३ करोड रुपैयाँ लगानीमा सियारी फिस भिलेज रिसोर्ट चलाइरहेका उनको रिसोर्टमा माछाको झोल, फ्राई, माछाको सेकुवा, स्टिम माछा, माछा तावा, माछाको मःम, माछा चिल्ली, बोनलेस, फिसबल, फिस फिंगर, माछाको छोइला, सुकुटी लगायत डेढ दर्जन परिकार उपलब्ध छन् । ‘कतिपय फोन गरेर आउनुहुन्छ,’ उनले भने, ‘अहिले माछाका भुरा बिक्री पनि गर्छु, त्यसबाट पनि राम्रै आम्दानी भइरहेको छ ।’
मत्स्य व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष पुण्यप्रसाद चौधरीले ०५८ सालबाट माछापालन थालेका थिए । साबिकको मानमटेरिया गाविस (हाल शुद्धोधन–४) मा ७ बिघामा भुरा उत्पादन तथा ह्याचरी सञ्चालन गरिरहेका छन् । उनले ७ महिनादेखि ७ करोड रुपैयाँ लगानी गरेर सखिया फिस रिसोर्टसमेत सञ्चालन गरेका छन् । चौधरीका अनुसार उक्त वडा सियारी गाउँपालिकाको सँधियार वडा हो । यसलाई पनि छपिया माछा क्षेत्र भनेर चिन्ने गरिन्छ ।
‘पालिका अर्को भए पनि माछा उत्पादन गर्ने क्षेत्र भएकाले छपियालाई पनि माछा गाउँ नै भन्ने गरिन्छ,’ उनले भने, ‘हामीले पनि त्यही भनेरै चिनाउँछौं ।’ उनको रिसोर्टमा पोखरीमाथि बसेर खाने ठाउँ बनाएको छ । माछा हेर्दै तिनकै परिकार खाँदाको बेग्लै आनन्द यहाँ आउने ग्राहकले उठाइरहेको उनले सुनाए । चौधरीका अनुसार सियारीमा यस्ता साना–ठूला गरेर १० वटा रिसोर्ट सञ्चालनमा छन् । जसमा ५ देखि ९० करोड रुपैयाँसम्म लगानी भएको उनले बताए ।
