द्वन्द्वमा भरिभराउ मुसीकोट, संघीयतापछि सुनसान

माओवादी द्वन्द्वताका जीवन रक्षाका निम्ति रुकुमका विभिन्न गाउँबाट मानिसहरू मुसीकोट झरेका थिए, मुलुक संघीयतामा प्रवेश गरेसँगै यहाँबाट पलायन हुनेको संख्या बढ्दो

आश्विन २१, २०८०

महेश केसी

रुकुम पश्चिम — दशकअघिसम्म डेरा पाउनसमेत मुस्किल हुने रुकुम पश्चिमको सदरमुकाम मुसीकोटका अधिकांश घर अहिले रित्ता छन् । २०३० मा साविक रुकुम जिल्ला सदरमुकाम सरेसँगै सुरु भएको मुसीकोटको चहलपहल सशस्त्र द्वन्द्व सकिएको दशकसम्म पनि कायमै थियो ।

संघीयतापछि पूर्व र पश्चिम नाममा बाँडिएर रुकुम दुई जिल्ला बनेपछि मुसीकोटको रौनक घट्न थालेको हो । रुकुम पश्चिमको सदरमुकाम भए पनि विकासमा भएको विकेन्द्रीकरणले २०७४ सालपछि मुसीकोटको चमक घट्दै गइरहेको छ । सल्ले, मठ, खलंगा, बागबजार, सेरिगाउँ अनि पीपलनेटाका करिब आधा दर्जन बस्ती जोडिएर फराकिलो बजार बन्नै लागेका बेला यहाँको चहलपहलमा कमी आएको स्थानीय बताउँछन् । 

वि.सं. २०५२ पछि गाउँ–गाउँमा तत्कालीन माओवादी द्वन्द्वको प्रभाव बढ्न थालेपछि सदरमुकाम आउनेको लर्को लागेको मुसीकोट नगरपालिका–१ का हेमराज श्रेष्ठ सम्झिन्छन् । ‘गाउँमा असुरक्षा बढेपछि बिस्तारै मान्छे यता आए,’ उनले भने, ‘घरजग्गाको कारोबार बढेपछि यहाँको चहलपहल पनि बढेको थियो ।’ 


अहिले यहाँको बजारका धेरै सटर बन्द भएको र घरहरू पनि बिस्तारै रित्ता हुन थालेको मुसीकोट–१ पातुखोलाका स्थानीय प्रेम पुनले बताए । ‘कुनै बेला यहाँ कोठा पनि पाउन मुस्किल पर्थ्यो, अहिले त आधाभन्दा धेरै घर खाली छन्,’ उनले भने, ‘बजारमा पनि चहलपहल र रौनक देखिन छोडेको छ ।’ त्यस्तै अवस्था छ खलंगा नजिकैको अर्को सानो बजार पीपलनेटाको पनि । चारैतिरबाट मान्छेहरू पीपलनेटाको बाटो भएर हिँडेको सम्झिन्छन् स्थानीय ७२ वर्षीय टीकाराम केसी । रुघाँ, खारा र छिबाङदेखि पश्चितिर र रातामाटासम्मका मान्छे यही बाटो हिँड्ने उनले बताए । उकालो कटेर पीपलनेटामा सुस्ताउने र खलंगा बजारतर्फ उक्लिने गरेको अनुभव केसीले सुनाए । ‘खलंगामा माओवादी द्वन्द्वताका लडाइँ हुने खतरा देखेर धेरै मान्छे यहाँ बसाइँ सरेर आउँथे,’ उनले भने, ‘त्यतिखेर यहाँ थुप्रै होटल र पसल खुलेका थिए । चहलपहल पनि बाक्लो थियो ।’ तर अहिले पीपलनेटा पनि सुनसान छ । मध्यपहाडी लोकमार्गले छोएर गए पनि मान्छेहरू रोकिने र सुस्ताउने यो ठाउँमा अहिले केही स्थानीय मात्रै बस्ने गरेका छन् । यहाँको चहलपहल हराएको छ । जिल्ला अस्पताल र विमानस्थल रहेको सल्लेमा पनि चहलपहल घटेको छ भने मठ र सेरिगाउँको विकासको गति पनि मन्द छ ।

मुसीकोटको खलंगा बजार अहिले ।तस्बिरहरू : महेश केसी/कान्तिपुर

मुसीकोटको मूल बजारका रूपमा रहेको खलंगा जहाँ सयौं पसल, होटल र अरू व्यवसाय गर्नेहरू केन्द्रित भएको ठाउँ हो । यहाँ पनि संघीयतापछि चहलपहल आधाभन्दा धेरैले घटेको छ । विगत ११ वर्षदेखि बजारमा फेन्सी पसल गर्दै आएका स्थानीय खगेन्द्र रसाइली बजारको मन्द गति देखेर अचम्म व्यक्त गर्छिन् । ‘हामीले व्यापार–व्यवसाय थाल्दा हाम्रा लागि अफ सिजन भन्ने नै थाहा हुन्थेन । दिनमै ५० हजार बढीको व्यापार हुन्थ्यो,’ उनले भने, ‘तर अहिले त केही हजारको व्यापार हुन पनि मुस्किल छ ।’ मान्छेको चहलपहल र आवागमन घटेपछि व्यवसाय छोड्ने मनस्थितिमा पुगेका खगेन्द्र यसको मुख्य कारण जिल्ला विभाजन र वैदेशिक रोजगारीलाई मान्छन् । ‘संघीयतापछि पूर्वका मान्छे यता आउन छोडे अनि बजार पनि गाउँगाउँमा बने,’ उनले भने, ‘साथै धेरै युवाहरू काम खोज्दै विदेश गए । अनि कसले किन्छ हाम्रो सामान ?’

मुसीकोटको खलंगा बजार पहिले ।

मुसीकोट क्षेत्रमा जिल्ला सदरमुकामका विभिन्न सरकारी कार्यालय, शैक्षिक संस्था, बैंक र ठूला व्यवसाय सञ्चालन भए पनि यसका उपभोक्ता घट्दै गएको रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादुर खड्काले बताए । ‘यहाँ जे छ, त्यसको केही अंश गाउँ–गाउँमा पनि पुगेको छ,’ उनले भने, ‘विद्यालय, बैंक र केही सरकारी कार्यालय अहिले गाउँमै पुगेका छन् । मान्छे यहाँ आउनैपर्ने भए पनि बिहान आएर साँझ घर फर्किहाल्छन् ।’ पहिले मान्छे जिल्ला बाहिर जाने सवारीसाधन चढ्न यहाँ आउँथे, अब त त्यो सुविधा पनि गाउँबाटै हुन थाल्यो । रुकुम उद्योग वाणिज्य संघको कार्यालयले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने पनि यस क्षेत्रमा व्यवसाय गर्नेको संख्या घट्दो क्रममा छ । २०७४ सालसम्म मुसीकोट क्षेत्रमा ७ सय ६२ वटा व्यवसाय दर्ता भएकामा आर्थिक वर्ष २०७९/८० सम्ममा यो संख्या आधाभन्दा धेरै घटेर ३ सय २३ मात्रै कायम छ । 


मुसीकोट नगरपालिकाका तीन वडामा फैलिएको यो बजारको इतिहास लामो छ । तत्कालीन बाइसे–चौबिसे राजा बसेको मुसीकोटलाई जुम्ली खलंगाका नामले पनि चिनिन्छ । तत्कालीन राजपरिवारका सन्तान तथा पूर्वप्रधानपञ्च ७३ वर्षीय गोपालजीजंग शाहका अनुसार वि.सं. १८९१ मा मुसीकोटे राजालाई विस्थापित गर्दै जुम्लाबाट आएका राजा प्रभुनारायण शाहले यस भेगमा शासन गरेको इतिहास छ । तत्कालीन मुसीकोट राज्यभित्र अर्मा–सिम्ली, भलाक्चा, चौखाबाङ, साँख र खलंगा गरी पाँच गाउँ पञ्चायत समेटिएका थिए । बाइसे–चौबिसे राज्यकालदेखि प्रजातन्त्र, बहुदल हुँदै पञ्चायतबाट राजतन्त्रदेखि लोकतन्त्रसम्मको लामो इतिहासको साक्षी बनेको मुसीकोट संघीयतापछि एकाएक सुस्ताउन थालेको हो ।

आउनेभन्दा जाने धेरै

तत्कालीन बाइसे–चौबिसे राजाको दरबारमा सुसारे बसेकी ‘मुसी’ नामकी कन्याले रोजेको स्थललाई मुसीडाँडा नामकरण गरी यो राज्यको नाम नै मुसीकोट रहन गएको बताइन्छ । मुसीडाँडालाई अहिले पनि नगरपालिकाले संरक्षित क्षेत्रका रूपमा विकास गरिरहेको छ । मुसीकोट आफैंमा एउटा ऐतिहासिक स्थल भएकाले यसको संरक्षण संवर्द्धन र प्रचारप्रसार गर्न जरुरी रहेको स्थानीय बताउँछन् । यहाँको पहाडी भूगोल र जनजीवनले जोकोहीको मन लोभ्याउँछ । खलंगा बजार आसपास र साँखका ग्रामीण सुन्दरता यहाँका मौलिक कला–संस्कृति हुन् । सानीभेरी नदीछेउका उर्वर फाँटहरूले व्यावसायिक कृषिमा राम्रो सम्भावना देखाएका छन् । जन्तीडाँडाको शिरबाट रुकुम र आसपासको हिमाल अनि पहाड नियाल्न सकिन्छ । साथै डिग्रे साइकुमारी भगवती माताको मन्दिर कर्णाली क्षेत्रको प्रमुख धार्मिक स्थलका रूपमा परिचित छ । 


यहाँ स्नातक तहसम्मका लागि २ र स्नातकोत्तर तहसम्मका लागि एउटा बहुमुखी क्याम्पस छ । यसका साथै माध्यमिक तह अध्ययनका लागि विभिन्न सरकारी तथा निजी विद्यालय पनि रहेका छन् । अहिले १५ शय्याको जिल्ला अस्पताल सञ्चालनमा छ भने यसलाई स्तरोन्नति गरेर ५० शय्याको बनाउने काम सुरु भइसकेको छ । राप्ती लोकमार्ग र मध्यपहाडी राजमार्गले जोडेको मुसीकोट क्षेत्रमा जनघनत्व पनि ठूलो छ । चिसो हावापानी रहेको यस स्थानमा पानीका मुहान पनि प्रशस्त छन् भने खाद्यान्न तथा तरकारी खेतीका लागि यो भेग उपयुक्त मानिन्छ । तर पछिल्ला केही वर्षमा यहाँ भित्रिनेभन्दा पनि यहाँबाट बाहिरिने जनसंख्या बढेको तत्कालीन जिल्ला विकास समितिका सभापति खेममान खड्का बताउँछन् । यहाँ सरकार र व्यक्तिसमेतले ठूलो लगानी गरेकाले मान्छेहरूको आकर्षण बढ्नुपर्नेमा त्यसो नहुनु दुःखद भएको उनले सुनाए ।


मुसीकोट नगरपालिकाले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्ने हो भने बितेको तीन आर्थिक वर्षमा बसाइँ सरी आउनेहरू घट्दै गइरहेका छन् भने यहाँबाट बाहिरेको संख्या बढेको पाइएको छ । आव. २०७७/७८ मा बसाइँ सरेर आउने १ सय १८ र यहाँबाट बाहिरिनेको संख्या ३१, २०७८/७९ मा बसाइँ सरेर आउनेको संख्या ८६ र बाहिरिनेको संख्या ४० र २०७९/८० मा बसाइँ सरेर आउने ४६ र बाहिरिनेको संख्या ४९ रहेको मुसीकोट नगरपालिकाको तथ्यांक छ । 


व्यावसायिक पर्यटन विषयका जानकार मनबहादुर खत्रीले यो ठाउँलाई पूर्वमा पोखरा र उत्तरमा शे–फोक्सुन्डो आवागमनको ट्रान्जिट बनाउन सकिने सम्भावना देख्छन् । ‘मुसीकोटलाई केन्द्र बनाएर छिमेकी जिल्लाहरूमा घुमघामको गन्तव्य बनाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि पर्यटनसँग सरोकार राख्ने निकाय र स्थानीय सरकारको प्रभावकारी योजनाको खाँचो छ ।’ मुसीकोटका सम्भावनाहरूको सदुपयोग गर्दै अहिलेसम्मको लगानी सुरक्षित गर्न आफूहरू लागिपरेको मुसीकोटका नगर प्रमुख महेन्द्र केसीले बताए । संघीयताले मुसीकोटको विकल्प पहिल्याउनु सुखद भएको भए पनि यो ठाउँको विकास र विस्तार नै आफूहरूको पहिलो प्राथमिकता भएकामा उनले जोड दिए । ‘के गरेमा यहाँको सम्भावनाबाट फाइदा लिन सकिन्छ भन्नेबारेमा अध्ययन गर्दै छौं,’ केसीले भने, ‘यहाँको ऐतिहासिकतालाई संरक्षण गर्दै यहाँका जनमनको हितमा काम गर्नेबारे हामी गम्भीर छौं ।’

इतिहासमा मुसिकोट

मुसीकोट–१ का ८० वर्षीय गोविन्द केसीले आफ्नो पुरानो घरको कौसीमा बसेर बजारतर्फ देखाउँदै सम्झनामा भएदेखि अहिलेसम्मको यो ठाउँको विकासक्रम सुनाए । उनका अनुसार वि.सं. २००८ तिर खलंगामा राजाको दरबार अनि करिब १२/१३ वटा कच्ची घर मात्रै थिए । अहिले हुलाक कार्यालय रहेको घरमा राजाको दरबार थियो । २००३ सालमा हाल त्रिभुवन जनता माध्यमिक विद्यालय रहेको ठाउँमा अवस्थित दरबारमा आगलागी भएपछि २००४ सालमा उक्त नयाँ दरबार बनाइएको थियो । खलंगामा अहिले सबैभन्दा लामो इतिहास बोकेको घर सायद यतिमात्रै बाँकी रहेको केसीको भनाइ छ । ‘खलंगासँगै बागबजार, सेरिगाउँ, कोलटाकुरा, पिपलनेटा, सल्ले र मठमा पनि फुसका छाना भएका घरहरूमात्रै थिए,’ उनले भने, ‘यी ठाउँमा खलंगामा भन्दा धेरै मान्छे बस्थे र घरहरू पनि केही बढी नै थिए ।’


२०१९ सालमा ७५ जिल्ला कायम भएपछि सल्यान र जाजरकोटको केही भाग मिलाएर रुकुम छुट्टै जिल्ला बनेको थियो । हाल मुसीकोट–१ को वडा कार्यालय रहेको स्थानमा प्रहरी थाना भएको केसीले सुनाए । भाषा पाठशाला हुँदै वि.सं. २०२० मा त्रिभुवन जनता माध्यमिक विद्यालयको स्थापना भएको उनले बताए । त्यसपछि बिस्तारै यो ठाउँले विकासमा पाइला अघि बढाएको हो । २०३० सालसम्म जिल्लाको सदरमुकाम हाल रुकुम पूर्वको सदरमुकाम रहेको स्थल रुकुमकोटमा थियो । २०३० वैशाख ३ गते सदरमुकाम रुकुमकोटबाट मुसीकोटमा सारिएको गोपालजीजंग शाह बताउँछन् । ‘सदरमुकाम सार्न हामीले ठूलो संघर्ष गर्नुपर्‍यो,’ उनले भने, ‘सदरमुकाम सरेपछि निरन्तर यो ठाउँको विकासमा लागेका छौं ।’

मुसीकोट सदरमुकाम बनेपछि सुरुमा व्यक्तिका घरमा सरकारी कार्यालय स्थापना गरेर पछि बिस्तारै विभिन्न प्रशासनिक निकायका लागि भौतिक संरचना बनाउन थालेको भन्दै शाहले २०३३ सालमा मुसीकोट क्याम्पस र बालमन्दिर स्थापना भएको बताए । २०३६ सालबाट बन्न सुरु भएको सल्ले विमानस्थल निर्माण २०५१ सालमा सम्पन्न भई हवाईजहाज सेवा यहाँ सुचारु भएको उनले बताए । वि.सं. २०५२ देखि २०६३ सम्म तत्कालीन माओवादीले गरेको सशस्त्र संघर्षका कारण धेरै मान्छे गाउँबाट सदरमुकामतर्फकेन्द्रित भए । जसका कारण करिब ११ वर्ष मुसीकोट गुल्जार बन्यो । अब भने सुनसान बन्न थालेको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully