फ्युजनले चम्केका चक्र

सुदूरपश्चिम र कर्णालीका शब्द र लय टिपेर आधुनिक संगीतसँग जुधाउन अभ्यस्त गायक हुन्– चक्र बम । यसैबाट आफ्नो पहिचान बनाएका चक्रले ‘ओए काजल’ गीतमा गरेको नयाँ प्रयोग श्रोताहरूले यति रुचाए कि गीतका शब्द नबुझे पनि खासै मतलब भएन ।

श्रावण १२, २०८०

बुद्धिसागर मरासिनी

काठमाडौँ — कोरिया सपना देखेर कैलालीका चक्र बम काठमाडौं पसेको एक दशकअघि हो । एउटा गीत रेकर्ड गराउने सपना पालेर बसेका थिए वर्षौंदेखि मनमा । २०६९ मा काठमाडौं आएपछि बिदेसिनुअघि मनको रहर मेट्ने सोच पलायो । अनि, घरपरिवारलाई थाहै नदिई रेकर्ड गराए पहिलो गीत ‘मालाखेती हाट लागेको’ । 

त्यतिबेलाका उमंग र उत्साहले भरिएको थियो चक्रको मन । गीत चल्नेमा ढुक्क थिए उनी । ‘चर्चित भइहालिन्छ, त्यसपछि त घरपरिवार खुसी हुन्छन् भन्ने सोचेको थिएँ,’ उनी भन्छन् । तर आधा लाख खर्चेर गाएको गीत चलेन । खासमा गीत नचलेर नै त हो, घरपरिवारले पनि चार महिनापछि मात्र थाहा पाए गीत रेकर्ड गरेको ।

गीतबारे थाहा पाएसँगै चक्रसामु घरबाट कडा प्रश्न तेर्सियो, ‘काठमाडौं किन गएको ? गीत गाउन कि विदेश जानका लागि ?’ गीत नचलेपछि चक्र मन नलागी नलागी पनि कोरियाली भाषा पढ्न भर्ना भए । तर कक्षामा ज्यान, संगीततिर ध्यान ।

खासमा संगीतले उनको मन तानिसकेको थियो । पहिलो गीत निकालेपछि त झन् सुदूरपश्चिमबाट काठमाडौं आएर संघर्ष गरिरहेका कलाकारहरू जोडिए चक्र । उनीहरूसँग नजिकिएपछि त झन् रेकर्डिङ स्टुडियो आउजाउ बाक्लियो ।

त्यसबीचमा कोरियन भाषा परीक्षा दिएका थिए । तर नाम निस्केन । परिवारलाई अर्को देश जाने तयारी गर्छु भनेर ढाटे । अनि रेकर्ड गराए दोस्रो गीत । तर त्यो गीत पनि सोचेजस्तो भएन । गायक हुने त कुनै छेकछन्द नै आएन ।

अब भने चक्र अलमलमा परे । एक मनले सोचे– गाउँ फर्किएर केही व्यवसाय गरौं कि ? तर गीतसंगीतमै करिअर बनाउनु थियो चक्रलाई । गाउँको मायाले तान्न सकेन । काठमाडौंमै बसिराख्न घरपरिवारबाट सधैं खर्च आउँदैन भन्ने थाहा थियो ।

कोठाभाडा तिर्न र दुई छाक टार्नका लागि दोहोरी साझमा काम थाले । दुईटा गीत रेकर्ड गरिसकेका चक्र मादल बजाउन थाले । सुदूरपश्चिममा उनलाई दोहोरीमा सवालजवाफ गर्न आउँदैनथ्यो । ‘कहिलेकाहीं देउडा सुन्ने अफर आउँदा गाउन पाउँथें । नत्र करिब तीन वर्ष मादल बजाएँ,’ उनले उतिबेलाको संघर्ष सम्झिए ।

यसबीचमा उनले थुप्रै देउडा गीत रेकर्ड गराए । तर सोचेजस्तो कुनै चलेनन् । उपाए केही नलागेपछि भने उनी साँच्चिकै बिदेसिने तयारीमा लागे । तर फरक किसिमको

एउटा गीत गाउने सोच आयो । देउडाका शब्द र लय टपक्क टिप्ने अनि र्‍याप र मोर्डन संगीत भरेर गीत तयार पार्ने । त्यहीबीचमा निस्कियो, ‘नाच मेरी झुमा’ ।

चैतको धूप, बलेको रूप

चम्काइदे चमचम, चम्काइदे चमचम

लगाई ठुम्का, कानका झुम्का

झम्काइदे झमझम

नाच मेरी झुमा, नाचिदे छमछम ।

र्‍याप मिसिएको डान्सिङ नम्बर सुदूरपश्चिममा निकै चल्यो । ६ वर्षअघि सार्वजनिक भएको गीतले युट्युबमा ८० लाखभन्दा बढी भ्युज बटुलिसेको छ । खासमा विदेश जनाबाट चक्रलाई रोकेको गीत हो यो ।

विदेश जाने सोच त्यागेपछि उनका ‘दारु सड्काउने’, ‘डिजे वाला दाइ’, लगायतका गीत सुदूरपश्चिममा राम्रै चले । स्टेज कार्यक्रममा गाउने अफर आउन थाल्यो । गीतले राम्रै गति लिन सुरु गरेको थियो । तर उनले एउटा अरोप झेल्नुपर्‍यो, देउडा बिगारेको ।

तर आफूलाई अनावश्यक विवादमा ल्याउने प्रयास गरिएको बताउँछन् चक्र । ‘खासमा मैले सुदूरपश्चिमको भाषा र देउडाको मेलोडी मिसाएर गीत बनाएको हो,’ उनी भन्छन्, ‘जुन गीतलाई मैले देउडा नै भनेको छैन, त्यसलाई अरूले देउडा भनेका हुन् ।’

त्यसो त देउडामा र्‍याप मिसाएको भन्दै अझै पनि बेलाबेलामा उनको आलोचना गर्नेहरू छन् । तर बमलाई यस्ता आलोचना सतही लाग्छन् । ‘पहिलेपहिले गीतसंगीतमा फरक केही गर्नुपर्‍यो भन्नेहरू नै पछिल्लो समय देउडा बिगार्‍यो भन्न थाले,’ चक्र छक्क पर्छन्, ‘मैले देउडा नभनेको गीतलाई पनि कसैकसैले देउडा भनेर उचाल्छन् । सायद चर्चामा आउन पो हो कि ?’ देउडा आफैमा छुट्टै मौलिकता बोकेको गीत भएकाले बिग्रने कुनै सम्भावना नै नभएको उनको तर्क छ ।

पुर्खौली घर डोटी भए पनि कैलालीको गोदावरी नगरपालिकामा जन्मिएका हुन् चक्र । १२ कक्षासम्मको अध्ययन त्यहीबाट गरे उनले । रानाथारूको सरसंगतमा हुर्किएका उनले त्यसलाई पनि संगीतमा उतारे ।

‘पहाडिया बिग्रियो जाँडको झोलमा’ बोलको थारू र देउडा मिश्रित गीतले उनलाई फरक श्रोतामाझ चर्चित बनाइदियो । खासमा उनी यही गीतबाट थारू समुदायमा पनि चर्चित बने । गीतका ‘आधा उमेर ढल्किगयो थारूटोलमा’, ‘अर्को जन्म बनाऊ प्रभु मलाई नि थारू’ जस्ता शब्दका कारण पनि हो कि थारू समुदायले रुचाएको ? ‘हुन पनि सक्छ । खासमा मैले दुई समुदायका लागि हुनेगरी साझा गीत बनाउने प्रयास गरेको हुँ,’ उनी भन्छन् ।

आफ्नो भेकमा चर्चा चुलिँदै गएको थियो । अब भने चक्रलाई फरक केही गरम र अन्य क्षेत्रमा पनि पुग्नुपर्छ भन्ने भयो । फरक किसिमको गीत बनाउने तयारीमा थिए । केही शब्द पनि कोरेका थिए । कोभिड महामारी फैलिएसँगै लकडाउन सुरु भयो । घरमै बस्नुपरेपछि गीतका लागि तयारी राम्रै गर्न पाए उनले ।

लकडाउनमा दर्जनौं गढवाली र आसामी गीत सुनेपछि नयाँ प्रयोग गर्ने आइडिया जुरेको हो उनलाई । भाषा नेपाली र सुदूरपश्चिमको अनि संगीत आसामी र गढवाली मिक्स गर्ने सोचसहित तयार भएको हो, ‘ओए काजल’ ।

नौतुनाको रेलगाडीमा ओए काजल

सँगै चढी चिलगाडीमा ओए काजल

घुमाउलो नैनितालसम्म ओए काजल

कुमाउदेखि गडवालसम्म ओए काजल

ओए काजल, आँखी लगाइदे गाजल

कुमाउ, गढवाल र आसामी गीतको स्वाद मिसिएको गीतका शब्द सुरुमा दर्शकले खासै बुझेनन् । तर पछि विस्तारै गीतले लय पक्ड्यो । खासमा चक्रले यो गीत सुदूरपश्चिम र कर्णालीसँगै सीमावर्ती भारतीय क्षेत्रलाई टार्गेट गरेर बनाएका थिए । तर चर्चा देशव्यापी भयो । ‘लक्षित क्षेत्रमा त चर्चामा आयो नै । नेपाल र नेपाली समुदाय रहेका क्षेत्रभर लोकप्रिय भयो,’ उनले भने । त्यसो त संगीतको सीमा हुने कुरै भएन । कारण, उनको फ्यान फलोइङ कुमाउ गढवाल, पिथौरागढसम्म पनि फैलियो ।

युट्युबमा २ करोड ९१ लाखभन्दा बढी भ्युज बटुलेको गीतको भिडियोमा भने चक्र आफैंले अभिनय गरेका छन् । उनलाई गीता ढुंगानाले साथ दिएकी छन् । गीत आफैंले बनाएका मात्र गाउने भए पनि अभिनय भने जुनसुकै गीतमा गर्छन् उनी । उनले दुई सय पचासभन्दा बढी गीतमा अभिनय गरिसकेका छन् ।

‘ओए काजल’ को चर्चापछि ‘भन साली’, ‘ओ मेरी भाउजू’ लगायत गीत गाएका चक्रको पछिल्लो गीत भने ‘छमकली छमछम’ हो । करिब एक महिनाअघि सार्वजनिक गीत सुदूरपश्चिमको डोटीमा विशेष अवसरमा गाइने लय समातेर बनाएका हुन् उनले ।

सुदूरपश्चिमबाट कर्णालीको लय र भाकाको नयाँ गीत ल्याउने तयारीमा छन् उनी । त्यसो त पछि परेका टिपिकल लोक लय समातेर गीत बनाउने भविष्यको योजना छ उनको । ‘लोक गीत र संस्कृतिले छुन्छ,’ उनी भन्छन्, ‘दुई फरक स्थानको संस्कृति मिसाएर फ्युजन गीत बनाउने र समुदायलाई जोड्ने मन छ ।’

युवा ग्यालरी

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully