आजकै दिन : मुसोलिनी शासन अन्त्य

श्रावण १२, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९४३ मा आजकै दिन (जुलाई २८) मा इटालियन तानाशाह बेनिटो मुसोलिनीले राजीनामा दिएका थिए ।मुसोलिनीको सेनालाई दक्षिण अफ्रिकामा पराजित गरेको बेलायत, अमेरिकालगायतको फौजले सिसिलीलाई नियन्त्रणमा लिनुका साथै रोममा बम आक्रमण गरेको थियो । 

जसका कारण जुलाई २५ गार्ड काउन्सिलले मुसोलिनीको राजीनामाको पक्षमा निर्णय लिएको थियो । त्यसपछि इटालीका राजा भिक्टर इमानुएलले उनलाई पक्राउ गरी जेल हाल्न आदेश दिएका थिए ।

पक्राउपछि जेल परेका मुसोलिनी करिब दुई महिनापछि जर्मनीको सहयोगमा जेलबाट भागेका थिए । त्यसपछि उनले जर्मनीको समर्थनमा इटालियन सोसियल रिपब्लिक स्थापित गरेका थिए । तर दोस्रो विश्वयुद्धमा जर्मनीको पराजय निश्चित भएपछि उनी १९४५ मा स्विट्जरल्यान्डतर्फ भाग्ने क्रममा मारिएका हुन् ।

स्विट्जरल्यान्डको सीमातर्फ अघि बढिरहेका मुसोलिनी, उनकी प्रेमिका क्लारा पेटाची र अन्य १६ जनालाई ‘पार्टीसन’ विरोधीहरूले १९४५ अप्रिल २८ मा गोली हानी हत्या गरेका हुन् । पछि उनको शव मिलान सहरमा लगेर टाउको तल पारेर झुन्ड्याइएको थियो । १८८३ जुलाई २९ मा जन्मिएका मुसोलिनी १९२२ अक्टोबर ३१ मा प्रधानमन्त्री भएका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully