आश्रमकी आमा

अभिभावकविहीन तथा सडकमा आश्रित बालबालिकाको उद्धार, उपचार, पठनपाठन, पालनपोषणसँगै पुनर्मिलन गराउने मानव सेवा आश्रमको गोरखा शाखामा रहेका ४४ बालबालिकाको रेखदेखमा खटिन्छिन् २८ वर्षीया मुना लामा । 

श्रावण ११, २०८०

हरिराम उप्रेती

गोरखा — परीक्षा बिगारेकामा पश्चाताप गर्दै ५ वर्षीया बालिकाले मुना लामालाई भन्दै थिइन्, ‘ममी, जोडा मिलाऊ बिग्रियो ।’ मुनाले ती बालिकालाई काखमा बोकिन्, गालामा म्वाईं खाँदै सान्त्वना मात्र दिइनन्, भोलिको परीक्षा राम्रो गर्न हौसला थपिन् । 

गोरखा नगरपालिका–६ पाटेचौरस्थित मानव सेवा आश्रमको आन्तरिक काममा तल्लीन मुनालाई खोज्दै आइतबार मध्याह्न विद्यालयबाट फर्किएका बालबालिका एकपछि अर्को गर्दै उनको कार्यकक्षमै पुगे । मुनाको काखमा बस्न तँछाडमछाड गरे । आफ्ना काम थाती राख्दै मुना बालबालिकासँगै रमाउन थालिन् । स्कुल जाँदाआउँदा देखेका सुनेका साना कुरा ‘ममी’ मुनालाई सुनाउन बालबालिका तँछाडमछाड गर्दै थिए । 

आश्रममा आश्रित ४४ बालबालिकाको स्वास्थ्यप्रति मुना सबैभन्दा बढी सजग बन्छिन् । कोही बिरामी परे उनलाई रातभर निद्रा पर्दैन । स्वास्थ्य अवस्था ठीक भएर बालबालिका हाँसखेल गर्दा उनको मुहारमा चमक आउँछ । उद्धारको क्रममा स्वास्थ्य अवस्था निकै जटिल देखिएका बालबालिकाले पनि आश्रमको रेखदेखपछि तंग्रिएर नयाँ जीवन पाएका छन् । डेढ वर्षअघि पोखरा छोरेपाटनको सडकमा मानसिक रूपमा विक्षिप्त अवस्थामा भेटिएकी आमा र छोरीको मानव सेवा आश्रमले उद्धार गरेको थियो । महिला हाल पोखरामा उपचाररत छिन् । उनकी डेढ वर्षकी छोरीलाई भने उद्धारपछि मानव सेवा आश्रम गोरखा शाखामा पठाइयो ।

‘बालिका यहाँ लिएर आउँदा स्वास्थ्य अवस्था नाजुक थियो, स्वास्थ्यकर्मीलाई देखायौं, होलबडी चेकअप पनि भयो, कुपोषण भएको रहेछ,’ उनले भनिन्, ‘ती बच्ची सानो भएर नुहाउन पनि डराउने । रुन पनि नसक्ने, आँखा पनि हेरिरहने भयो म आफैं आत्तिए ।’ तातो र झोलिलो खानेकुरा दिएर सिरकभित्र राखेपछि ती बालिका चल्न थालिन्, मुनाले बल्ल सन्तोषका सास फेरिन् । डेढ वर्षको अवधिमा हाल ती बालिका कुपोषणमुक्त भएकी छन् । उपचाररत आमाको स्वास्थ्य अवस्था पनि सुधारोन्मुख छ । ‘त्यस्तो अवस्थाको बालिका कुपोषणमुक्त भएर खेल्दा, हिँडडुल गरेको देख्दा त्यसै खुसी मिल्दो रहेछ,’ उनले भनिन् । बालबच्चासँग हिँड्दा, डुल्दा र उद्धारका क्रममा मुनाले थुप्रै जटिलतासँग जुधेकी छन् । 

२८ वर्षीया मुना बालबालिकाको सेवामा रमाउन थालेको आठ वर्ष बितेको छ । मानव सेवा आश्रमका देशभर १९ जिल्लामा १३ शाखा छन् । आश्रमअन्तर्गतका गोरखा र हेटौंडा बालबालिका शाखाअन्तर्गत पर्छन् । बालबालिका शाखामा अभिभावकविहीन, सडक आश्रित बालबालिकालाई उद्धार, उपचार, पठनपाठन, पालनपोषणसँगै परिवारको खोजी गरी पुनर्मिलनसमेत गराइन्छ । आश्रममा आश्रित सबै बालबालिकाको संरक्षकको मुख्य जिम्मेवारीमा मुना छिन् । मकवानपुरको हेटौंडा उपमहानगर–१३ की मुना कक्षा १२ को परीक्षापछि २०७२ सालबाट मानव सेवा आश्रममा आबद्ध बनेकी हुन् । मानव सेवा आश्रमको ज्ञान हस्तान्तरण कार्यक्रममा सहभागी हुन पुगेकी मुना आश्रममा भेटिएकी एक बालिकाबाट प्रभावित बनिन् । 

‘सडकमा जीवनयापन गर्ने एक महिला बलात्कृत भएपछि आश्रमले उद्धार गरेको घटना त्यहाँ सुनाउनुभयो । बलात्कारबाट जन्मिएकी महिलाको छोरी पनि भेटें, म त्यहींबाट प्रभावित भएकी हुँ,’ उनले भनिन् । स्वयंसेवी बन्ने एकल निर्णय गरेकी मुनालाई घरपरिवार मनाउनुपर्ने अर्को चुनौती थियो । ‘भर्खर १२ कक्षा सकेर बसेकी थिएँ, विवाहको दबाब पनि थियो, घरबाट बजार जानुपरे पनि परिवारसँग सोधेर जानुपर्थ्यो, घरै छाडेर आश्रममा गएर बस्न स्वीकृत दिने कुरै भएन,’ उनले भनिन्, ‘तीन दिनको ट्रेनिङ होटलमा बसेर लिनुपर्ने रहेछ ममी भनेर झूट बोलें र आश्रममा गएर बसें ।’ त्यसपछि भने मुनालाई आश्रम छाड्न मन लागेन । परिवारका सदस्यलाई आफू अब आश्रममै सेवामा लाग्ने बताइन् । 

‘मैले गलत गरेकी छैन भनेर मन ढुक्क थियो,’ उनले भनिन्, ‘काम गर्दैर् गएपछि परिवारले बुझ्दै जानुहुन्छ भन्ने सोचले सेवामा लागेकी हुँ ।’ एक दाइ र तीन दिदीबहिनीमा जेठी मुनालाई आफ्ना कामबारे परिवारका सदस्य बुझाउन भने महिनौं लाग्यो । तर मानव सेवा आश्रमले सडक मानव आश्रितलाई उद्धार गरेर परोपकारी कार्य गरेको चर्चा हुँदा मुनाका परिवारलाई पनि सन्तोष मिलेको छ । ‘अहिले त परिवारका सदस्यले सबै कुरा बुझ्नुभयो । जिस्किएर आश्रम छाडिदिउँ त ममी भन्दा पनि पर्दैन भन्नुहुन्छ,’ उनले भनिन् । 

मानव सेवा आश्रमको केन्द्रीय कार्यालय हेटौंडामा स्वयंसेवी बनेर आबद्ध बनेकी मुनाले काठमाडौं मानव सेवा आश्रमको जिल्ला सहसंयोजकसम्मको जिम्मेवारी पनि पूरा गरिसकेकी छन् । काठमाडौं मानव सेवा आश्रममा स्वयंसेवी भूमिका निभाउँदाका भिन्न/भिन्न परिघटना उनले भुल्न सकेकी छैनन् । मध्यरातमा पनि सडकका गल्लीमा पुगेर मानिसको उद्धार गरी आश्रममा ल्याएकी छन् । एक रात मुनालाई अर्धनग्न अवस्थामा हिँडिरहेकी महिलाको उद्धारका लागि सहयोगसहितको फोन आयो । ‘राति करिब साढे ११ बजेको थियो, उहाँले आफ्नो नजिक पर्नै नदिने, भाषा पनि खासै नबुझिने । बल्ल तल्ल उद्धार गर्‍यौं,’ उनले भनिन्, ‘उहाँ गर्भवती हुनुहुँदो रहेछ, डाक्टरले करिब एक महिनामा डेलिभरी हुने बताए पनि उहाँले एक सातामै बच्चा जन्माउनुभयो ।’ 

तर बच्चा जन्मिएपछि फेरि अर्को समस्या आइलाग्यो । ‘अस्पताल लग्यौं । आमा र छोरी दुवैको स्वास्थ्य अवस्था राम्रो रहेछ,’ मुनाले ती दिन सम्झिन्, ‘तर मेरो होइन भन्दै उहाँले बच्चालाई दूध नै खुवाउन नमान्ने ।’ उपचारकै क्रममा भागेकी ती महिला अझै भेटिएकी छैनन् । 

‘म त्यो दिन उद्धार गरिएकी महिला देखे भेटे भने अझै चिन्छु, उहाँ भेटिनुहुन्छ कि भनेर कतैको आश्रममा पुग्दा ख्याल गर्छु कतै देखिँदैन,’ उनले भनिन् । तत्कालीन अवस्थामा आश्रमको काठमाडौं शाखामा बालबालिकाको स्याहारको मुख्य भूमिकामा मुना थिइन् । काठमाडौं शाखामा रहेका बालबालिकालाई बाल शाखाअन्तर्गत गोरखा पठाइयो । सेवामा रहँदा मुनाले बालबालिकासँग देखाउने हिमचिम आश्रमका अन्य सदस्यले पनि ख्याल गरेका थिए । उनलाई २०७४ सालमा काठमाडौंबाट गोरखा शाखाको सेवामा पठाइयो । ‘सानैदेखि मेरो संरक्षकत्वमा रहेका बालबालिका पनि गोरखामा थिए, उनीहरूलाई सम्झिएर पनि गोरखा आएँ,’ उनले भनिन् ।

गोरखा आएपछि पनि पारिवारिक झमेलाले बेसहारा बनेका थुप्रै बालबालिका उनकै अगुवाइमा उद्धार भएको छ । सिरानचोक गाउँपालिका–८ जौवारीबाट २०७५ मा चारजना बालबालिकाको उद्धार गरिएको थियो । बाबुको मृत्यु र आमाको दोस्रो विवाहपछि बेसहारा बनेका बालबालिकालाई कक्षा ५ मा पढ्ने दिदीले निमेक गरेर पालनपोषण गरेको खबर सुनेपछि मानव सेवा आश्रमबाट उद्धारका लागि टोली जौवारी पुगेको थियो । भाइबहिनी पढाउने बालिकालाई पनि उद्धार गरेर मानव सेवा आश्रमले विद्यालय भर्ना गर्‍यो । ती बालिकाले अहिले एसईई दिएकी छन् । बालबालिकाको खुसीमा मुनासँगै मानव सेवा आश्रमको पनि सफलता जोडिएको छ । 

मानव सेवा आश्रमको गोरखा शाखामा हाल गोरखासहित कास्की, काठमाडौं, कैलाली, मकवानपुर, चितवनलगायत जिल्लाबाट उद्धार भएका बालबालिका छन् । आश्रमका अधिकांश बालबालिका मुनालाई ‘ममी’ भनेर बोलाउँछन् । केहीले दिज्यु पनि भन्छन् । ‘बच्चाले दुःख दिन्छन्, सहन सक्नुपर्छ, संस्कार र शिक्षामा कमी गर्नुभएन,’ उनी भन्छिन् ।

आठवर्षे अवधिमा मुनाले थुप्रै चुनौतीसँग जुधेकी छन् । स्थानीय र प्रदेश सरकारको सहयोग, डोनेसन, मुट्ठीदान जस्ता सहयोगबाट आश्रमको व्यवस्थापन हुँदै आएको छ । गोरखा शाखासँगै मुना मानव सेवा आश्रमको प्रदेश संयोजकको भूमिकामा पनि छिन् । प्रदेश र स्थानीय सरकारलगायतको सहयोग रकमबाट गोरखा नगरपालिका–८ मा मानव सेवा आश्रमको ३१ कोठे भवन पनि निर्माणाधीन छ । 

युवा ग्यालरी

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully