सन् १९८२ मा आजकै दिन : सुटिङ गर्दा गम्भीर दुर्घटनामा अमिताभ

श्रावण १०, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८२ मा आजकै दिन (जुलाई २६) मा बलिउड अभिनेता अमिताभ बच्चन फिल्म सुटिङका क्रममा भयानक दुर्घटनामा परेका थिए । मनमोहन देशाई निर्देशनको फिल्म ‘कुली’ को भारतको मुम्बईमा गरिएको छायांकनका क्रममा दुर्घटना भएको थियो । 

फिल्मको एक दृश्यमा को–स्टार पुनित इस्सरले अमिताभलाई मुक्का हान्नु थियो । अमिताभले उफ्रेर छल्नुपर्नेमा दुर्घटनावश उनको पेटमा गहिरो चोट लागेको थियो । अमिताभको करङ भाँचिनुका साथै आन्द्रासमेत फुटेको बताइएको थियो । दुर्घटनालगत्तै अमिताभलाई उपचारका लागि मुम्बईस्थित एक अस्पताल भर्ना गरिएको थियो ।  

लामो समयको उपचारसँगै उनी निको भएपछि मात्र ‘कुली’ को सुटिङ सकाइएको थियो । तर उक्त दुर्घटनापछि फिल्मको क्लाइमेक्स भने परिवर्तन गरिएको थियो ।

अमिताभ बच्चन मर्ने भूमिकामा रहेको क्लाइमेक्स परिवर्तन गरी निर्माण पूरा गरिएको फिल्म ‘कुली’ १९८३ को डिसेम्बर ३ मा रिलिज भएको थियो । ऋषि कपुर, राति अग्निहोत्री, कादर खान, वाहिदा रेहमानलगायतका कलाकारको अभिनय रहेको फिल्म सुपरहिट भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully