कृष्ण मुसुक्कै, दुःख भुसुक्कै

दश वर्षको उमेरदेखि नै गायन यात्र सुरु गरेका कृष्णको  ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीत युट्युबमा अपलोड भएको एक सातामै एक नम्बर ट्रेन्डिङमा परेको थियो । गीत हालसम्म करिब ४० लाख पटक हेरिसकिएको छ । 

श्रावण ९, २०८०

वसन्तप्रताप सिंह

बझाङ — त्यतिबेला उनी ६ वर्षका मात्र थिए । जतिबेला आमालाई पछ्याउँदै उनले पढ्ने प्रौढ कक्षामा पुग्थे । कृष्ण विकलाई प्रौढ कक्षाका सहभागीले गीत गाउन लगाउँथे । सानैदेखि हँसिला र फरासिला स्वभावका उनी धक फुकाएर गाइदिन्थे । सुन्नेहरू उनको मिठो स्वरको प्रशंसा गर्थे ।

बझाङको थलारा गाउँपालिका–१ सिमतोलामा २०५९ सालमा जन्मिएका कृष्णलाई यस्तै खाले प्रशंसाले हौस्याइरह्यो । उनी धेरै मानिसका अगाडि गीत गाउन पाउँदा खुसी हुन्थे । आफैं गीत रचना गरेर मानिस जम्मा भएको ठाउँमा सुनाउँथे । 

उनको मिठो स्वर र कलाप्रतिको रुचि देखेर कुनै आफन्तले उनलाई एक दिन नजिकैको देउरा बजारमा लगे । जहाँ नारी दिवसका अवसरमा गायन प्रतियोगिता हुँदै थियो । त्यसबेला १० वर्षीय कृष्णले आफैं रचना गरेको ‘आऊ दिदी बहिनी हो, अघि बढौं न’ बोलको गीत गाए । जसले उनको स्वरको चर्चा जिल्लाभरि फैलाइदियो । उनी प्रथम भए । आयोजकले १२/१२ वटा कापी र कलम पुरस्कार दिए । दर्शकले खुसी भएर केही नगद पनि दिए । ‘त्यो दिनको कार्यक्रमले मलाई धेरै दियो । सबैभन्दा ठूलो कुरा दर्शकले मैले गाएको यति मन पराइदिए कि त्यहाँ पाएको प्रशंसाले मलाई यो क्षेत्रमा अघि बढ्ने बलियो आत्मविश्वास जगाइदियो,’ कृष्णले पहिलो पटक मञ्च टेकेको दिन सम्झिँदै भने । 

मनमा गायन क्षेत्रमा केही बनेर देखाउँछु भन्ने आत्मविश्वास त थियो तर परिवारको आर्थिक दुरवस्था उनको आत्मविश्वासका अघि तगारो बनेर खडा हुन्थ्यो । गीत गाउन मात्रै नभएर पढाइमा पनि अब्बल कृष्ण कक्षामा जहिले प्रथम हुन्थे । विद्यालयका अन्य अतिरिक्त क्रियाकलापमा पनि उनी नै खरो उत्रिन्थे । तर आमासँग उनलाई पढाउन न कापीकलम किनिदिने पैसा हुन्थ्यो न त कुनै कार्यक्रममा जाँदा लगाउने राम्रो लुगा किन्न सक्ने क्षमता थियो । बुवा भारतमा मजदुरी गर्थे । कहिलेकाहीं मात्रै घरमा पैसा पठाउँथे ।

‘६ छोरी र एक छोरासहित आठ जनाको परिवारलाई बिहानबेलुकाको छाक जुटाउनै हम्मे थियो आमालाई,’ कृष्णले बाल्यकालमा भोगेको दुःख सुनाउँदै भने, ‘कुनै कार्यक्रममा जानुपर्‍यो भने पनि १० ठाउँमा फाटेको लुगा लगाएर गीत गाउन जान्थे । फाटेको लुगा देखेर साथीहरूले जिस्काउँथे । आफ्नो अवस्था देखेर आफैंसँग दया लाग्थ्यो तर पनि म अवसर पायो भने गाउन छाड्दैनथें ।’ 

यी तिनै कृष्ण हुन्, जसको गीत ‘उता हजुर मुसुक्कै, यता यो ज्यान भुसुक्कै’ गीतले निकै चर्चामा आयो । युट्युबमा अपलोड भएको एक सातामै एक नम्बर ट्रेन्डिङमा परेको यो गीत करिब चालीस लाखले हेरिसकेका छन् । उनले ‘यानी माया’, ‘झल्को’ लगायत दर्शकको रोजाइमा पर्न सफल थुप्रै गीतमा आफ्नो कर्णप्रिय स्वर भरिसकेका छन् । हजारौं दर्शकले खचाखच हुने देशविदेशका दर्जनौं स्टेजमा आफ्नो प्रस्तुति दिइसकेका कृष्णको स्वर जति मिठो छ । उनले बाल्यकालमा भोगेको दुःख र यहाँसम्म पुग्न गरेको संघर्षको कहानी भने निकै तीतो छ । 

उनको स्वर मन पराएर कोही नगदै रकम कृष्णलाई दिन्थे । कोही लुगाफाटो र कापीकलम किनिदिन्थे । उनको पढाइ खर्च र विद्यालय सामग्री जुटाउने एकमात्रै विकल्प गीत गाउने कला बन्न थाल्यो । सन्तान हुर्काउन आमाले गरेको दुःख देख्दा कृष्णको मन कटक्क खान्थ्यो । सानै उमेरका कृष्णलाई आफ्नो पेट काटेर आफूहरूका लागि आमाले गरेको त्यागले अझ राम्रो गर्ने हौसला दिन्थ्यो ।

एक पटक जिल्लास्तरीय दोहोरी प्रतियोगितामा उनी प्रथम भएर १८ हजार पुरस्कार जिते । उनको प्रस्तुति मन पराएर दर्शकहरूले दिएको पुरस्कार थप ४० हजार जति भयो । उनले आफ्नो पहिलो कमाइको १३ हजार खर्चेर आमाको नाकमा लगाउने सुनको फुली किनिदिए । ‘सबैका आमाका नाकमा फुली थिए । कानमा मुन्द्री र तिलहरी लगाएर हिँड्थे । मेरो आमाले भएको फुली बेचेर हामीलाई पाल्नुभएको थियो,’ कृण्णले भावुक हुँदै भने, ‘आमाको नाक बुच्चै देख्दा नमिठो लाग्थ्यो । फुली लगाएको दिन आमा खुसीले धेरै बेरसम्म रुनुभयो ।’ 

०६८ मा शिक्षा मन्त्रालयले आयोजना गरेको विद्यालय स्तरीय कला प्रदर्शनी प्रतियोगितामा उनी जिल्ला प्रथम भए । उनी आफैंले रचना गरेको गीत विकास क्षेत्र स्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय प्रतियोगिता पनि प्रथम भयो । तीनै तहमा प्रथम भएबापत उनले सबैगरी ६० हजार पुरस्कार पाए । त्यही रकमबाट उनले बन्धकीमा रहेको खेत उकासे । दैनिक दुई घण्टा हिँडेर छिमेकी पालिकामा रहेको विद्यालयमा पढ्नु उनको दैनिकी थियो ।

यसबाहेक जिल्लाका विभिन्न ठाउँमा हुने विभिन्न मेला महोत्सवदेखि सानाठूला कार्यक्रममा गीत गाउन जानु उनको रहर र बाध्यता दुवै बनेको थियो । त्यहाँबाट आउने पुरस्कारले पढाइसँगै घरखर्च चल्थ्यो । यसरी गाउन हिँड्दा उनले थुप्रै ठाउँमा जातीय विभेद समेत भोग्नुपर्‍यो । गीत गाउन जाँदा गैरदलितको घरभित्र बसिरहेको बेला जात थाहा पाएपछि बाहिर निकालेको र साउनको झरीमा दलितको घर खोज्दै रातभरि गाउँ डुलेको नमिठो घटनाले अहिलेसम्म पनि उनलाई बिझाइरहन्छ । आफ्नो स्वरका एकजना प्रशंसक ७० वर्षीय गैरदलित वृद्धले गाउँलेले कुरा काट्दा काट्दै पनि जातपातको आधारमा विभेद गर्नु हुँदैन भनेर आफ्नो घरमा लगेको मिठो अनुभव पनि छ उनको । 

०७० सालमा संविधानसभाको चुनाव आयो । यही चुनावले उनको भविष्यको बाटो बदलिदियो । कृष्ण हरेक पार्टीले आयोजना गर्ने कार्यक्रममा गीत गाउन जान्थे । यसैबीच बुंगल नगरपालिकामा हुने आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आउने खबर उनले थाहा पाए ।

चार/पाँच हजार मान्छे उपस्थित हुने कार्यक्रममा गीत गाउँदा आफ्नो चर्चा बढ्ने, केही आम्दानी पनि हुने र देउवाको नजरमा पर्न पाए राम्रो हुने आसमा उनी दुई दिन हिँडेर कार्यक्रमस्थल पुगे । त्यो कार्यक्रममा उनले गीत गाए । उनको प्रस्तुति देखेर देउवा प्रभावित भए । कृष्णको बारेमा जानकारी लिए । उनको आर्थिक अवस्था थाहा पाएर पढ्न चाहे आफूले सहयोग गर्ने भन्दै काठमाडौं आउन भने । दुःखगरी पढिरहेका कृष्णलाई चाहिएकै यही थियो । चुनाव सकिएपछि उनले काठमाडौं हिँड्ने तयारी गरे तर टिकट काट्ने पैसा थिएन । उनी अध्ययनरत स्कुलका हेडसरले टिकट काटिदिए । 

देउवाको सहयोगमा उनी काठमाडौंमै पढ्न थाले । त्यसपछि कृण्णले पछाडि फर्केर हेर्नुपरेको छैन । पढाइसँगै संगीत सिक्ने अवसरले उनको कलामा थप निखार ल्याउन सहयोग भयो । यसबीचमा उनले ११ वटा चर्चित गीत रेकर्ड मात्रै गरेनन् महानायक राजेश हमाल, नायिका निरुता सिंहलगायत स्थापित कलाकारसँग अभिनय पनि गर्ने अवसर पाए । स्टेज कार्यक्रमका लागि देशका सबैजसो जिल्ला पुगिसकेका उनको विदेशमा पनि उस्तै माग छ ।

क्यानडा, भारतलगायत देशमा स्टेज प्रस्तुति दिइरहेका उनलाई अमेरिकाबाट पनि निम्तो आएको छ । उनले सानै उमेरमा नेपाली गीतसंगीत क्षेत्रमा पुर्‍याएको योगदानबापत राष्ट्रपतिबाट नेपाल सेवा प्रवीण अलंकारसमेत पाइसकेका छन् । अहिले कानुन विषय लिएर स्नातक तेस्रो वर्षमा अध्ययनरत कृष्णले गीतसंगीत क्षेत्रबाट आएको आम्दानीले आफ्नो र परिवारको खर्च चलाइरहेका छन् । ‘पहिला जस्तो दुःख छैन, अब मेरो कमाइले घर खर्च चलाउन पुगेको छ । आमाबुवाले पहिला जस्तो दुःख गर्नुपरेको छैन,’ उनी भन्छन् । 

राजेश हमाल, केकी अधिकारीसहित कलाकारको अभिनयमा उनी नयाँ गीत बजारमा ल्याउने तयारीमा छन् । हजुर मुसुक्कैबाट जातीय विभेदविरुद्धको सन्देश दिएका कृष्णले अब आउने गीतले पनि मनोरञ्जनका साथै सामाजिक परिवर्तनको सन्देश दिने बताउँछन् । समाज परिवर्तनका लागि गीतसंगीतका लागि महत्त्वपूर्ण भूमिका हुने बताउँदै उनी भन्छन्, ‘सकेसम्म मेरा सिर्जना मनोरञ्जन मात्रै होइन । हाम्रो समाजमा रहेका अन्धविश्वास भत्काउनलाई बलियो धक्का दिनुपर्छ भन्ने लाग्छ ।’ 

आफूले गाउने गीतमा सुदूरपश्चिमको पहिचान पनि स्थापित गर्न कोसिस गरिरहेका कृष्णले संगीतलाई पर्यटनसँग जोड्न चर्चामा नआएका तथा पर्यटकीय सम्भावना भएका ठाउँलाई छायांकनस्थलका रूपमा प्रयोग गर्ने सोचमा रहेको बताउँछन् । अहिलेको सफलताले कृष्णलाई यो क्षेत्रमा अझै राम्रो गर्न ऊर्जा दिएको छ तर संगीतको साधनाका लागि थुप्रै गर्नुपर्ने बाँकी रहेको उनी बताउँछन् ।

सांगीतिक अभ्यास र कानुनको अध्ययनलाई सँगै अघि बढाइरहेका कृष्ण भन्छन् । ‘यी दुवै माध्यमबाट म सामाजिक न्याय र समानताका लागि योगदान पुर्‍याउन सक्छु जस्तो लागेको छ । भविष्यमा सफल गायक र न्यायाधीश बनेर देशको सेवा गर्ने लक्ष्य छ ।’

युवा ग्यालरी

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully