सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको लोकप्रियतासँगै पछिल्लो समय मार्केटिङ, ब्रान्ड प्रमोसन र पर्यटन क्षेत्र क्रियाशील युवाको कार्यशैली पनि परिवर्तन भएको छ
लुम्बिनी — काठमाडौंमा जन्मिएकी २९ वर्षीया स्नेहालता राउतले कामकै सिलसिलामा रूपन्देही आइपुगिएला भन्ने सोचेकै थिइनन् । काठमाडौंमै करियर बनाइरहेकी थिइन् । उनको परिवार सिद्धार्थनगरमा छन् । एक सन्तानकी आमा उनले छोरीमान्छेको परिधि घरभित्र मात्र देखेकी थिइन् ।
त्यो सीमाभन्दा बाहिर निस्केर अहिलेको अवस्थामा आइपुग्छु भन्ने नसोचेको उनी बताउँछिन् । ‘मेरो परिवारमा पढ्ने, घर बस्नेबाहेक त्यति छुट थिएन,’ उनले भनिन्, ‘हजुरबुवासँग सामाजिक कार्यमा संलग्न हुन पाउँथें तर आफ्नो चाहनाले केही गर्दिनथें ।’ स्कुल काउन्सेलिङमा
स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । अंग्रेजी साहित्य अध्ययन गरेकी उनले सुरुमा स्विस विद्यालयमा साढे दुई वर्ष अध्यापन गरिन् । त्यसबाहेक रुचिअनुसार ब्युटी पेजेन्टमा सहभागी भएकी उनले सन् २०१९ मा मिसेस नेपाल इन्टरनेसनलमा सेकेन्ड रनरअप भइन् । अहिले उनी जुनसुकै ब्रान्डका लागि ब्रान्डिङ एन्ड मार्केटिङसम्बन्धी रणनीति बनाउने काम गर्छिन् ।
पछिल्लो पटक राउतले भैरहवामा सञ्चालनमा आएको दिव्यम स्विट्स एन्ड स्न्याक्सको ब्रान्ड प्रमोसनको काम गरिरहेकी छन् उनले । ‘सानैदेखि आत्मविश्वासी मान्छे हुँ,’ उनले भनिन्, ‘कामको जिम्मेवारी लिएँ भने सफल पार्नमै लागिपर्छु ।’ यसअघि काठमाडौंमा रहँदा धेरै ब्रान्डमा आबद्ध भएर काम गरेको अनुभव पनि छ उनीसँग । डिजिटल मार्केटिङ माध्यमबाट व्यापार गर्न सके जुनसुकै ब्रान्डले व्यावसायिक उचाइ हासिल गर्न सक्ने उनको भनाइ छ । अहिले आफू मातहतमा चार जना कर्मचारीको टिम बनाएर ग्राफिक्स, भिडियो क्लिक र सोसियल मिडिया अपडेटको काम गरिरहेको उनले बताइन् । ‘म आफैं पनि एडिट, पोस्टको काम मेरै फेसबुक, इन्स्टाबाट गर्छु,’ उनले भनिन्, ‘मेरा सामाजिक सञ्जाल एकान्ट ब्रान्डका लागि सार्वजनिक नै रहन्छन् ।’
उनी मिहिनेत र लगनले नै सफलताले मिल्ने बताउँछिन् । ‘म समय हेरेर काम गर्दिनँ, जतिबेला पर्छ, उपलब्ध हुन्छु,’ उनले भनिन्, ‘भैरहवाबाट अनलाइनमार्फत काठमाडौंको काम पनि गरिराख्छु ।’ भौतिक रूपमै गर्नुपर्ने कामका धेरै ‘कन्ट्र्याक्ट’ एकै पटक गर्दिनन् । नयाँ सजावट र स्वाद दिने रेस्टुराँमा काम गर्दा ग्राहकको संख्या वृद्धि, बिहानदेखि साँझसम्म आउने प्रत्येक ग्राहकको चाहनाअनुसारको सेवालाई ध्यान दिने गरेको उनले बताइन् । ग्राहकको चाहना बुझेर किचनदेखि स्टाफसम्मलाई सेवा दिन लगाउने गरेको राउतले बताइन् । ‘जसरी हुन्छ ब्रान्ड प्रोमोट गरेर बजारमा चिनाउने काममा चुक्न हुन्न भनेर लाग्छु,’ उनले भनिन्, ‘धेरै ब्रान्डमा इन्फ्लुवेन्सरका रूपमा काम गरिसकेकाले सेलेबल क्वालिटीमा ध्यान दिन्छु ।’
भविष्यमा आफ्नै व्यवसायमार्फत महिलालाई आत्मनिर्भर बनाउने सोच रहेको उनले बताइन् । ‘परिवारको साथले सहज भयो,’ उनले भनिन्, ‘कतिलाई त्यो सुविधा नहोला, त्यसैले पढ्नुपर्छ, मिहिनेत गरेर आफ्नो कमाइमा बाँच्नुपर्छ ।’ हरेक महिलाले घर परिवारमात्र नभएर पर्सनल काम, करियरमा अगाडि बढाउन पछि पर्न नहुने उनले बताइन् । ‘मर्निङ वाक, मेडिटेसन र योगले दिनको सुरुवात गर्छु,’ उनले भनिन्, ‘आत्मविश्वास र लगनशीलताले सफलता मिल्छ ।’
विभिन्न संस्थामा पब्लिक स्पिकिङ, वुमन इम्पावरमेन्टका साथै मोटिभेसनल ट्रेनरको काम गर्दै आएकी छन् । सामाजिक कार्यमा पनि उनी रमाउँछिन् । आश्रममा खाना खुवाउने, आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न थापा पछि पर्दिनन् । यसले अर्कै खालको शान्ति मिल्ने उनले बताइन् । मिठाइका परिकार तथा शाकाहारी खाजा पाइने दिव्यम् स्विट्सको कन्ट्र्याक्ट गर्दा नै उनलाई पोजेटिभ भाइब्स आएकाले यसलाई रोजेर काम गरिरहेको उनले बताइन् । यसअघि प्राजाटा रेस्टुराँको ब्रान्डिङ गरेकी थिइन् ।
रूपन्देहीको कञ्चन–२ की २९ वर्षीया लक्ष्मी कार्कीले कक्षा १२ को अध्ययन पूरा गरेपछि रोजगारी गर्न थालेकी हुन् । ट्राभल एजेन्सीमा काम गरेर‘हस्पिटालिटी’ बारे बुझेकी उनी अहिले भैरहवास्थित चारतारे होटल निर्भानामा सेल्स एन्ड मार्केटिङ प्रमुख छन् । ‘रिसेप्सनिस्टबाट काम थालेकी हुँ, मिहिनेतले यहाँसम्म आइपुगें,’ उनले भनिन् । परिवारले उनलाई काम गर्नबाट कहिल्यै रोकेन । गाउँले र आफन्त होटलमा काम गर्ने भन्दै कुरा काट्थे । वास्ता नगरी काम गरेपछि कुरा काट्नेको मुखमा बुझो लागेको उनले बताइन् ।
परिवारलाई सघाउन, आफ्नो करियर हस्पिटालिटीमै बनाउन लागिपरेको उनले बताइन् । सुरुसुरुमा उनलाई होटलमा के काम गर्नु जस्तो लागेको थियो । ‘रिसेप्सनमा बसेर पाहुनालाई स्वागत गर्दा, उनीहरूले दिने राम्रो फिडब्याकले हौसला मिल्यो,’ उनले भनिन्, ‘त्यसपछि हस्पिटालिटीमा लगाव बस्यो ।’
कार्की मातहत अहिले ९ जना कर्मचारी छन् । जसमा चेक इन, चेक आउट, ट्राभल डेस्क, ड्राइभर, रिजर्भेस र फ्रन्ट डेस्क आदिका कर्मचारी पर्छन् । ८ घण्टा काम गर्नुपर्ने भए पनि होटलको आवश्यकतालाई बुझेर समय दिइरहेको उनले बताइन् । ‘मलाई समयसीमा तोकेर काम गर्ने बानी कहिल्यै भएन,’ उनले भनिन्, ‘त्यसैले होटलको अपग्रेडिङमा बढी समय दिएर लाग्न पाएकी छु ।’ उनले ग्राहकको सुविधा, उनीहरूको रुम रिजर्भेसन, भारतसम्म गएर होस् वा यहाँका कर्पोरेट कम्पनी भिजिट गरेर ग्राहक बढाउने, आफ्नो होटलमा कार्यक्रम सञ्चालनार्थ रेट व्यवस्थापन गर्ने, स्टाफलाई कहाँ कसरी प्रस्तुत हुने भन्नेबारे सिकाउने आदि काम गर्छिन् ।
पाहुनालाई लिन जानुपरे, छोड्नुपरे वा किचनमा के पाक्ने भन्ने विषयमा पनि लक्ष्मीले बताउने र सम्बन्धित निकायले उनलाई सोधेर काम गर्नुपर्छ । आफूले धेरै वर्षदेखि एकै ठाउँमा काम गरिरहेकाले आइरहने पाहुनाले होटलमा राम्रो सेवा पाइरहेको बताउने तथा नयाँ पाहुना ल्याउन आफूले गर्ने मार्केटिङले काम गरिरहेको उनको भनाइ छ । जिल्लाभित्रै घर भए पनि कामको चापले उनी १५ दिनमा एक पटक घर पुग्छिन् ।
उचाइमा पुगेर काम गर्ने इच्छासहित कार्कीले हस्पिटालिटीमा प्रवेश गरेपछि काम गर्न रमाइलो लाग्ने बताइन् । ‘जस्ता खालका पाहुनालाई पनि सेवा दिनुपर्ने हुन्छ,’ उनले भनिन्, ‘कम्प्लेन सुन्दा अलि नराम्रो लाग्छ, सुधारेर अघि बढिहाल्छु, त्यसले हौसला दिन्छ ।’ उनी आफ्नो संस्थालाई माथि लैजान आफूले खेलेको भूमिकाको प्रशंसा सुन्दा बिछट्टै खुसी मिल्ने बताउँछिन् ।
लक्ष्मीजस्तै २७ वर्षीया सालु कुँवरको व्यस्तता पनि कम छैन । उनको मुख्य काम हस्पिटालिटीमा कुनै कमी आउन नदिनु हो । पाहुनाको आवश्यकता बुझेर व्यवस्थापनलाई जानकारी दिनु उनको काम हो । सालु अहिले भैरहवास्थित चारतारे होटल एसियन बुद्धको नाम चिनाउने र अतिथि सत्कारमा व्यस्त छन् । उनी होटलकी सेल्स म्यानेजर हुन् । हस्पिटालिटी क्षेत्रमा काम थालेको ६ वर्ष भयो । बुवाआमाकी पहिलो सन्तानका रूपमा भारतको नयाँदिल्लीमा जन्मिएकी उनले सानैदेखि नेपालमै आफ्नो अध्ययन गरिन् । ‘मैले व्यवस्थापन संकायमा स्नातक गरेकी छु,’ उनले भनिन्, ‘मार्केटिङको शोखले यो काममा तानिएँ ।’
सालु कुँवर
मुलुकभर १२ वटा शाखा विस्तार गरिसकेको होटल पौवाका ब्रान्ड तथा मार्केटिङ प्रमुख ३० वर्षीय विष्णु भण्डारीको नमस्कार गर्ने त बानी नै परिसक्यो । ‘पौवालाई आतिथ्यतासँग जोडेर अन्तर्राष्ट्रियकरण गर्न चाहन्छु,’ उनले भने, ‘त्यसका लागि नेपाली संस्कार चिनाउन जरुरी छ, म त्यही गर्दै छु ।’ भण्डारीले सानैमा बुवा गुमाएपछि जिम्मेवारीको बोझ उठाएका थिए । काठमाडौंमा पढ्दै काम गर्दै गरेका उनले सिद्धार्थ बिजनेस ग्रुपमा वेटरबाट काम सुरु गरेका हुन् । सात वर्षको अनुभवमा फुड एन्ड वेभरेज म्यानेजर भएर त्यहाँबाट बाहिरिए । कर्मचारीले सम्मान र मिठो बोली बोल्नेबित्तिकै ग्राहक जीवनभरका लागि कमाइने रहेछ भन्ने बुझेको उनले बताए । ०७३ मा होटल पौवाले आफूलाई जागिरको मौका दिएपछि उनी जनरल म्यानेजरका रूपमा आएका थिए । त्यसयता उनले कामकै सिलसिलामा सञ्चालक बनेर अहिले पौवाको ब्रान्डिङ गरिरहेका छन् ।
पौवामा नेपाली संस्कार झल्किने खाना, खाजा तथा कर्मचारीको व्यवहार रहन्छ भन्ने कुरा नै अतिथिलाई बुझाइराख्ने भण्डारीको पहिलो लक्ष्य हो । त्यसका लागि चाडपर्व वा दिवसमा सांस्कृतिक कार्यक्रम, विभिन्न भाषाभाषी र भेषभूषासहित नेपालीपन झल्किने खानाको प्रदर्शनी, नेपाली परिकार तथा संस्कारसम्बन्धी बहस कार्यक्रम आदि गरेर उनले पौवालाई धेरैबीच चिनाउन सफल भएको बताए । ‘हरेक होटलले संस्कार जोड्नुपर्छ जस्तो लाग्छ,’ उनले भने, ‘हाम्रो संस्कारले दिने आतिथ्यतामा पर्यटक तथा सेवाग्राही स्वतः लोभिन्छन् जस्तो लाग्छ ।’
पौवाको ब्रान्ड नै अतिथिको सम्मान अर्थात् ‘अतिथि देवोः भवः’ छ, जुन भण्डारीले आफ्नो पदीय जिम्मेवारीसँगै विकास गरेका छन् । उनी फरक प्रदेश र फरक जिल्लामा रहेका शाखामा त्यहाँ सुहाउँदो परिकार, मौसमअनुसारको रुम व्यवस्थापन गरेर ब्रान्डिङ गर्छन् भने बजारमा नेपाली संस्कार छ भन्ने बुझाएर ग्राहक भित्र्याउँछन् ।
सामान्य खाना तथा खाजा जहाँ पनि पाइन्छ तर पौवामा आउने पाहुनाले जुम्लामा मार्सी चामलको भात, पाल्पामा चुकौनी, रूपन्देहीमा मरौटी चिकन तथा दाङमा ढिकरीलाई मुख्य व्यञ्जनमा राखेर मेन्यु बनाएको उनले बताए । मान्छेले दाल–भात खाने ठाउँ होटल हो भन्ने बुझेका उनले यो त संस्कार झल्काउने, सिकाउने तथा अन्तर्राष्ट्रिय स्तरमा देश चिनाउने माध्यम रहेछ भन्ने बुझेको बताए ।
