रुकुम पश्चिमका मानबहादुर ट्रेकिङ म्याप पहिल्याउने काम गर्छन् । उनले धौलागिरि तथा काञ्जिरोवा, मुगुबाट जुम्ला हुँदै माथिल्लो डोल्पा–जाजरकोट–रुकुम–ढोरपाटन हुँदै धौलागिरि हिमालको आधार शिविर पुग्ने, सिस्ने राउन्ड ट्रेल र धौलागिरि एन्ड रेसिका ट्रेल म्याप तयार पारिसकेका छन् ।
रुकुम पश्चिम — एउटा भारी झोला । त्यही झोलामा छन्, पुरानो ल्यापटप, जीपीएस डिभाइस, कम्पास, टोपो म्याप, टेन्ट र थरीथरीका म्यापका हाते पुस्तक । अनि, यात्रामा चाहिने कपडादेखि थोरै सातु, गुन्द्रुक र चिनी अनि नुनको पोको । यही झोला बोकेर एउटा यात्राबाट फर्किएका मानबहादुर खत्री रुकुमको मुसीकोटस्थित एक क्याफेमा मजाले खुले ।
कफी सुर्काएसँगै मानबहादुरले झोलाको पछिल्लो खल्तीबाट थरीथरीका प्रमाणपत्र निकाले । ‘बोल्न त आधार–प्रमाणसहित बोल्नुपर्यो नि,’ उनले भने, ‘यसकारण म त सबै कागजात बोकेर आएँ । तपार्इं पनि ढुक्क हुनुहोला ।’ पर्यटक गाइडदेखि पर्वतारोणसम्मका प्रमाणपत्र फिँजारेर खत्री आफ्नो अनुभव सुनाउन निकै उत्साहित देखिए ।
‘आई एम माउन्टेन लिडर एन्ड इन्स्ट्रक्टर भनेर परिचय सुरु गरेका ३९ वर्षीय मानबहादुर रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ हर्लाबोटमा जन्मिएका हुन् । २०५९ सालमा गाउँबाटै एसएलसी सकेपछि पढ्न नेपालगन्ज झरे उनी । ‘पढाइ खर्च जुटाउन एउटा त्यहीको एक तारे होटलमा काम गर्न थालें,’ उनले भने ।
देशमा माओवादी विद्रोह चर्केको थियो । एक दिन एउटी फ्रान्सेली नागरिक उनले काम गर्ने होटलमा आइपुगिन् । उनले माओवादी युद्धबारे बुझ्न रुकुम पुग्ने योजना बनाएकी थिइन् । तर सँगै जाने कोही नभेटेपछि मानबहादुरलाई ती विदेशीसँग रुकुम आउने अवसर जुट्यो । ‘केही दिन उनीसँग हिँडेपछि मलाई फ्रान्सेली भाषा सिक्न पाए हुन्थ्यो भन्ने लाग्यो,’ मानबहादुर भन्छन् । उनीसँगै काठमाडौं गएका मानबहादुरले भाषा सिक्न थाले ।
सन् २००९ मा ट्रेकिङ गाइड लाइसेन्स लिएका उनले २०११ देखि पर्यटक गाइडका रूपमा काम थाले । ‘रहर र रुचिको मार्ग थप फराकिलो भयो । यसपछि उनले पर्वतारोणसम्बन्धी एड्भान्स ट्रेनिङका साथै माउन्टेन गाइड एन्ड इन्स्ट्रक्टरको तालिम लिए । त्यसक्रममा आवश्यक भएकाले पनि उनले ६ हजार मिटरभन्दा अग्ला करिब आधा दर्जन हिमालको सफल आरोहण गरे । ‘पहाडको फेदीमा जन्मिएको मलाई हिमाल आरोहण सपना जस्तै लाग्थ्यो । एकपछि अर्को गर्दागर्दै हिमालहरू चढ्न सक्ने हुनु मेरा लागि साँच्चै एक सपना थियो ।’
तालिम सँगसँगै पर्यटक पदप्रदर्शकका रूपमा क्रियाशील मानबहादुरलाई हिमाल आरोहीलाई गाइड गर्ने काममा पनि निपुणता मिल्दै गयो । २०१२ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथासमेत आरोहण गरे । ‘इरानका नागरिकको नेतृत्वमा रहेको इन्टरनेसनल एभरेस्ट एक्सपिडिसन स्प्रिङ–२०१२ पर्वतारोहण दलमा उचाइ कामदारको हैसियतले सगरमाथाको सफलतापूर्वका आरोहण गरें ।’ रुकुमबाट पहिलो पटक सगरमाथा आरोहण गरेका उनी त्यतिबेला सम्मानित पनि भए ।
सगरमाथा आरोहणको एक वर्षपछि रुकुमपूर्वको सिस्ने हिमाल (५९११ मि.) चढेपछि भने उनको आरोहण यात्रा रोकिएको छ । उनी ‘ग्लोबल माउन्टेन लिडर कोर्स’ गरेर अन्तर्राष्ट्रिय मान्यता पाउने प्रयासमा पनि लागे तर सफल भएनन् । उक्त असफलताले उनको बाटो मोडियो । ‘अब हिमाल आरोहणभन्दा पनि अन्वेषणमा लाग्छु भनेर ट्रेकिङ रुट म्यापिङको काममा लागेको हुँ,’ उनले भने ।
ट्रेकिङ म्याप अर्थात् पर्यटक पदमार्ग नक्सांकनको काम थालेपछि मानबहादुरले २०१४ देखि करिब दुई वर्ष लगाएर पहिलोपल्ट धौलागिरि तथा काञ्जिरोवा म्याप तयार गरे । मुगुबाट सुरु भएर जुम्ला हुँदै माथिल्लो डोल्पा–जाजरकोट–रुकुम–ढोरपाटन हुँदै म्याग्दीको तल्लो भाग धौलागिरि हिमालको आधार शिविरसम्म पुग्ने ट्रेकिङ म्याप बनाए । यसपछि सिस्ने राउन्ड ट्रेल म्याप र धौलागिरि एन्ड रेसिका ट्रेल म्याप पनि तयार गरे ।
‘पर्यटक हिँड्ने बाटो, त्यहाँको अवस्था, बासस्थान र सुरक्षालगायत विषयलाई प्राथमिकता दिएर ट्रेल म्याप बनाइन्छ,’ मानबहादुर भन्छन् । अनकन्टार ठाउँमा बाटो पत्ता लगाउने काम सहज भने छैन । यसका लागि आफूले पहिला गुगल अर्थ–प्रोबाट सम्भावित स्थलको अध्ययन गरेर ट्रेल म्यापसँग सम्बन्धित विभिन्न एपबाट जानकारी लिने र काम सुरु गर्ने बताउँछन् उनी । ‘मसँग जीपीएस डिभाइस, कम्पास र टोपो म्याप हुन्छ । यसैका आधारमा काम गर्ने हो,’ उनी भन्छन् ।
खाने र बस्ने सरसामानसमेत झोलामा बोकेर हिँड्नुपर्ने काम स्थानीयकै सहयोगमा गर्ने गरेका छन् मानबहादुरले । स्थानीय मान्छे र गोठाला अनि पुराना सिकारीहरूको सहयोगमा बाटोहरू पत्ता लगाउँदै म्यापिङ गर्ने गरेको मानबहादुरको भनाइ छ । ‘केही उपाय लागेन भने हिमाली भेगमा पाइने वन्यजन्तु र उनीहरू हिँडेको बाटो पछ्याएर पनि हिँड्नुपर्छ,’ उनले भने, ‘त्यसो त कति पटक बाटो बिर्सेर दुःख पाएको, भीरमा अल्झिएको र कुहिरोले नदेखिँदा घण्टौं हराएको अनुभव पनि सँगालेको छु ।’
तर चुनौती जति नै भए पनि यसमा क्रियाशील छन् मानबहादुर । कारण, यो उनको रुचिको विषय हो । पछिल्लोपल्ट दार्चुलाको अपि ट्रेल म्यापमा काम गरिरहेको बताए । अहिले अपिहिमाल गाउँपालिकाको सहयोगमा खण्डेश्वरीबाट खाइकोट हुँदै दोमाल–धौला ओडारबाट अपि आधार शिविर पुग्ने र फर्किंदा खाइकोसम्म त्यही बाटो फर्केर घुसा हुँदै धनगढी पुग्ने रुटको नक्सांकन गरिरहेको उनलेबताए ।
गन्तव्य छ भनेर मात्रै हुँदैन, यसका लागि त्यहाँसम्म जाने बाटो पनि जरुरी पर्छ । ‘योजनाबद्ध ट्रेकिङका लागि म्याप एकदम जरुरी हो । म्यापबिना कोही पनि पर्यटक यात्रा गर्न नै मान्दैनन्,’ उनको बुझाइ छ । गत माघमा नेपाल पर्वतारोण संघको पिक प्रोफाइल समितिको सदस्य मनोनीत भएका मानबहादुर ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को गन्तव्य अध्ययन तथा प्रवर्द्धन विभागको सदस्य पनि छन् ।
पश्चिम नेपालका हिमाली पर्यटकीय गन्तव्य र हिमाल अन्वेषणका साथै यहाँसम्म आवतजावत गर्ने बाटो पहिल्याउने काममा जुटेका छन् मानबहादुर । ‘पर्यटनलाई व्यावसायिक बनाउने हो भने पश्चिम नेपालको हिमाली क्षेत्रको प्रचारप्रसारसँगै पर्यटकमैत्री वातावरण बनाउन जरुरी छ,’ उनले भने, ‘यसका लागि सरकार र सरोकारवालाले आवश्यक योजना र त्यसको सफल कार्यान्वयनका गर्न ढिला गर्नुहुन्न ।’
