म्याग्दी — धरमपानी खोला किनारको सानो चौरमा गाडेको खाँबोमा फाँटेर धुजाधुजा भएको भलिबलको जाली (नेट) टाँगिएको छ । जालीको न तल्लो बिट छ न बीचमा बल छेक्ने धागो नै । मैदानमा वारिपारि चार–चार जना किशोर बाँडिएर राम्ररी हावा नभरिएको पुरानो बल खेलिरहेका थिए ।
झुत्रो जाली र जीर्ण बलले अन्नपूर्ण गाउँपालिका–६ धरमपानीका दर्जी समुदायका युवाहरू खेलिरहेको हेर्दा भलिबलप्रतिको लगाव झल्किरहेको थियो ।
अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट ८ किलोमिटर दक्षिणमाथि पर्यटकीय बस्ती घोरेपानी उक्लने धरमपानी टोलका युवाहरूको यो खेलले हिमाली बस्तीसम्म रहेको भलिबलप्रतिको ‘क्रेज’ देखिन्थ्यो ।
धरमपानीका दलित समुदायका युवाले तिहारमा भैलो खेलेर जम्मा गरेको पैसाले किनेको एउटा भलिबल र जाली फाटेपछि अर्को किन्न नसकेको बताए । ‘गाउँमा हामी दलितका केटाकेटीले सजिलै भलिबल खेल्न पाउन्नथ्यौं,’ स्थानीय राजेश दर्जीले भने, ‘अग्रज दाइहरूले ५ वर्षअघि श्रमदान गरी यो मैदान बनाएपछि रहर पुगुन्जेल खेल्ने अवसर त पायौं तर सामानको सधैं अभाव भयो । जाली र बल राम्रो भए एक दिन हाम्रा भाइबहिनी पनि खेलाडी बन्ने थिए ।’
धरमपानीमा मात्रै होइन, जिल्लाका प्रायः बस्तीमा भलिबल लोकप्रिय छ । हरेक टोलका किशोरकिशोरी तथा युवा उमेरका जोकोही फुर्सद मिल्यो कि बल बोकेर खेल्न निस्किहाल्छन् । गाउँमा खेल्ने न मैदान हुन्छ, न गतिलो बल र जाली नै । अभावकै बीच पनि उनीहरू स्थानीय स्रोतसाधन जुटाएर खेलप्रतिको लगाव कम हुन दिँदैनन् । यहाँ बाबियोको डोरी र कपडाकै बल बनाएर पनि खेल्ने चलन अझै हटेको छैन ।
जिल्लामा भलिबलपछि बास्केटबल बढी लोकप्रिय छ । अभावकै बीच पनि यहाँबाट भलिबलमा राष्ट्रिय टिमको नेतृत्व गरिसकेका छन् । महिला भलिबलका राष्ट्रिय क्याप्टेन अरुणा शाही, टिमकी सदस्य कमला पुन यहींबाट उदाएका खेलाडी हुन् । म्याग्दीकै गाउँमा दुःख र अभावबीचबाट उदाएका महिला भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही, कमला पुनले बंगलादेशमा आयोजना गरिएको सेन्ट्रल एसियन भलिबल वुमेन्स च्यालेन्ज कप (सन् २०१९ र २०२१) मा ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए । त्यस्तै राष्ट्रिय महिला भलिबल प्रशिक्षक कौशिला केसी पनि यहींका खोल्सामा बाबियोको डोरी र कपडाको बलमा अभ्यास गर्दै उदाएकी हुन् ।
‘म्याग्दीका सबै बस्तीमा खेलिने भए पनि राज्यको नजर भलिबलको विकासमा पर्न सकेन,’ म्याग्दीका पुराना र चर्चित भलिबल खेलाडी वेग शाहीले भने, ‘खेल क्षेत्रलाई कमाइखाने भाँडो बनाएकाले राम्रालाई भन्दा हाम्रालाई च्याप्ने गरेकाले क्षमतावान खेलाडी ओझेल पर्दै गए । केही वर्षयता म्याग्दीका महिला भलिबल खेलाडी ढुंगाको काप फोडेर निक्लेका छन् ।’
