सचेतना जगाउँदै कानुनका विद्यार्थी

श्रावण ११, २०८०

तृप्ति शाही

वीरेन्द्रनगर — दैलेखको गुराँस गाउँपालिका–७ का २१ वर्षीय दीपेन्द्रकुमार बीसी मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतको स्कुल अफ लमा कानुन विषयमा स्नातक तह अध्ययन गर्दै छन् । उनी पढाइका साथै वीरेन्द्रनगरका विभिन्न विद्यालयका विद्यार्थीलाई कानुनी सचेतना सिकाउने काममा व्यस्त छन् ।

गत वर्षको जेठ महिनादेखि यो काम थालेका उनले यस बीचमा ११ वटा विद्यालयका विद्यार्थीलाई कानुनका विभिन्न व्यवस्थाबारे सिकाए । ‘समाज कानुनअनुसार चल्नुपर्छ । कानुनको उपभोग पनि समाजकै मान्छेहरूले गर्ने हुन्,’ उनले भने, ‘कानुनको अज्ञानतामा क्षमा पनि हुँदैन, सबैले थाहा पाउनुपर्छ भनेर अभियान चलाएको हुँ ।’

उनले आफूसँगै पढ्ने साथीहरूसँग मिलेर ‘नागरिक आवाज कानुनी सचेतना केन्द्र’ खोलेर अभियान चलाएका हुन् । धेरै नागरिकलाई कानुनबारे जानकारी छैन । जसका कारण कानुनी सजाय भोग्नुपर्ने अवस्था रहेकाले अभियान सुरु गरेको उनको भनाइ छ । ‘अध्ययन गरेर जानेका कुराहरू हामीले सिकाउँदै आएका छौं,’ उनले भने, ‘अब त फुर्सद हुनासाथ साथीहरूलाई लिएर गाउँगाउँका विद्यालयमा जाने बानी नै भइसक्यो ।’ 

समूहले अहिलेसम्म ११ वटा विद्यालयमा कानुनी सचेतना कक्षा सञ्चालन गरेको छ । उनीहरूले सवाल–जवाफमा आधारित ‘संघीयता संवाद’ कार्यक्रम पनि वीरेन्द्रनगरमा सम्पन्न गरेका छन् ।

केन्द्रले सञ्चालन गरेको सचेतना अभियानबाट झन्डै ५ सय बढी विद्यार्थी र केही समुदायका नागरिकलाई कानुनबारे जानकारी गराएको उनको भनाइ छ । ‘यो काम हामीले निःशुल्क सञ्चालन गरिरहेका छौं,’ उनले भने, ‘कुनै विद्यालयमा आउँदा–जाँदाको खर्च पनि व्यक्तिगत रूपमै व्यहोर्छौं ।’ उनले कर्णालीकै विकट मानिने मुगुस्थित छायानाथ रारा नगरपालिकामा समेत कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिसकेको बताए ।

सुर्खेतको गुर्भाकोट नगरपालिका–११ की २१ वर्षीया प्रतिष्ठा सुनार यो अभियानकी विद्यार्थी हुन् । समाजलाई कानुनबारे जानकारी गराउन अभियानमा जोडिएको उनले बताइन् । ‘आफूले पढेर सिकेको कुरा विद्यार्थीहरूलाई सिकाउन पाउँदा खुसी लाग्छ,’ उनले भनिन्, ‘हाम्रो समाजमा अझै पनि महिलालाई तल्लो स्तरको नागरिकका रूपमा हेरिन्छ, विद्यालयहरूमा गएको बेला महिला हक–अधिकारबारे पनि जानकारी दिने गरेकी छु ।’ 

विश्वविद्यालयमै कानुन विषय पढिरहेका कालीकोट पताला गाउँपालिका–१ का २२ वर्षका अनिल कार्कीले स्वतःस्फूर्त अभियानमा साथ दिएका छन् । सानैबाट समाजका लागि केही गर्नुपर्छ भन्ने मनमा लागिरहने भएकाले साथीको कानुनी सचेतना फैलाउने अभियानमा आफूले साथ दिएको उनको भनाइ छ ।

केन्द्रमा कानुनका २१ जना विद्यार्थी आबद्ध छन् । ‘अब यो समितिलाई लुज फोरमका रूपमा मात्र सीमित नगरी जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेरै अघि बढ्ने योजना छ,’ बीसीले भने, ‘कानुनी सचेतनासँगै थप केही काम समाजका लागि गर्न सकिन्छ कि भनेर पनि सोचिरहेका छौं ।’ कानुनमा स्नातक सकेपछि विपन्न र पीडितलाई निःशुल्क कानुनी सेवा दिने आफ्नो उद्देश्य रहेको उनले बताए ।

युवा ग्यालरी

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully