काठमाडौँ — सन् २०१२ मा आजकै दिन (जुलाई २७) मा बेलायतको राजधानी लन्डन ओलम्पिक्स सुरु भएको थियो । बेलायती महारानी एलिजाबेथ द्वितीयले उद्घाटन गरेको प्रतियोगिताको २७ औं संस्करण अगस्ट १३ सम्म चलेको थियो ।
लन्डन आधुनिक ओलम्पिक खेल तीन पटक आयोजना गर्ने पहिलो सहर हो । त्यसअघि लन्डनमा १९०८ र १९४८ मा ओलम्पिक खेल आयोजना गरिएको थियो । लन्डन ओलम्पिक्सअन्तर्गतका अधिकांश स्पर्धा पूर्वी लन्डनको ओलम्पिक पार्क क्षेत्रमा भएका थिए । ओलम्पिक्सअन्तर्गत ३६ खेलमा ३ सय ४ विधाका लागि १० हजार ५ सय ६८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
उक्त ओलम्पिकका खेल औसतमा दैनिक एक लाख ८० हजार दर्शकले हेरेका थिए । प्रतियोगितामा ४६ स्वर्णसहित १०४ पदक जित्दै अमेरिका प्रथम भएको थियो । ३८ स्वर्णसहित ८८ पदक जितेको चीन दोस्रो र २४ स्वर्णसहित ८२ पदक जितेको रुस तेस्रो भएका थिए । २९ स्वर्णसहित ६५ पदक जितेको आयोजक बेलायत चौथो भएको थियो । प्रतियोगितामा ६८ देशले पदक जितेका थिए ।
पौडीबाज माइकल फेल्प्सले आफ्नो अन्तिम ओलम्पिक्समा ४ स्वर्ण (दुई व्यक्तिगत गरी) कुल ६ पदक जितेका थिए । फेल्प्सले ओलम्पिकमा १८ स्वर्णसहित २२ पदक जितेका छन् । त्यस्तै २०१२ को ओलम्पिकमा धावक युसेन बोल्टले तीन इभेन्टमा स्वर्ण जितेका थिए । त्यस्तै, चीनकी १६ वर्षीया पौडीबाज यीले महिला २०० मिटर र ४०० मिटर इन्डिभिजुअल मेड्लीमा विश्व कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् ।
