गाउँमा ज्ञान छर्दै स्वयंसेवी शिक्षक

विभिन्न जिल्लाका विद्यालयमा अध्यापनका लागि टिच फर नेपालले चार सयभन्दा बढी शिक्षक खटाइसकेको छ । कोभिडअघि पाँच हजारभन्दा बढी युवाले स्वयंसेवी शिक्षक बन्न आवेदन दिने गरेकामा हाल तीन हजारमा झरेको छ । आवेदन दिएकामध्येबाट छनोट गरेर पठाइने शिक्षकले सामुदायिक विद्यालयमा गणित, अंग्रेजी, कम्प्युटर र विज्ञान विषय पढाउँदै आएका छन् । 

जेष्ठ २९, २०८०

सुदीप कैनी

काठमाडौँ — विद्यालयदेखि उच्च शिक्षासम्म भारतमा पढेकी झापा भद्रपुरकी मनिका सिंह सिन्धुपाल्चोकको हिमाली भेगको कक्षाकोठामा रमाइरहेकी छन् । मानविकीमा स्नातकोत्तर उनलाई नेपालको शिक्षा प्रणालीबारे जान्ने उत्सुकताले एक वर्षअघि भोताङ देवी माध्यमिक विद्यालय पाँचपोखरी गाउँपालिकासम्म डोर्‍यायो । शिक्षकको जागिरका लागि होइन । स्वयंसेवी शिक्षण गर्न उनी भद्रपुर र सिन्धुपाल्चोक ओहोरदोहोर गरिरहेकी छन् ।

अंग्रेजी साहित्य र मनोविज्ञान अध्ययन गरेकी उनले सामुदायिक विद्यालयको वास्तविक अवस्था खुट्याउन थालेकी छन् । ‘स्नातकोत्तर गरेपछि अनलाइन कक्षाबाट विद्यार्थी पढाउँथें, सानैदेखि भारतमा बसेकाले आफ्नो देशको शिक्षा र भूगोल कस्तो छ, जान्न मन लाग्यो,’ २९ वर्षीया सिंहले भनिन्, ‘नेपाली समाज बुझ्न पनि हिमाली क्षेत्र रोजेर गएँ ।’ 

एक दशकदेखि सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक परिचालन गर्दै आएको टिच फर नेपाल नामक संस्थाले ४ सयभन्दा बढी युवा स्वयंसेवी शिक्षक खटाइसकेको छ । सिंह पनि त्यहीमध्येकी एक हुन् । देशभरका विद्यालयमा ५८ हजारभन्दा बढी शिक्षकको अभाव छ । शिक्षक दरबन्दी अभावमा सरकारले समेत स्वयंसेवक परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर उक्त कार्यक्रम प्रभावकारी हुन नसकेको गुनासो छ ।

स्वयंसेवामा खटिएका शिक्षकले सामुदायिक विद्यालयमा शिक्षक अभाव भएकै कारण गुणस्तरमा सुधार हुन नसकेको औंल्याएका छन् । शैक्षिक सत्र पूरा नहुँदै शिक्षक सरुवा हुँदा विद्यार्थीको पठनपाठनमा असर पुग्ने गरेको सिंहले सुनाइन् । ‘सरकारी स्कुलमा पढ्ने विद्यार्थीले घरमा पढ्ने मौका नै पाउँदैन, स्कुलकै मात्र भर हो,’ उनले भनिन्, ‘शिक्षक नहुँदा सिकाइबाट वञ्चित हुनुपर्छ, धेरै बिदा हुँदा विद्यालयका शिक्षकले पाठ्यक्रम पाठ्यपुस्तक पढाइ सक्दैनन् ।’ शिक्षकलाई जिम्मेवार बनाउन सके मात्र कक्षाकोठाको पठनपाठनमा गुणस्तर हुने उनको सुझाव छ । 

पर्साको नेपाल राष्ट्रिय मावि जिरा भवानी गाउँपालिकामा स्वयंसेवा गरिरहेका २९ वर्षीय अमूल्य श्रेष्ठले मधेशका सामुदायिक विद्यालयको अवस्था कहालीलाग्दो पाएको सुनाए । १३ सय विद्यार्थी पढ्ने विद्यालयमा १५ जना मात्रै शिक्षक रहेको उनले देखे । सामुदायिक विकास अध्ययनमा स्नातकोत्तर अमूल्य समुदाय बुझ्ने उद्देश्यले फेलोसिप रोजेर काठमाडौंदेखि मधेश झरेका थिए ।

तस्बिरहरू : केशव थापा/कान्तिपुर

‘एउटै शिक्षकले ५ वटा विषयसम्म पढाउनुपर्ने अवस्था छ, शिक्षक नभएपछि सामुदायिक विद्यालयको पढाइ कसरी सुधार हुन्छ ?’ उनले प्रश्न गरे । निजी स्कुलमा पढेका उनले वास्तविक समाज सामुदायिक विद्यालयमा भेटेको अनुभव सुनाए । ‘शिक्षक छैनन्, छोराछोरीलाई पढ्न पठाउनुपर्छ भन्ने चेतना अभिभावकमा देखिँदैन, बालविवाह, छुवाछूत, बालदुर्व्यवहार, दुर्व्यसनको समस्या छ,’ श्रेष्ठले थपे, ‘एकजोर पोसाक किन्न नसक्ने, विषयपिच्छेका कापी किनिदिन नसक्ने अभिभावकका छोराछोरी पढ्न आउँछन् ।’

स्वयंसेवी दुई वर्षका लागि खटिएका हुन् । उक्त अवधि पूरा गरेपछि शिक्षा प्रणालीको दयनीय अवस्था देखेर भविष्यमा सोही क्षेत्रमा काम गर्ने अठोट गरेको उनीहरूले बताए । ‘सरकारले दिवा खाजा, सेनेटरी प्याड, छात्रवृत्ति दिए पनि पढ्नुपर्छ भन्ने चेतना नै छैन,’ अमूल्यले भने, ‘खाजा खान, छात्रवृत्तिको पैसा लिन मात्रै पनि विद्यार्थी भर्ना भएका छन् ।’ छात्रालाई पनि पढ्न पठाउने संस्कार मधेशमा सुरुमा भएकामा उनी खुसी छन् । मधेश अन्य प्रदेशको तुलनामा शिक्षाका सूचकमा सबैभन्दा पछि छ । दरबन्दीका शिक्षक व्यवस्था गरेर पुस्तकालय, ल्याबलगायत भौतिक पूर्वाधार विकास गर्न सके मात्र सामुदायिक विद्यालयले लय समात्ने उनको ठम्याइ छ । 

‘शिक्षक, विषय शिक्षक मात्र हेरेर पनि नपुग्दो रहेछ, समाज, बालबालिकाको परिवार, विद्यार्थीको अवस्थाले पनि सिकाइमा प्रभाव पार्छ, सर्वपक्षीय रूपमा हेरेर मात्रै सुधारको योजना कोर्नुपर्छ,’ उनले भने । स्वयंसेवीले कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीलाई पढाउनुपर्ने व्यवस्था छ । तर सय जनामा मुस्किलले २० जना विद्यार्थी मात्रै परीक्षामा पास हुने उनले बताए । ‘शिक्षा क्षेत्रमा सुधार गर्नुपर्ने धेरै पक्ष छ, एक जना विपन्न विद्यार्थीले छात्रवृत्ति पाउनु पनि ठूलो कुरा हुन्छ,’ उनले भने ।

ललितपुरबाट स्वयंसेवक शिक्षक भएर धनुषा पुगेकी २४ वर्षीया मनीषा डंगोलले पनि त्यहाँको सामुदायिक विद्यालयका अवस्था विकराल देखिन् । एउटै कक्षामा १ सय ५० जना विद्यार्थी राखेर पढाउनुपरेको उनले चर्चा गरिन् । ‘सुरुका दिनमा कक्षाकोठामा पस्दा विद्यार्थी उभिएको देखेपछि आफ्नो ठाउँमा बस भन्दा विद्यार्थीले बस्ने ठाउँ पनि नभएको गुनासो गरे,’ उनले भनिन्, ‘गणित पढाउने शिक्षकले सामाजिक विषय पनि पढाउनुपर्ने बाध्यता छ ।’

शिक्षकको कमीले एउटै कक्षामा धेरै विद्यार्थी भए पनि सेक्सन विभाजन हुन नसकेको उनले सुनाइन् । बीएसडब्लूमा स्नातक डंगोल एक वर्षदेखि मिथिला बिहारी नगरपालिकाको श्री सेकेन्डरी स्कुल मिथिलेश्वरमा अंग्रेजी विषयको शिक्षण गर्छिन् । ‘सामुदायिक विद्यालय समाजलाई बुझ्ने सबैभन्दा उपयुक्त थलो रहेछ, सोसल वर्क पढ्दाताका फिल्डमा जाँदा सन्तुष्ट थिइनँ, अहिले मधेशी, मुस्लिम, दलित विद्यार्थीको सेवा गर्न पाउँदा निकै खुसी छु,’ उनले भनिन् । 

मनीषाले पढाउँदै आएको विद्यालयमा १२ सय विद्यार्थीलाई पढाउने शिक्षक भने १६ जना छन् । त्यसमा उनीसहित २ जना स्वयंसेवी हुन् । मनीषाले भनिन्, ‘विद्यालय व्यवस्थापन समिति भद्रागोल छ, विद्यालय पठनपाठनसँगै सुधार गर्न समुदायलाई उत्प्रेरित गर्छौं ।’ स्वयंसेवी शिक्षकको शिक्षणबाहेक समुदाय भेटघाट कार्यक्रमसमेत दैनिकमा पर्छ । परिचालन गर्ने संस्थाले विद्यालयमा असल प्रभाव छाड्न र सुधारका प्रयास गर्न उनीहरूलाई सिकाएको हुन्छ । शैक्षिक सत्रको सुरुवाती महिनामा भरिभराउ हुने कक्षाकोठा क्रमशः रित्तिँदै जाने प्रवृत्ति रहेको उनले सुनाइन् । ‘छात्रवृत्ति पाइन्छ भनेर विद्यार्थी भर्ना हुन्छन्, दिउँसो दिवाखाजा खाएपछि धेरै विद्यार्थी घर हिँड्छन्,’ उनले थपिन्, ‘भर्ना भए पनि गयल हुने विद्यार्थीको संख्या धेरै हुन्छ ।’

टिच फर नेपालले ५ जिल्लाका सामुदायिक विद्यालयमा स्वयंसेवी स्नातक युवालाई दुई/दुई वर्षका लागि खटाउँदै आएको छ । डोटीका २४ वर्षीय स्पन्दन बलायर दाङको तुलसीपुरस्थित श्री मावि प्रतापकोटमा स्वयंसेवी शिक्षण गर्दै आएका छन् । बीबीए गरेर उनी कर्पोरेट क्षेत्रको बन्धनमा बस्न मन नभएर शिक्षक बनेको बताउँछन् । उच्चशिक्षा पूरा गरेपछि करिअरको आरम्भ गर्ने बेला समाजमा केही दिन सकियोस् भन्ने अभिप्रायःले स्वयंसेवक शिक्षकका रूपमा खटिएको उनले सुनाए । समुदायले महत्त्व नदिँदा सामुदायिक स्कुलको स्तर खस्केको स्पन्दनको बुझाइ छ । उनी गणित पढाउँछन् । साँझ, बिहान र छुट्टीको दिन विद्यार्थीसँगै प्रतापकोटको डाँडापाखा डुल्छन् । 

‘हामीले जानेको कुरा विद्यार्थी, अभिभावकलाई सिकाउँछौं, उनीहरूबाट हामी सिक्छौं,’ उनले भने, ‘विद्यार्थीको प्रतिभा प्रस्फुटन हुने अवसर दिन्छौं ।’ शिक्षकले १० देखि ४ बजेसम्म जागिर पकाउने मानसिकता र प्रवृत्तिले सिकाइमा गुणस्तर आउन नसकेको उनको अनुभव छ । ‘स्थानीय तहले शिक्षक छनोट, नियुक्ति र टिकाउमा ध्यान दिनुपर्छ,’ बलायरले थपे, ‘अभिभावकले पनि विद्यालय कस्तो छ, के पढाइ भइरहेको छ, शिक्षक कस्ता छन्, सोधीखोजी गरे धेरै सुधार हुन सक्छ । तर अभिभावक सचेत छैनन् ।’ 

सामुदायिक विद्यालय बदल्ने जोस बोकेर स्वयंसेवी शिक्षक बनेकामध्ये करिब ५८ प्रतिशतले भविष्यमा शिक्षणलाई कार्यक्षेत्र बनाएको तथ्यांक छ । कतिपय स्थायी शिक्षक बनिसकेका छन् । दाङ, सिन्धुपाल्चोक, धनुषा, पर्सा, तनहुँका गाउँगाउँमा विद्यालयमा खटिने स्वयंसेवक शिक्षकलाई टिच फर नेपालले मासिक २२ हजार ५ सय निर्वाह भत्ता उपलब्ध गराउँछ । कोभिडअघि स्वयंसेवी बन्न ५ हजारभन्दा बढी युवाले आवेदन दिन्थे । त्यसपछिका वर्षमा भने ३ हजार हाराहारीले मात्रै आवेदन दिने गरेका छन् । आवेदकमध्येबाट छनोट गरेर सामुदायिक विद्यालयमा पठाइन्छ । 

युवा ग्यालरी

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Link copied successfully