लमजुङ — लमजुङको राइनास नगरपालिकामा साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरिएको छ । यसले होमस्टेलाई समेत जोडेको छ । नगरपालिकाले अघि सारेको गौरवको योजनाअन्तर्गत वडा ९ को भक्तिपार्क मोहोरियाकोटदेखि वडा १० को प्यारजुङ भन्ज्याङ जोड्ने साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको हो । यो ट्रेल तथा पदमार्ग ८ किलोमिटर लामो छ ।
पदमार्गमा शनिबार पोखरा, बेंसीसहर, सुन्दरबजारलगायत क्षेत्रका २२ जनाले साइकल कुदाएका छन् । उनीहरूले प्यारजुङ भन्ज्याङदेखि जोगीगुफा, साल्मेकोट, लामागाउँ, गोरखनाथ मन्दिर, कोकेगाउँ, घुरसापे, दरबारगढी, पात्लेपानी, राइनासकोट हुँदै सिद्ध गुफा भएर भक्तिपार्क मोहोरियाकोटसम्म साइकल दौडाएका हुन् । भक्तिपार्कमा राइनासले यसअघि नै सरदार वीर भक्ति थापाको सालिक निर्माण गरिसकेको छ ।
पर्यटनको माध्यमबाट स्थानीयको जीवनस्तर उकास्न साहसिक खेल साइकल ट्रेल सञ्चालनमा ल्याएको नगरप्रमुख खड्गबहादुर गुरुङले बताए । उनका अनुसार साइकल ट्रेल र पदमार्गको शनिबार उद्घाटन गरिएको छ । ‘साइकल ट्रेल यो क्षेत्रकै नयाँ अभ्यास हो । हामीले हिँड्न चाहनेका लागि पदमार्ग पनि निर्माण गरेका छौं,’ उनले भने ।
‘ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले राइनासकोट प्रख्यात छ । यसैमा हामीले साइकल ट्रेल र पदमार्ग निर्माण गर्यौं । यसले ग्रामीण पर्यटनमा नयाँ आयाम थपेको छ,’ उनले भने । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले साइकल पर्यटनको माध्यमबाट ग्रामीण अर्थतन्त्रलाई माथि उकास्न खोजिएको दाबी गरे । तल्लो क्षेत्रमा कृषि र पशुपालन गर्दै माथिल्लो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन जुटेका छौं,’ उनले भने ।
राइनास नगरपालिका ९ को १० लाख र वडा १० को ६ लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ लागत र स्थानीयको १० प्रतिशत जनश्रमदानमा साइकल ट्रेल र पदमार्ग निर्माण गरिएको हो । माउन्टेन बाइक राइडरसमेत रहेका वडा १० को साइकल ट्रेल तथा पदमार्ग निर्माण समितिका अध्यक्ष ध्रुव गुरुङका अनुसार पर्यटन प्रवर्द्धनका लागि लमजुङमा नयाँ कार्यको थालनी भएको छ । यो क्षेत्रबाट धौलागिरि हिमालदेखि माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, मनास्लुलगायत दर्जन हिमशृंखला देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य पनि देख्न सकिन्छ ।
पदमार्ग हिँड्दै वा साइकल कुदाउँदै राइनासकोट होमस्टेमा बस्न सकिन्छ । राइनासकोटमा भूकम्पले भत्काएको घर पुनर्निर्माण गरी १४ घरमा होमस्टे सञ्चालन गरिएको छ ।
