आजकै दिन : बोरिस यल्तसिन रुसको पहिलो राष्ट्रपति 

जेष्ठ २९, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९९१ मा आजकै दिन (जुन १२) मा रुसको पहिलो राष्ट्रपतिमा बोरिस यल्तसिन निर्वाचित भएका थिए । उनले १९९९ सम्म पदभार सम्हालेका थिए ।

यल्तसिन रूसमा लोकतन्त्रको जग बसाल्ने महान् नेताका रूपमा परिचित छन् । रुसमा १९९१ को मार्च १७ मा भएको जनमतसंग्रहले राष्ट्रपति पदको व्यवस्था गरेको थियो । त्यसपछि भएको पहिलो निर्वाचनमा यल्तसिन विजयी भएका थिए ।

आफ्नो दोस्रो कार्यकाल बाँकी छँदै उनले १९९९ को डिसेम्बर ३१ मा राजीनामा दिएका थिए । दोस्रो कार्यकाल निर्वाचित भएपछि क्रमशः लोकप्रियता गुमाउँदै गएका यल्तसिनको राजीनामाले अधिकांश रुसी नागरिकहरू खुसी भएको सर्वेक्षणहरूले उल्लेख गरेका थिए ।

टेलिभिजनमार्फत सम्बोधन गर्दै यल्तसिनले आफ्नो प्रशासनले रुसमा सांस्कृतिक, राजनीतिक र आर्थिक स्वतन्त्रताको प्रत्याभूति गरेको दाबी गरेका थिए । १९३१ को फेब्रुअरी १ मा जन्मिएका यल्तसिनको २००७ को अप्रिल २३ मा ७६ वर्षको उमेरमा निधन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully