कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खुट्टाले होइन, आँटले सगरमाथा चढेका हरि

घुँडामाथिसम्म दुवै खुट्टा नभएका बुढामगरको अबको योजना हो– सात महादेशका सात अग्ला हिमाल आरोहण गर्ने वा पृथ्वीको उत्तरी ध्रुवदेखि दक्षिणी ध्रुवसम्मको यात्रा गर्ने
सुरज कुँवर

काठमाडौँ — यस पटकको वसन्तकालीन हिमाल आरोहण लगभग सकिएको छ । दुई महिनाअघि सगरमाथासहित २८ वटा हिमालचुलीतर्फ पुगेका स्वदेशी र विदेशी पर्वतारोही, उनीहरूका गाइड, शेर्पा र सहयोगीहरू टेन्ट खोलेर फर्किरहेका छन् ।

खुट्टाले होइन, आँटले सगरमाथा चढेका हरि

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार नेपालसहित ८० देशका ११ सय ७६ जनालाई यस पटकको हिमाल आरोहणका लागि ०७९ मै अनुमति दिइएको थियो । ६ हजार ३४ मिटरको अरनिको चुलीदेखि ८ हजार ८ सय ४८ मिटर उचाइको सगरमाथासम्मका २८ वटा हिमालमध्ये सगरमाथामा मात्रै कम्तीमा ६ सय जनाले आरोहण गरेको प्रारम्भिक जानकारी विभागमा छ । आरोहणका क्रममा सगरमाथामा ९ सहित ११ आरोहीको मृत्यु भएको र ८ जना अझै हराइरहेका महानिर्देशक लुइँटेलले बताए ।

आरोहण क्षेत्रमा संसार चकित तुल्याइदिने नेपालीहरूको सूचीमा यस पटक रोल्पाका हरि बुढामगरको नाम थपिएको छ । घुँडाभन्दा माथिसम्म दुवै कृत्रिम खुट्टा भएका रोल्पाका ४३ वर्षीय बुढामगरले जेठ ५ गते विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गरे । घुँडामाथि दुवै खुट्टा नभएका (दोहोरो एम्प्युटी) हरिको कीर्तिमानले विश्वलाई चकित तुल्याइदिएको छ ।

उनकै भनाइमा घुँडामाथिसम्म दुवै खुट्टा गुमाएका व्यक्तिले विश्वकै अग्लो हिमाल पुगेको यो रेकर्ड मानव सभ्यतामै अनौठो तथा पहिलो हो ।

उनै हरि पर्यटन व्यवसायीहरूको संस्था स्कल इन्टरनेसनल नेपालले लाजिम्पाटमा आयोजना गरेको कार्यक्रमका मुख्य वक्ता थिए । त्यसै मेसोमा भेटिएका हरिलाई उनको अबको योजनाबारे गरिएको प्रश्नमा उनले सात महादेशका ७ वटा अग्ला हिमाल (सेभेन समिट) आरोहण वा पृथ्वीको उत्तरदेखि दक्षिणी ध्रुव (नर्थ पोल टु साउथ पोल) को यात्रा गर्ने बताए । ‘पहिले म यूके जान्छु,’ उनले भने, ‘त्यहाँ टिमसँग सल्लाह गर्छु अनि मेरो वेबपेजबाट घोषणा गर्छु सेभेन समिट गर्ने कि नर्थ पोल टु साउथ पोलको टुर गर्ने भनेर ।’

हरिले आफ्नो जीवनको बाँकी समय तीन वटा उद्देश्यमा केन्द्रित भई पृथ्वीको संरक्षणमा बिताउने बताउँछन् । ‘म वर्ल्ड पिस प्रोमोटमा लाग्छु । अर्को काम जलवायु परिवर्तनमा गर्नु छ । यसबाहेक संसारभर अपांगताबारे जागरण फैलाउनु छ,’ उनले भने । पत्नी र छोरासहित हाल बेलायतमा व्यवसाय गर्दै आएका उनले यस पटक हिमालमा अत्यधिक हिउँ पग्लिएको दृश्यले आफूलाई मर्माहत तुल्याएको बताउँछन् । ‘हाम्रा हिमालहरू अत्यन्तै विनाशकारी अवस्थामा छन् । हामीले अब आउने पुस्तका लागि काम गर्नैपर्छ । म त्यसैमा लाग्नेछु,’ उनले भने ।

सगरमाथा आरोहणमा ५ वर्ष लगातार समय खर्चेपछि यस वर्षको वसन्तकालीन हिमाल आरोहण सिजनमा ६ हजार ४ सय मिटर उचाइको मेरापिक आरोहण गरेर अर्को विश्व कीर्तिमान गरेका हरिका आधा दर्जन विश्व रेकर्ड छन् । यस पटक सगरमाथा आरोहणमा सफलता हात परेपछि उनको दैनिकी अत्यधिक व्यस्त बन्यो । ‘एकै दिन सात वटा कार्यक्रम भ्याएँ । काठमाडौं फर्किएपछि गृह जिल्ला रोल्पा पनि पुग्न सकिन । त्यहाँको रेडियोलाई काठमाडौंबाट अन्तर्वार्ता दिँदै रोल्पाली दाजुभाइ, दिदीबहिनीसँग यस पटकलाई माफी मागें,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने, ‘प्रदेश सरकारले सम्मानका लागि बोलाएकामा पनि जान पाइनँ । संघ संस्थाका सम्मानका अफर थुप्रै लिन सकिरहेको छैन । किनकि मैले अर्को सपना देखिसकें, त्यसैले मलाई चाँडै बेलायत पुग्नु छ ।’

नेपालमै अन्तिम सास बिताउने रहर पालेका हरि अब अपांगता भएका व्यक्तिको हितका लागि काम गर्नेछन् । ‘विपन्नलाई ह्वीलचेयर, कृत्रिम खुट्टा प्रदान गर्ने काम गर्ने रहर छ,’ उनले भने । जीवनको ऊर्जाशील समय लडाइँमा बिताएका हुन् हरिले । पाको हुँदै गएपछि उनले बुझेका छन्, लडाइँले कसैलाई फाइदा नहुने रहेछ भनेर । त्यसैले त अर्को काम गर्न पनि मन छ उनलाई । ‘अब म शत्रुहरूलाई जोड्ने प्रयासमा लाग्छु,’ उनले भने । ब्रिटिस सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा तालिवानको एम्बुसमा परेर हरिले दुवै खुट्टा गुमाएका थिए ।

हिमाल आरोहणमा दुवै खुट्टा गुमाएका, दुवै आँखा नदेख्ने र दुवै हात गुमाएका अपांगलाई निषेध गरेको कानुनलाई चुनौती दिने व्यक्ति पनि हुन् हरि । त्यसपछि उनले तीनै तहका अपांगता बेहोरेका व्यक्तिका लागि पर्वतारोहणसम्बन्धी नियमावली नै परिवर्तन गराउन लागिपरे । त्यसमा सफल पनि भए । अहिले त हरिलाई लाग्छ, नेपालले अपांगमैत्री पूर्वाधार र कानुन बनाइरहेको छ । तर, जति हुनुपर्ने त्यति भएको छैन । भइरहेका काम पनि निकै सुस्त गतिमा छन् ।

‘यस पटक काठमाडौंमा अपांगमैत्री शौचालय पनि देखें,’ उनले भने, ‘तर अझै जेब्रा क्रसिङ अपांगमैत्री छैनन् । ह्वीलचेयर सहज रूपमा जेब्राबाट सडक पेटीमा उकाल्न नै सकिँदैन । सरकारी कार्यालयमा बनाइएका ह्वीलचेयरका पेटी पनि ठाडा छन् । कतिपयमा उत्तानो पर्ने जोखिम छ ।’ सगरमाथालगायतका हिमालमा बनाइएका हेलिप्याडदेखि शिविर वा नजिकैका होटलसम्मका बाटा अपांगमैत्री हुनुपर्ने बताउँछन् उनी । ‘अपांगता भएका व्यक्ति सक्षम छन् । जे पनि गर्न सक्छन् । हामीलाई दयामाया होइन, पूर्वाधार र कानुनमा विभेद हटाए पुग्छ,’ कुराकानीलाई बिट मार्नुअघि उनले भने, ‘यो कुरा म जस्तै अपांगता भएका व्यक्तिहरूले हिमाल आरोहण गरेर देखाइसके ।’

प्रकाशित : जेष्ठ २२, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?