१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सौन्दर्य प्रतियोगितामा पेसाकर्मी युवतीहरू

कुनै समय सौन्दर्य प्रतियोगितामा बाह्य सुन्दरताको मात्रै चर्चा हुने गर्थ्यो । अहिले विभिन्न पेसामा दक्ष युवतीले मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिता रोज्न थालेपछि भने सौन्दर्य चेतमा समेत फरक मत आउन थालेको छ ।
मधु शाही

काठमाडौँ — हेटौंडाकी कृति बर्तौलाले सानैमा सुनेकी थिइन्, ‘गर्भवतीले दाँत ब्रस गर्नु हुँदैन’ भनेर । खासमा यो एक अन्धविश्वास थियो । गाउँघरमा जराजागेको यस्तो भ्रम अझै पछि छ र सुनिन्छ ।

सौन्दर्य प्रतियोगितामा पेसाकर्मी युवतीहरू

‘गर्भवतीले ब्रस गर्‍यो भने दाँत झर्छ भन्ने’ भ्रम चिर्नुपर्ने ठानिन् उनले । पेसाले डेन्टिस्ट भएकाले पनि होला उनलाई यसमा थप चासो बढ्यो । ‘दाँत मानव स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण अंग हो,’ उनी भन्छिन्, ‘तर गाउँघरमा अझै पनि यस्ता अन्धविश्वास छन्, जुन चेतनामार्फत नै हटाउन सकिन्छ ।’

खासमा कृति एक अस्पताल वा सामान्य क्लिनिकमा काम गरेर कति जनालाई चेतना दिन सक्थिन् होला र ? त्यसैले पनि उनलाई लाग्यो, पहिले आफ्नो परिचयको दायरा फराकिलो पारौं, छवि चर्चित बनाऊँ, अनि जनचेतनाका लागि सक्रिय बनौंला भनेर ।

त्यसका लागि जनतामा चिनिनु थियो र त्यही परिचयको सदुपयोग गर्दै अन्धविश्वास र कुरीति हटाउनु थियो ।

त्यसैका लागि उनी जोडिएकी हुन्, मिस नेपाल–२०२३ मा । स्वास्थ्य र ग्ल्यामर बिल्कुल फरक क्षेत्र हुन् । तर, २५ वर्षीया कृतिले आफ्नो स्वास्थ्यप्रतिको उद्देश्य पूरा गर्न ग्ल्यामर क्षेत्रमा लाग्ने निधो गरिन् । प्रतियोगितमा सहभागी हुन मात्रै पनि ठूलै साहस र हिम्मत जरुरी थियो । ‘कहाँ डाक्टर पढ्दै गरेकी छोरी मिस नेपालतिर लागेकी भनेर नाक खुम्चाउने परिवारमै थिए,’ उनले भनिन्, ‘मनले स्वीकार्नु भएन, म आफ्नो इच्छा छोडिन ।’ मिस नेपाल–२०२३ की कन्टेस्टेन्ट नम्बर ६ उनी विजेता त हुन सकिनन्, तर आफूले सोचेको स्वास्थ्य चेतना मरेको छैन । उनी भन्छिन्, ‘जितेको भए, ब्युटी विथ पर्पसका लागि दन्त चेतनाको विषय रोज्थे ।’

पछिल्लो समय मिस नेपाल सौन्दर्यका विषयमा मात्र सीमित नभई थुप्रै युवतीको सपना फुलाउने र फक्राउने प्लेटफर्मका रूपमा विकसित हुँदै गएको छ । यसपालि मिस नेपाल वर्ल्ड विजेता बनिन् श्रृच्छा प्रधान । मिस इन्टरनेसनलको उपाधि प्रसिद्धि शाहले र मिस नेपाल अर्थको रैना मजगैयाँले जिते । रोचक कुरा त के छ भने २४ जना फाइनलिस्टमध्ये कपितय युवती विभिन्न पेसामा आबद्ध तथा आफ्नो करिअर बनाएका/बनाउँदै गरेका छन् । कुनै समय सौन्दर्य प्रतियोगितामा सुन्दरताको मात्रै चर्चा हुने गर्थ्यो । अहिले विभिन्न पेसामा दक्ष युवतीले मिस नेपाल जस्ता सौन्दर्य प्रतियोगिता रोज्न थालेपछि भने सौन्दर्य चेतमा समेत फरक मत आउन थालेको छ ।

त्यस्तै, गत वर्षको मिस नेपालमा ६ जना चिकित्सक सुन्दरी प्रतियोगितामा सहभागी थिए । मिस नेपाल अर्थ रैना मजगैयाँ पेसाले पाइलट हुन् । उनले मिस नेपाल प्रतियोगिता सहभागीले आफ्नो एक्ट्रा ब्युटी प्रदर्शन गर्ने र एक्सपोज गर्ने प्लेटफर्म भएको बताउँछिन् । त्यस्तै, नर्सिङ पेसा अपनाउँदै मिस नेपालको मैदानमा उत्रिएिकी थिइन्, अर्की प्रतिस्पर्धी २५ वर्षीया सदीक्षा थापा । ललितपुर घर भएकी सदीक्षा मेडिसिटी अस्पतालमा काम गर्छिन् । नर्सिङ क्षेत्रमा आफूलाई भन्दा पहिला बिरामीलाई केन्द्रमा राखेर सेवा दिनुपर्छ । नर्सिङमा अरूको खुसी नै महत्त्वपूर्ण हुने बताउँछिन् उनी । तर त्यसको ठीक उल्टो छ, मिस नेपालमा सहभागी हुनुको मुख्य कारण । मिस नेपालमा आफूलाई नियाल्ने र आफूभित्रको सौन्दर्य निखार्ने थलोका रूपमा प्रयोग गर्न चाहेको उनले बताइन् ।

‘बिरामीकै सेवामा आफू के हुँ भन्ने भुलेकी थिए,’ उनी भन्छिन्, ‘त्योभन्दा फरक क्षेत्रमा क्षमता परीक्षण गर्न मिस नेपालमा सहभागी भए ।’ सहभागी भएपछिको बुझाइ भने उनले निकै भिन्न पाएको बताइन् । मिस नेपाल जति बाहिरबाट हेर्दा सजिलो र रोचक देखिन्छ उत्तिकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ । सदीक्षाका अनुसार सामान्य पारिवारिक र आर्थिक पहुँच कम भएकी युवतीले सजिलै ताज पहिरन गाह्रै पर्ने उनको बुझाइ छ । ‘बोल्ने कसरी, खाने कसरी र आफूलाई बुझ्ने कसरी भन्ने विषयमा मैले धेरै कुरा मिस नेपालमा प्रतिस्पर्धा गरेरै सिकें,’ उनले आफ्नो अनुभव बताइन् ।

त्यस्तै, भक्तपुर घर भएकी कन्टेस्टेन्ट नम्बर ९ की सृष्टि हाडा पेसाले सिभिल इन्जिनियर हुन् । आफ्नो पेसालाई केही समय थाती राखेर मिस नेपाल प्रतियोगितासँग जोडिएकी थिइन् उनी । यसकै लागि पनि उनले पछिल्लो समय आफ्नै व्यसायसँगै मोडलिङ गर्दै आएकी थिइन् । ‘ग्ल्यामर र सिभिल इन्जिनियरिङ बिल्कुलै फरक विधा हुन्,’ उनी भन्छिन्, ‘यी दुवैमा आफूलाई अब्बल देखाउने प्रयास गरेकी छु ।’ ग्ल्यामर क्षेत्रमा उत्रिनु बाहिरबाट देखेजस्तो र चर्चा गरेजस्तो सामान्य नभएको उनको बुझाइ छ ।

सृष्टिको विचारमा मोडलिङ र सौन्दर्य विधामा बौद्धिकस्तरको करिअर डेभलप गर्न सकिन्छ । ‘यसका लागि गतिला प्लेटर्फम भनेकै सुन्दरी प्रतियोगिताहरू हुन्,’ उनले भनिन् । सृष्टिले सन् २०२२ मा ‘मिस युनिर्भस नेपाल’ मा समेत प्रतिस्पर्धा गरेकी थिइन् । सेमिफाइनलिस्ट बनेकी उनले मिस नेपाल लक्ष्य राखिन् । अब भने पराजयको घाउ अलिक गहिरिएको बताउँछिन् उनी । ‘केही महिना मिस नेपालमा सोचेअनुसार सफलता हासिल गर्न नसकेको ह्याङआउट मेटाउँछु,’ उनी भन्छिन्, ‘त्यसपछि केही इनोभेटिभ काम गर्ने सोच बनाएकी छु ।’

प्रकाशित : जेष्ठ २१, २०८० ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?