कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

१७ वर्षीय कीर्तिमानी आरोही

संखुवासभाको मकालु गाउँपालिका–१ वालुङमा जन्मिएका  निमाले १० घण्टामै सगरमाथा र ल्होत्सेको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाए
भानुभक्त निरौला

सोलुखुम्बु — संखुवासभाको मकालु गाउँपालिका–१ वालुङमा जन्मिएका हुन् निमा रिन्जी शेर्पा । कलिलै उमेरका उनी पछिल्लो समय चर्चामा छन् । कारण, केही दिनअघि उनले १० घण्टामा विश्वको सर्वोच्च शिखर सगरमाथा र ल्होत्सो हिमाल आरोहण गर्ने विश्वकै कान्छो आरोहीका रूपमा विश्व कीर्तिमान कायम गरेका हुन् । 

१७ वर्षीय कीर्तिमानी आरोही

निमा २०२३ को मे २५ (जेठ ११) का दिन बिहान २ः३० बजे ८८४८.८६ मिटर उचाइको सगरमाथाको शिखरमा पुगेका हुन् । त्यसपछि ८५१६ मिटर उचाइको ल्होत्सेतर्फ लागेका उनी सोही दिन बिहान ११ः५० बजे हिमालको चुचुरोमा पुगेर विश्वको कान्छो आरोहीको कीर्तिमान बनाए । योसँगै १० घण्टाभित्र २ वटा हिमाल चढ्ने कान्छो आरोहीको समेत गरेर एकै पटक दुईवटा रेकर्ड बनाएको आधार शिविरमा रहेका पर्यटन विभागका अधिकारीले पुष्टि गरेका छन् ।

यति कलिलो उमेरमा दुई हिमाल चढ्नु नेपालका लागि ठूलो उपलब्धि भएको पर्यटन विभागको निचोड छ । निमाको यो उपलब्धि पहिलो भने होइन । उनले १७ वर्षको उमेरमा नै हिमाल आरोहणमा तीनवटा कीर्तिमान कायम गरिसकेका छन् । यसअघि १६ वर्षको उमेरमा नै उनले पर्वतारोहणमा विश्व कीर्तिमान बनाएका थिए । २०२२ को सेप्टेम्बर ३० मा उनले विश्वको आठौं अग्लो हिमाल मनास्लु (८१६३ मि.) को शिखरमा टेकेर कान्छो आरोहीको रेकर्ड राखेका थिए । उनी त्यो बेला १६ वर्ष ५ महिना १२ दिनका थिए । उनको पछिल्लो साहसले भने नेपाली पर्वतारोहण क्षेत्रमाझ मात्र होइन, विश्वसामु देशलाई थप चिनाएको छ ।

सानैदेखि खेलकुद क्षेत्रमा चासो र रुचि राख्ने निमाको आँट भने गज्जबकै छ । संखुवासभामा जन्मेर काठमाडौंमा अध्ययन गर्दै आएका उनी बच्चैदेखि खेलकुदसँग पनि जोडिएका छन् । उनी फुटबल, बक्सिङलगायतका खेलकुदमा अब्बल छन् । ‘छोरा सानैदेखि एथलेटिक्समा निकै अगाडि छ, हाइकिङ र क्लाइम्बिङ उसको सोखका विषय नै हुन्,’ बुबा टासी ल्हाक्पा शेर्पाले कान्तिपुरसँगको कुराकानीमा भने ।

काठमाडौंमा ए लेभलको अध्ययन गरिरहेका निमा भने आरोहण सकेर हाल परीक्षाको तयारीमा जुटेका छन् । खासमा उनी पढाइमा पनि उत्कृष्ट छन् । ‘पढाइमा सधैं अग्रणी स्थानमा आउने गरेको छ,’ बुबा टासीले भने । हिमाल आरोहणमा लाग्न आफ्नै बुबाबाट प्रेरणा मिलेको बताउँछन् निमा । ‘बाबा पनि १६ वर्षकै उमेरमा हिमाल चढ्नुभएको थियो, पर्वतारोहणमा लाग्ने प्रेरणा मलाई उहाँबाटै मिलेको हो,’ उनले भने ।

‘हिमाली वातावरण एकदमै मन पर्छ, सानो छँदा नै बाबा हिमालतिरै हुनुहुन्थ्यो, उहाँले बिनाअक्सिजन सगरमाथा चढेको कुराले निकै प्रेरित गर्‍यो, अनि त्यही भएर मैले पनि आरोहणमा विश्व कीर्तिमानको सपना देख्न थालें,’ उनले भने, ‘समर्पित भएर लागियो भने असम्भव भन्ने केही रहेनछ ।’ १० घण्टामै दुई हिमाल चढिसकेपछि भने आफूलाई संसार जितेको अनुभूति भएको बताउँछन् उनी । ‘बाबाले देखाएको पथ र आफ्नो सपनाले साकार गर्न पाउँदा संसार जितेको स्वर्गीय अनुभूति भयो’ आरोहण सकेर काठमाडौंमा रहेका निमाले भने ।

निमालाई साहसिक काम गरेर नेपाललाई विश्वमाझ चिनाउने ठूलो धोको छ । ‘हाम्रा अग्रज पुस्ताले हिमाल चढेर नेपाललाई विश्वमा चिनाए, अब हामी जस्तो कान्छो पुस्ताले पनि पर्वतीय पर्यटनको गरिमा र महत्त्वलाई बचाएर लानुपर्ने छ,’ उनको बुझाइ छ । अध्ययन सकेपछि पनि साहसिक कार्यमा तल्लीन रहने उनको जीवनको लक्ष्य छ । छोराको सफलतामा उनका बाबु पनि निकै दंग छन् । ‘धेरै नै खुसी छु, सानैदेखिको उसको सोच र लगावले सफलता पाएको छ,’ उनले भने ।

सगरमाथा हिमाल ९ पटक आरोहण गरिसकेका उनका बुबा टासीले अन्य ७ अग्ला हिमाल आरोहणको क्रममा छन् । सगरमाथासँगै अमेरिकाको माउन्ट डोनाली, युरोपको माउन्ट एलब्रस, अफ्रिकाको माउन्ट कालिमन्जारो जस्ता हिमालको सफलतापूर्वक आरोहण गरिसकेका छन् । उनले २००४ मा पूरक अक्सिजनबिना नै सगरमाथामा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए । उनले सगरमाथा ९ पटक, चोयु २ पटक, आमादब्लम ५ पटक र मनास्लु लगायतका हिमाल आरोहण गरिसकेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०८० ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?