कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रारा वरपर घोडा चलाउनेहरू

तृप्ति शाही

मुगु — स्वर्गकी अप्सरा भनिने रारा ताल जान मिलीचौर पुग्नुस् न मात्रै, घोडा गोठालाहरू दुगुर्दै आइपुग्छन् । अनि भन्छन्, ‘सुन्दर रारालाई घोडाबाट त हेर्नुस् अझै सुन्दर देखिन्छ ।’

रारा वरपर घोडा चलाउनेहरू

समुद्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको राराताल जाने यात्रीलाई मिलीचौरमै पछ्याइरहेका थिए, २५ वर्षका दलबहादुर बुढा ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ सिजाका उनी तीन वर्षयता घोडा पछ्याउने कामकै लागि मुगुको छायानाथ रारा नगरपालिका–८ मा बस्दै आएका छन् । उनको काम बिहान ४ बजेबाटै सुरु हुन्छ । किनकि सात नबज्दै सल्लेरी पार्क नपुगे हिँड्ने यात्रुहरू भेट्न मुस्किल पर्छ । दलबहादुर घोडासँग सानैदेखि परिचित थिए । किनकि उनको गाउँमा ‘घोडा र छोरा पाल्नु एकै हो’ भन्ने चलनचल्तीमा छ । उनका ६६ वर्षीय बाबुले रहरले घरमा घोडा पालेका थिए । उनी घोडामा गाउँघर घुमी हिँड्थे । दल भने परिवार पाल्न घोडा डोर्‍याइरहेछन् ।

रारा तालसम्म घोडा डोर्‍याउनेमा दलबहादुर मात्रै छैनन् । अरू कैयन् किशोरकिशोरी पनि छन् । जस्तो कि, कर्णाली माध्यमिक विद्यालय मुगुमा कक्षा ८ मा अध्यनरत पुष्पा रावल बेलाबेला घोडा लिएर सल्लेरी पुग्ने गर्छिन् । आफ्नो घोडामा चढिदिन पर्यटकलाई आग्रह गर्दै गरेकी उनले बाबुले घोडा लिएर आउन नभ्याउने भएपछि आफूले स्कुल छाडेरै आएको बताइन् । घोडाबाट दैनिक एक हजारदेखि दुई हजारसम्म कमाउने गरेको बताउँछिन् उनी । ‘हामी यही घोडाले घरपरिवार चलाउँछौं । पढाइ खर्च पनि यसैबाट धानिने गरेको छ,’ उनले मुसुक्क हाँस्दै भनिन् ।

१६ वर्षीया पवित्रा रावल पनि कक्षा १० की विद्यार्थी हुन् । उनी पनि पढाइ छाडेर घोडा डोर्‍याउन आइपुग्छिन् बेलाबेला । ७० हजार हालेर ४ वर्षअघि किनेको घोडाबाट हुने कमाइले नै आमाबुबा, भाइ र बहिनीको खर्च धान्ने गरेको उनले बताइन् । ‘विद्यालय छाडेर घोडा लिएर आउँदाखेरि पढाइ राम्रो हुन त सकेको छैन । अब केही समयपछि बुबालाई फुर्सद भयो भने म घोडा छाडेर स्कुल जान्छु,’ उनले भनिन् ।

पहिले गाउँमा ठूलाठालु र मुखियाहरूले सान र सौखले चढ्ने घोडाहरू हिजोआज यात्रुहरू बोक्न प्रयोग हुन थालेका छन् । अनि घोडा किनेर हिँडाउनेहरूले यसैबाट परिवार पनि पाल्न थालेका छन् । यो व्यवसायकै कारण बच्चा घोडालाई २० हजारसम्म र ठूला घोडाहरू ५० हजारदेखि ८० हजारसम्म पर्ने गरेको छ । यस्तो अभ्यासले स्थानीय पर्यटन मात्रै बढाएको छैन, रोजीरोटीको बाटो पनि खोलेको छ ।

रारामा अहिले दुई सयको हाराहारीमा घोडा व्यवसायी छन् । उनीहरूले घोडा व्यवसायीको समिति पनि बनाएका छन् । यसमा अध्यक्ष छन्, तेजबहादुर रावल । ५ वर्षअघिबाट रारामा घोडा व्यवसाय गर्न थालिएको उनले बताए । धेरैजसो बालबालिका विद्यालय जान छाडेर घोडा चलाउन थालेपछि समितिले परिचयपत्र नै बनाएर १८ वर्ष कटेकालाई मात्र चलाउन दिने नियम बनाउन थालेको उनले बताए । ‘आर्थिक अवस्थाले गर्दा बालबालिकाहरू विद्यालय जाँदैनन् । घोडा लिएर रारा पुग्छन्,’ उनले भने, ‘विद्यालयभन्दा घोडा लिएर बढी जान्छन् । दिनहुँ ८/१० जना बालबालिका घोडासँगै रारा पुगेका हुन्छन् ।’ यसलाई रोक्न समिति क्रियाशील हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २१, २०८० ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?