ट्याटु मोह- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्याटु मोह

पछिल्लो समय ट्याटु खोपाउने युवा जमात बढ्दो छ । कतिले यसलाई कलाका रूपमा लिएका छन् भने कतिले फेसन । धेरैजसोले भने आफ्नो नाम तथा देवीदेवता वा आफ्ना प्रिय मान्छेको आकृति खोपाउने गरेका छन् ।
सुजाता मुखिया

काठमाडौँ — सरसर्ती हेर्दा युवा लहड जस्तो लाग्छ, ट्याटु । रहरै–रहरमा युवायुवतीले आफ्ना पाखुरा, गर्दन वा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने गर्छन् । तर, यस्ता ट्याटुको पछाडि निकै रोचक किस्सा र मर्म जोडिएका छन् ।

कतिले आफ्ना शरीरको घाउ–खत लुकाउन त कतिले प्रेम–भाव दर्शाउन ट्याटु खोपाउने गरेको पाइन्छ । आफूलाई आधुनिक पुस्ताको प्रतिनिधि भन्न रुचाउने उनीहरू ट्याटुलाई आफ्नो विद्रोह र स्वच्छन्दतासँग पनि जोडेर व्याख्या गर्छन् ।

कुरा सुरु गरौं, दीपा कार्कीबाट । सुरुमा उनलाई ट्याटु खोप्ने रहर भए पनि के बनाउने, किन बनाउने भन्ने थाहा थिएन । बस्, शरीरको कुनै भागमा ट्याटु खोपाउनु थियो । उनले एउटा हातमा तारा अंकित ट्याटु बनाइन् । तर, यत्तिमा उनको मन अघाएन । दोस्रो पटक उनले आमा र बुबाको नाममा ट्याटु बनाइन् । त्यसपछि फेरि चरा अंकित ट्याटु बनाइन्, जसलाई उनी ‘स्वतन्त्रता र आत्मनिर्भर’ को संकेत भनी अर्थ्याउँछिन् । चौथो ट्याटु खोपाइन्, बायाँ खुट्टामाथि । खासमा दुर्घटनामा परेर भएको घाउमा खत बसेपछि उनले त्यसलाई छोप्न ट्याटु बनाएकी थिइन् ।

भाइटीकाको दिन दाइलाई ‘सरप्राइज दिन’ उनले सोच बनाइन् । उनले दाइ र आफ्नो नाममा ट्याटु खोपाइन् र भाइटीकाको दिनमा देखाइन् । उनी भन्छिन्, ‘ममी, ड्याडीपछि मेरो जीवनको रोल मोडल दाइ नै हुन् ।’ उनी अर्को ट्याटु बनाउने योजनामा छिन्, जसलाई उनले आफ्नो जीवनको अर्को अध्यायसँग जोडेकी छन् ।

आफूलाई ‘ट्याटु लभर’ भन्न रुचाउने अप्सरा तिमल्सिनाले शरीरका विभिन्न भागमा फरकफरक अर्थ बोकेका चार वटा ट्याटु खोपाएकी छन् । याक एन्ड यती होटलमा सेल्स म्यानेजरका रूपमा कार्यरत अप्सराको पहिलो ट्याटु भने आफ्नैबारे हो । जहाँ लेखिएको छ, ‘ड्याडिज गर्ल’ । ‘आफूलाई बुबाको प्यारी भन्न मन लाग्छ । त्यसैले यस्तो ट्याटु खोपाएकी हुँ,’ उनले भनिन्, ‘ट्याटु मान्छेको पहिचान पनि हो । आफू मरेर जाँदा पनि सँगै हुन्छ ।’ उनको अर्को ट्याटु सात चक्रको छ । त्यससँग उनको आस्था जोडिएको छ । ‘पुतली र रंगीन फूलको ट्याटुले भने जीवन रंगीन रहेको बुझाउँछ,’ उनी भन्छिन् ।

उनीहरूको भन्दा फरक कथा छ, प्रसिद्ध पोखरेलको । उनी संगीतका पारखी हुन् । कतिसम्म भने, उनले आफ्नो शरीरमा पुरानो जमानाको क्यासेट प्लेयर अंकित ट्याटु नै बनाए । ‘मैले जसको संगीत सुन्थें, जसलाई रुचाउँथें, उनीहरूमै समर्पित गर्न यस्तो ट्याटु बनाएको हो,’ प्रसिद्ध भन्छन् । संगीतसँगै उनी फोटोग्राफीमा पनि रुचि राख्छन् । त्यसैले उनले अर्को ट्याटु क्यामेराको बनाए । प्रसिद्धलाई यात्रा गर्न पनि मन पर्ने भएकाले उनले तेस्रो ट्याटु हिमालको बनाएका छन् ।

त्यसैगरी डिजिटल मार्केटिङ गरिरहेका प्रविन पोखरेलले आफूलाई संगीतप्रेमी जनाउनका लागि हातमा संगीत अंकित ट्याटु बनाएका छन् । अर्को हातमा भने भगवान् बुद्ध र छातीमा शिवको ट्याटु बनाएका छन् । उनले शरीरभर ट्याटु बनाउने योजना रहेको बताउँछन् ।

कसैले ट्याटु खोपेका छन् भने उनीहरूको आनीबानी, चरित्रमाथि पनि मान्छेले प्रश्नसूचक दृष्टि लगाउने गर्छन् । बाटोमा आफ्नै कामधन्दाले एकसुरमा हिँडिरहेका बेला प्रहरीले समेत होच्याएर सोध्ने गर्थे, ‘के गर्दै छस् ।’ प्रसिद्ध पोखरेलको जवाफ हुन्थ्यो, ‘मास्टर्स गर्दै छु ।’

त्यसबेला उनी स्नातकोत्तर गरिरहेका थिए । जवाफ सुनेर प्रश्न गर्नेहरू नै छक्क पर्थे । यस्तो लाग्थ्यो मानौं ट्याटु खोपेका युवाहरू बरालिएर मात्र हिँड्छन् । उनीहरूको कामधन्दा हुँदैन । पढाइ हुँदैन । ‘अरूलाई भन्दा फरक तरिकाले हेर्न थाल्छन्,’ प्रसिद्ध सुनाउँछन्, ‘कति त बोल्न पनि डराउने ।’

मान्छेको आवरणलाई हेरेर मूल्यांकन गर्ने सामाजिक मनोविज्ञानले गर्दा पनि ट्याटु खोप्नेहरूप्रति नकारात्मक धारणा बनेको उनको बुझाइ छ । पढाइ–लेखाइ नभएका, कामधन्दा नभएका, कुनै व्यावहारिक जीवनमा नपरेका वा जीवनको सुर नै बिगारेकाहरूले ट्याटु खोप्छन् भन्ने मान्छेको बुझाइ छ । ‘तर, ट्याटु भनेको एक किसिमको प्रतिबद्धता र अभिव्यक्ति पनि हो,’ दीपा भन्छिन्, ‘यसले हामीलाई बाँच्न पनि प्रेरित गरिरहेको हुन्छ ।’

कतिपयले ट्याटुलाई कुनै अर्थ वा भावनात्मक अभिव्यक्तिसँग जोडेर होइन, फेसनका रूपमा बुझ्ने गरेका छन् । जस्तो प्रतिष्ठा आचार्यको कुरा गरौं । ग्लोबल कलेजमा बीबीए सातौं सेमेस्टरमा अध्ययनरत प्रतिष्ठा अहिलेको आधुनिक पुस्ताले ट्याटुलाई ‘स्टाइल स्टेटमेन्ट’ का रूपमा लिएको बताउँछिन् । उनी भन्छिन्, ‘उनीहरूलाई ट्याटु नबनाए पछाडि परिने हो कि भन्ने डर भइसक्यो ।’ त्यो डर उनीसँग पनि थियो । त्यसैले त कुनै अर्थ नखोजी उनले ट्याटु खोपाइन् ।

त्यस्तै गरी प्रकृति भट्टराईले ७ वर्षअघि ठमेलमा ड्याडीसँगै गएर ट्याटु खोपाएकी थिइन् । उनलाई ट्याटु बनाउने एकदमै रहर थियो । तर सुरुमा उनको घरमा अनुमति थिएन । पछि ‘कन्भिसन्स’ गरेर ट्याटु खोपाइन् । त्यसबेला जाडोयाम थियो । शरीर ढाक्ने लुगा लगाउँदा ट्याटु छोपिन्थ्यो । अहिले उनलाई त्यो ट्याटु नै बेकार लाग्न थालेको छ । ‘पहिला ट्याटु बनाउने कमै भेटिन्थे, अहिले त सामान्य भइसक्यो,’ उनी भन्छिन्, ‘पछुतो लाग्छ ।’

कति लाग्छ खर्च ?

ट्याटु आर्टिस्ट सन्दीप लामाका अनुसार अहिले ट्याटु खोपाउने जमात बढ्दो छ । कतिले यसलाई कलाका रूपमा लिएका छन् भने कतिले फेसनका रूपमा पनि । ट्याटुमा धेरैले नाम अर्थात् अक्षर खोपाउने, कतिले देवीदेवता वा आफ्ना प्रिय मान्छेको आकृति खोपाउने गरेको उनी बताउँछन् । यो रियलिज्म, थ्रिडी, ज्यामेट्रिक, मण्डला, पोट्रेट आदि शैलीका हुन्छन् । ट्याटु खोपाएको मूल्य ठ्याक्कै यति नै भन्ने नभएको उनी बताउँछन् । ट्याटु आर्टिस्ट र ट्याटुको शैलीअनुसार त्यसको शुल्क फरक हुने गर्छ । सन्दीपका अनुसार सामान्यतः ४ हजार ५ सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म ट्याटु खोपाउँदा खर्च हुन्छ । ट्याटु आर्टिस्टअनुसार यसको मूल्य फरक पर्न सक्छ ।

सुमिनु ट्याटुकी ट्याटु आर्टिस्ट सुमिना श्रेष्ठका अनुसार धेरैले ट्याटु लहडमा नै बनाउने गर्छन् । केटीहरूले सानो–सानो ट्याटु बनाउँछन् भने केटाहरूले ठूलो ट्याटु बनाउने गरेको उनी बताउँछिन् । अहिले किशोर पुस्तामा भने जापानी एनिमेको प्रभाव देख्न सकिन्छ । अहिलेका पुस्ता अर्थपूर्ण ढंगले नै ट्याटु खोपाउन चाहने उनको अनुभव छ ।

ट्याटुको सदियौं पुरानो परम्परा

ट्याटु खोप्ने प्रचलन पुरानै हो । करिब ५ हजार २ सय वर्ष अघिदेखि नै विभिन्न देशको विभिन्न समुदायमा बसोबास गर्ने मानिसहरूले उनीहरूको धार्मिक परम्पराअनुसार प्रचलन रहेको मानिन्छ । भनिन्छ, त्यो बेला प्रेमको चिह्न, सौन्दर्य निखार्न, रोगलाई निको पार्न ट्याटु खोप्ने गरिन्थ्यो । किंवदन्तीअनुसार प्राचीनकालमा राजाका शासकहरूले जनजातिका राम्री युवतीलाई यौन शोषण गर्ने हुनाले आफू कुरूप देखिन ट्याटु खोपाउने गरेको पनि पाइन्छ ।

नेपालको तराईमा बसोबास गर्ने विभिन्न जातजातिमा ट्याटु खोपाउने प्रचलन पुरानै हो । नेवार, तामाङ, थारू आदि समुदायमा ट्याटु खोप्नुलाई संस्कृतिकै रूपमा लिइन्छ । ‘थारू समुदायमा स्त्रीले ट्याटु विवाहपछि खोप्नैपर्छ ।’ थारू संस्कृतिविद् कृष्ण सर्वहारी भन्छन्, ‘यसको पछाडि विभिन्न मिथहरू रहेका छन् ।’ उनका अनुसार पहिले मुसलमानहरूसँग थारूको लडाइँ परेको र ट्याटु खोपेपछि कुरूप भएर थारू महिलालाई आँखा नलागोस् भनेर बनाइन्छ । अर्को, स्वर्गमा पुग्दा आफ्नी श्रीमतीलाई चिन्न सजिलो होस् भनेर पहिचानका लागि बनाइन्छ । त्यसैगरी लोक कलालाई बचाउनुपर्छ भनेर मयूर, हात्ती र घोडा बनाउने प्रचलन रहँदै आएको छ ।

त्यसैगरी नेवारी समुदायमा ट्याटुको छुट्टै महत्त्व छ । महिलाहरूले विभिन्न जात्रामा मसी लगाउने प्रचलन लोकप्रिय छ । समुदायमा खुट्टामा ट्याटु खोप्नु भनेको ‘शक्तिको प्रतीक’ हो ।

'खोपाउँदा सावधानी अपनाउनुपर्छ'

– प्रा.डा. सविना भट्टराई, छाला रोग विशेषज्ञ

पछिल्लो समय ट्याटु फेसन बनेको छ । ट्याटु खोपाउँदा सावधनी अपनाउनुपर्छ, जसले गर्दा यसबाट हुने दुष्प्रभावबाट बच्न सकिन्छ । ट्याटु खोप्नका लागि प्रयोग हुने निडल र रङ कस्तो प्रकारको हो भन्ने कुरा बुझ्नुपर्छ । ट्याटु कत्तिको सुरक्षित ठाउँमा बनाउँदै हुनुहुन्छ त्यो पनि महत्त्वपूर्ण हुन्छ । यसमा प्रयोग हुने रङको दुष्प्रभाव धेरै हुन्छ । एलर्जी हुने, इन्फेक्सन हुने, सुन्निने, खत बस्ने, पूरै भाग खुम्चिएर नराम्रो देखिने यसका दुष्प्रभाव हुन् ।

किलोइड (मासु पलाउने रोग) रोग भएकाले कम्मरमाथिको भागमा ट्याटु खोप्नु हुँदैन । ट्याटु खोपेको भागमा मासु उठेर जान्छ । ट्याटु खोपाउँदा प्रयोग हुने डाईको आफ्नै दुष्प्रभाव छ । यसले छालाको टीबीसमेत गराएको मैले पाएको छु । त्यस्तै, निडलको प्रयोग जथाभावी गर्दा रगतबाट सर्ने संक्रमित रोगहरू सर्न सक्ने जोखिम उत्तिकै हुन्छ । ट्याटुको दीर्घकालीन असर भनेको डाईको रियाक्सन हो । जसले गर्दा ‘ग्रानोलोमा फर्मेसन’ हुन्छ । यसले ट्याटु बनाएको छालामा डल्लो परेर गाँठो परेजस्तो देखिन्छ ।

ट्याटु बनाउँदा निडलको प्रयोग, सरसफाइमा ध्यान दिनुपर्छ । जहाँ पायो त्यही ठाउँमा गएर ट्याटु हान्नु हुँदैन । ट्याटु बनाइसकेपछि नियमित सरसफाइ र एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ । ट्याटु बनाउनुभन्दा पनि मेटाउन झन् खर्चिलो हुन्छ । लेजर प्रविधि एकदमै महँगो हुने भएकाले रंगीन ट्याटु मेटाउन त अझ गाह्रो हुन्छ ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्

मन्दीले व्यवसायी पलायन हुने चिन्ता

पाँच महिनाअघि २५ किलोको १२ सयमा मोटा चामल पाइन्थ्यो, अहिले १३ सय ५० रुपैयाँ पुगेको छ
अर्जुन शाह

धनगढी — बढ्दो महँगीले उपभोक्तासँगै व्यापारी तथा व्यवसायी पनि प्रभावित भएका छन् । व्यवसायीलाई एकातिर बिक्री घटेको चिन्ता छ, अर्कोतिर बैंकको चर्को ब्याजले तनाव दिएको छ । धनगढीस्थित सीताराम डेरीका सञ्चालक सीताराम भट्टले व्यापार स्वाट्टै घटेको बताए । २ हजार ५ सय लिटर दूध बिक्री हुने उनको डेरीमा अचेल एक हजार ५ सय लिटर मात्र बेचिने गरेको छ ।

‘उपभोक्तालाई समस्या परेकै छ, अर्कोतिर हामी व्यवसायी त झन् दोहोरो चेपुवामा छौं,’ उनले भने । व्यापार पनि चौपट हुन थालेको भन्दै उनले चिन्ता व्यक्त गरे । व्यवसाय थेग्न सक्ने अवस्थाबाट बाहिर जान थालेको उनीहरूको गुनासो छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट सात पहाडी जिल्ला बझाङ, बाजुरा, डोटी, अछाम, बैतडी, दार्चुला, डडेलधुराका व्यापारले अधिकांश थोक सामान लिने गर्छन् । विगतमा बिक्री व्यापार गर्न भ्याइनभ्याई हुने धनगढीका व्यापारी अहिले फुर्सदिला झैं देखिन्छन् । निकै चहलपहल हुने धनगढी बजारका पसलहरू पछिल्ला दिनमा सुनसान देखिन्छन् । कोरोना महामारीले बिस्तारै तंग्रिन थालेको व्यापारिक माहोललाई पछिल्लो मन्दीले सताएको व्यवसायीहरू बताउँछन् । ‘कुनै एउटा व्यवसाय मात्रै हैन, हरक्षेत्र प्रभावित भएको व्यापारीहरू बताउँछन् । खाद्यान्न होस् कि लत्ताकपडा, निर्माण सामग्री होस् कि इलेक्ट्रोनिक सबैतिर चौपट अवस्था छ,’ उद्योग वाणिज्य संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले भने, ‘सबै क्षेत्रको व्यापार व्यवसाय चौपट हुनै थाल्यो । पसलहरू बन्द गर्नुपर्ने अवस्था आइरहेको छ ।’ व्यापारीहरूले एकातिर बिक्री घटेको र अर्कोतिर उधारोमा गएको रकम पनि उठ्न नसकिरहेको ओझाले बताए ।

सन्देश हार्डवेयर पसल धनगढी चौराहका सञ्चालक लक्ष्मण शाहले व्यापार व्यवसाय लगभग शून्यमा झर्न थालेको सुनाए । ‘पहिलापहिला दैनिक डेढ दुई लाखको व्यापार हुन्थ्यो भने अहिले दैनिक ५० हजार पनि मुस्किलले पुग्छ । त्यो पनि कति त उधारै जान्छ,’ शाहले भने, ‘बिक्री परिमाण पनि कम भयो र मार्जिन पनि कम हुँदै गयो । अर्कोतिर बैंकको ब्याज भने घट्ने संकेत छैन । यही अवस्था हो भने एक वर्षभित्र धेरै व्यापार व्यवसायी चौपट भएर व्यापार छाड्ने अवस्थामा पुग्दै छौं ।’

बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदरमा वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीले निरन्तर विरोध गर्दै आएका छन् । ब्याजदर वृद्धिको विरोधमा उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा एक साताअघि व्यवसायीहरूले राष्ट्र बैंकमा धर्ना दिनुका साथै बैंक तथा वित्तीय संस्थाहरूलाई पनि दबाबका कार्यक्रमहरू सञ्चालन गरेका थिए । ‘एकातिर आर्थिक मन्दी बढ्दो क्रममा छ । अर्कोतिर बैंकहरूले ब्याज रकम बढाएर १६ प्रतिशतसम्म पुर्‍याएका कारण धान्नै नसक्ने अप्ठेरामा छौं,’ ओझाले भने, ‘व्यापार छैन, ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म पुगेपछि थेग्न सकिने अवस्था नै छैन ।’ असारसम्म त धेरैको घरजग्गा लिलामीमा जाने आइलागेको उनको भनाइ छ । ओझाले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको बताए । राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनका कारण विरोधका कार्यक्रमहरू रोकिएको भए पनि सुनुवाइ नभए पुनः सशक्त बनाउने ओझाको भनाइ छ । आर्थिक मन्दी थेग्न नसक्नाले समग्रमा ५० देखि ८० प्रतिशत व्यापार घटिसकेको उनले बताए ।

मन्दीको असरले मूल्यवृद्धि पनि निरन्तर उकालो लागेको छ । किराना व्यवसायी संघ धनगढीका अध्यक्ष लक्ष्मण पन्तका अनुसार पाँच महिनाको अवधिमा मूल्यवृद्धि पनि निरन्तर उकालोतर्फ छ । पाँच महिनाअघि एक हजार दुई सयमा २५ किलोको बोरामा पाइने मोटा चामलको मूल्य अहिले साढे १३ सय पुगेको छ । मसिनो (मनसुली चामल) एक हजार ६ सयमा २५ किलोको बोरा पाइँदै आएकोमा अहिले दुई हजार एक सय पुगेको छ । पन्तका अनुसार पिठोको मूल्य ५० रुपैयाँ प्रतिकिलोबाट बढेर ६५ भएको छ । दालहरूको मूल्यमा सरदर २० देखि २५ रुपैयाँ प्रतिकिलो बढेको छ । पन्तका अनुसार प्रतिकिलो पाँच सय रुपैयाँ पर्ने जिराको मूल्य अहिले ८ सय पुगेको छ । यस्तै, चिनी ८० मा पाइन्थ्यो अहिले ९० रुपैयाँ पुगेको छ । रातो खुर्सानी ४ सयबाट साढे पाँच सय प्रतिकिलो पुगेको छ । धनियाँ तीन सयबाट बढेर साढे तीन सय भएको छ । चाउचाउलगायत वस्तुको मूल्य बढेको नदेखिए पनि हरेक उत्पादकले पहिलेकै मूल्य कायम गरेर तौल घटाएका छन् । ‘दस रुपैयाँको ९० ग्राम तौलमा आउने बिस्कुटको तौल अहिले ६० ग्राम बनाएको छ,’ पन्तले भने । पन्तले खाने तेलको मूल्य भने तुलनात्मक केही घटेको बताए ।

प्रकाशित : फाल्गुन २९, २०७९ ०७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×