कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

के-पप साम्राज्य

हिमेश

काठमाडौँ — के–पपबारे अचेल हाम्रैतिर पनि धेरै लेखिन्छ, सुनिन्छ र पढिन्छ । सुरु–सुरुमा यो के–पप हो चाहिँ के भन्ने खालका चर्चा हुन्थे । तर अचेल यी त गफका लागि निकै पुराना विषय भइसके ।

के-पप साम्राज्य

पश्चिमेली मिडियामा त अचेल के–पपको कुनै नयाँ गीत तथा अल्बम निस्कनुपर्छ, त्यसको विश्लेषण गर्दै समाचार छाप्ने चलन सुरु भइसक्यो । कुनै नयाँ ब्यान्ड स्थापित हुनुपर्छ, तिनका बारे खुबै खोजी गरेर समाचार छाप्ने दिन पनि आइसके ।

हिजोसम्म हामी के–पप हामीमाझ लोकप्रिय हुन थाल्यो भनेर कुरा गरिरहेका हुन्थ्यौं, अहिले पश्चिमेली संगीत बराबर नै यसको गहिरिएर चर्चा हुने दिन आइसके । के–पपबारे अहिले केही लेख्नुपर्‍यो भने के लेख्ने त ? विषय हजार छन् । त्यसैले केही हजार शब्द खर्चेर के–पपबारे सामान्य चर्चा गर्ने दिन रहेन । यो त ठूलै साम्राज्य बनिसक्यो । यसको अर्बौं डलरको कारोबार हुन्छ । खालि यति बुझौं, यो साँच्चै ठूलै उद्योग भइसकेको छ ।

अनि के पनि बुझ्ने प्रयास गरौं भने तपाईंका किशोरकिशोरी, छोराछोरीको सबैभन्दा मन पर्ने के–पप ब्यान्ड अथवा गायक–गायिका को हुन् ? तिनका कोठामा कुनचाहिँ ब्यान्डको तस्बिर भित्तामा टाँसिएको छ ? हुन सक्छ, सबैभन्दा बलियो सम्भावना, यो ब्यान्ड बीटीएस हुन सक्छ । यो हो, ब्वाइज ब्यान्ड । चिटिक्क देखिने ब्यान्डका ह्यान्डसम सदस्यहरू विशेषतः किशोरीहरूबीच प्रिय छन् । त्यसैले हाम्रा किशोरकिशोरीलाई तिनका लागि सबथोक थाहा छ ।

सजिलो भाषामा भन्दा कुनै समय हाम्रा लागि मनोरञ्जनको मुख्य उपाय भनेको हलिउड बलिउडतिरका सिनेमा, त्यताकै संगीत हुने गर्थ्यो । दिन फेरिए, समयकाल र प्रवृत्ति पनि फेरियो । यो मनोरञ्जनको मेनुमा एउटा नयाँ स्वाद थपिएको दुई दशक जति भयो । हाम्रो दैनिक जीवनमै कोरियाली संस्कृति र परम्परा जोडिन थालेको पनि राम्रै समय भइसक्यो । यो सबैको बानी बसाउने सबैभन्दा मुख्य कारण हो, के–पप । हाम्रा युवा पुस्ता यससँग बिस्तारै अभ्यस्त हुँदै छन् ।

त्यसैले अहिले अन्तर्राष्ट्रिय रूपमै चर्चा हुने गर्छ, के बीटीएसका सदस्यले दक्षिण कोरियामा अनिवार्य सैनिक प्रशिक्षक लिनुपर्छ कि पर्दैन, लिए भने कस्तो हुनुपर्छ । केही समय अगाडि मात्र ब्यान्डका सदस्य जिनले प्रशिक्षक सुरु गरे । यो प्रशिक्षक १८ महिना लामो हुने गर्छ । र, नियमले भन्छ १८ देखि ३० वर्ष उमेरका कोही पनि युवाले यो सैनिक प्रशिक्षक अनिवार्य रूपमा लिनुपर्छ । जति बेला बीटीएसका सबै सदस्यले यो प्रशिक्षण लिनेछन्, त्यो पूरा विश्वका लागि समाचार बन्ने गर्छ । अनि के–पप ब्यान्डका कन्सर्टका टिकट अलिकति महँगो भयो भनेर आउने किशोरकिशोरीको अनुरोध पनि समाचार हुन थालेका छन् । गज्जब छैन त ? नेटफ्लिक्समा सबैभन्दा लोकप्रिय केही छ भने त्यसमा यिनै के–पपसँग जोडिएका सामग्री हुने गर्छन् । भर्खरै जसो हो, अक्सफोर्ड शब्दकोशले २६ नयाँ कोरियाली शब्दलाई

आफ्नो बनाएको छ र ती तिनै गीत हुन्, जसको प्रयोग बारम्बार के–पपमा गीतमा हुने गर्छन् । त्यस अर्थमा के–पपले दक्षिण कोरियालाई सफ्ट पावर बनाएको छ । अनि निचोड के हो भने अहिले पूरा विश्वलाई एउटा बानी पर्न सुरु भएको छ, कोरियाली संगीत, सिनेमा, फेसन, खाना र अरू थोकको । यसलाई अचेल कोरियाली बहार पनि भन्ने गरेको छ । यो बहारबाट पक्कै पनि हाम्रा किशोरकिशोरी मज्जाले छोपिएका छन्, विशेषतः सहरतिरका । कतै तपार्इं पनि यो बहारबाट छुटिनुभएको त छैन ?

के–पपको एउटा ठूलै विशेषता हो, असाध्यै नयाँ–नयाँ प्रयोग । के–पपकै एउटा ब्यान्ड हो, इटर्निटी । त्यसैले तीन महिना जति अगाडि एउटो गीत सार्वजनिक गरेको थियो र यसले पनि लोकप्रियताको सीमै नाघेको थियो । गीत थियो, आई एम रियल । यो ब्यान्डका सदस्यहरू अन्यले जस्तै सबथोक गर्छ, गाउनेदेखि नाच्ने । अझ आफ्ना समर्थकसँग अन्तरक्रिया पनि गर्छ । यो ब्यान्डका सदस्यको संख्या ११ छ अनि यसको मुख्य विशेषता हो, यी सबै अवास्तविक छन् ।

अर्थात् उनीहरू मानव होइनन्, अझ गैरमानव भन्दा हुन्छ । उनीहरू आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगले हामी नै भने जस्तो देखिन्छन् । यहाँनिर स्वाभाविक रूपमा प्रश्न पनि उठ्छ, यस्तो ब्यान्डको आवश्यकता किन पर्‍यो त ? तिनका परिकल्पनाकारहरू भन्छन्, भर्चुअल कलाकारका फाइदा नै अनेक । मुख्य त यी अमानवलाई सामान्य मानवलाई जस्तो तनाव नै हुन्न । तिनको शारीरिक सीमितता पनि हुन्न । सबैभन्दा मुख्य कुरा उनीहरू स्वतन्त्र छन्, आफूखुसी ।

यो त भयो, एक प्रकारले अपेक्षित उत्तर । यसको कारण गम्भीर भएर विश्लेषण गर्ने हो भने खास तथ्य पनि बाहिर आउन गर्छ । यो हो के भन्दा अब त के पपको व्यापार अर्बौं डलरको भइसक्यो, यसलाई जीवन्त राख्न केही न केही नयाँ गरिरहनु नै पर्छ । यसरी गैरमानवको प्रयोगबाट ब्यान्ड बनाउने उपाय त सुरुआत मात्रै हो, के–पपबाट भविष्यमा के कस्तो नयाँ आउनेछ, त्यसबारे कल्पना गर्न पनि गाह्रो हुनेछ । त्यस्तै, ब्ल्याकपिंक, ट्वाइस, विगब्याङ्ग, गर्ल्स जेनेरेशन, सेभेन्टिन, रेड भेल्भेट लगायतका के–पप ब्यान्ड कोरियामा मात्रै होइन, विश्वमै निकै चर्चित छन् । कम्तीमा सबैले एउटा गीतबारे त धेरै सुनेकै हुनुपर्छ र त्यो हो, गंगनम स्टाइल । साइको त्यो गीतले युट्युबमा भ्युजको कीर्तिमान नै राखेको थियो । यो सबै कुरा अलिकति पुरानै भइसक्यो, तर यसमा टिकेर के–पपको इतिहास सुनाउन सजिलो भने हुन्छ । गंगनम स्टाइलको लोकप्रियता नेपालमै पनि असाध्यै रह्यो । के–पपको पुरानो नाम हो, गायो । आफैंमा यो कस्तो हुन्छ त ? यसको ठ्याक्कै यही स्वरूप भने हुन्न । यो रकदेखि हिपहप, ज्याजदेखि कन्ट्री जे पनि हुन सक्छ । खालि सर्त हो, यो कोरियाली शैलीमा हुनुपर्छ । त्यसैले त के–पप । अर्थात् कोरियाली पप । त्यसै पनि हाम्रोतिर पनि सन् नब्बेको संगीतको मज्जै बेग्लै भन्नेहरू धेरै छन् । यही समयबाटै त हो, के–पपले सुरुआती लोकप्रियता लिन सुरु गरेको । त्यति बेला यसको प्रमुख कारण थियो, नितान्त बेग्लै शैली, त्यसलाई सुन्दा आउने बेग्लै अनुभव । नाच्नलाई पनि साह्रै सुहाउने ।

लोकप्रिय हुन चाहिने तत्त्व भनेका यिनै त हुन् । के–पप ठ्याक्कै संगीतमै मात्र पनि सीमित छैन । यसमा प्रविधिको उत्तिकै प्रयोग छ । अझ त्योभन्दा पनि बढी निर्णायक त यससँग जोडिएको फेसन नै हो । यी सबैले सबैभन्दा पहिले आकर्षित गर्ने भनेकै किशोरकिशोरीलाई नै हो । अचेल के–पप मात्र होइन, त्यससँगै जोडिएर दक्षिण कोरियाका अरू थोक पनि लोकप्रिय हुन थालेका छन् । त्यसमा कोरियाली नाटकहरू पनि पर्छन्, यसलाई त हो कोरियाली बहार भन्ने गरेको ।

र, यो पनि । के–पपको चमकधमकबारे हामी जत्ति सुन्छौं, यो नै सबथोक भने होइन । यसमा खालि राम्रै राम्रा कुरा मात्र पनि त छैनन् । सबैलाई थाहा छ, मनोरञ्जनको विश्व बाहिरबाट जति चम्किलो देखिन्छ, त्यो त्यत्तिकै खुसी नै खुसीले भरिएको भने हुन्न । अझ सके त्यसमा तनाव नै तनाव हुने गर्छ । के–पप पनि यस सत्यबाट टाढा छैन । त्यसैले त केही वर्ष भयो, के–पपका केही ठूला नामले सबैलाई स्तब्ध पार्दै आत्महत्या गरेको ।

यसको एउटा प्रमुख कारण कमै उमेरमा चर्चाको शिखरमा पुग्नु, तर त्यसलाई उत्तिकै कम समयमा गुमाउनु पनि । के–पपका कोही पनि स्टार ३० वर्ष पुग्दा नपुग्दै उनको लोकप्रियता कम हुन थाल्छ । उनीहरूको स्थानमा अरू नै आइपुग्छन् र तिनले उनीहरूलाई विस्थापन गर्छन् । अब पुराना अनुहारलाई हराउन कति नै समय लाग्छ र ? फेरि के–पपमा स्टार बन्नका लागि कलिलो समयमै सुरु गर्ने यात्रा आफैंमा निकै कठिन छ ।

जति सफल देखिन्छन्, तिनीहरू त्यसको एउटा सानो अंश नै हुन्छ । अझ भनौं, असफल हुने नै बढी हुन्छन् । अझ सामाजिक सञ्जाल मात्र होइन, परिवारबाट आउने दबाब अति हुन्छ । बाहिरबाट जे जस्तो सोचेर यो क्षेत्रमा हाम फाल्छन्, त्यो उनीहरू सोचे जस्तै हुन्न । त्यसपछि तिनीहरूले आफू अगाडिको सबथोक अँध्यारो देख्न थाल्छन् । निराश हुन्छन् । अब त केही हुन सक्ने सोच्छन् । तर यसको अर्थ के–पपमा खालि खराब मात्रै छ भन्ने पनि पटक्कै होइन । यो धेरै राम्रो पनि छ ।

प्रकाशित : फाल्गुन २६, २०७९ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?