आशासँग मोहनको युगल

आश्विन ६, २०८१

कान्तिपुर संवाददाता

Mohan's couple with Asha

विराटनगर — भारतीय गायिका आशा भोसलेको नेपाली संगीतसँगको साइनो नयाँ होइन । उनलाई नेपाली संगीतमा जोड्ने श्रेय जान्छ, लिजेन्ड संगीतकार रञ्जित गजमेरलाई । गजमेरले संगीत भरेका दर्जनौं गीतमा आशाको स्वर सुन्न सकिन्छ ।

आशाले एकल मात्रै होइन, आधा दर्जनभन्दा बढी नेपाली गायकसँग युगल गीत पनि गाएकी छन् । स्वर सम्राट नारायण गोपालदेखि प्रेमध्वज प्रधानसम्म र उदितनारायण झादेखि प्रकाश श्रेष्ठसम्म । 

आशासँग युगल गीत गाउन पाउनु नेपाली संगीतमा दुर्लभ मानिन्छ । त्यस्तै दुर्लभ अवसर पाएका छन्, काठमाडौंमा संघर्षरत इलामेली गायक मोहन रार्ईले । फिल्म ‘चिनो’ मा ‘मोहनी लाग्ला है’ र ‘तिम्रो मनमा लुकेको कुरा’ दुई गीतमा नारायण गोपालसँग गाएकी आशाले ‘लाहुरे’ मा ‘पहाडको माथिमाथि’ मा पनि सहकार्य गरिन् । प्रेमध्वजसँग फिल्म ‘मायालु’ मा ‘टाढा भै गयौ फेरि’, प्रकाशसँग ‘कन्यादान’ को ‘यति धेरै माया दियौ’ र ‘चेलीबेटी’ को ‘तिम्रो आँखाको सागरमा’ सहकार्य गरिन् । उदितनारायणसँग उनले करिब तीन दशकअघि ‘ज्वाला’ फिल्ममा ‘आज हाम्रो भेट भाको दिन’ गाएकी थिइन् । 

९२ वर्षीया आशाले पछिल्लो समय गायक मोहनसँग ‘यो हाम्रो माया’ बोलको गीतमा स्वर दिएकी छन् । यो गीतको रचना भने नेपाल प्रहरीका एआईजी टेक तामाङले गरेका हुन् । संगीत भरेका छन्, रञ्जित गजमेरले । उनलाई बलिउडमा ‘कान्छा’ उपनामले पुकारिन्छ । यी मादल उस्ताद आशाका पति राहुल देव (आरडी) वर्मनका निकट मानिन्छन् । गत साता भारतीय गायक कैलाश खैरको मुम्बईस्थित कैलाशा स्टुडियोमा ८४ वर्षीय संगीतकार गजमेरले आफ्नो संगीतमा आशा र मोहनलाई गवाएका हुन् ।

‘आशा भोसलेसँग गाउन पाउनु मेरा लागि गर्वको क्षण हो,’ गायक राईले भने, ‘यो दुर्लभ अवसरको भागीदार बन्न पाउँदा मेरो त भुइँमा खुट्टा छैन ।’ मोहनले गृह जिल्लावासी पूर्वप्रधानमन्त्री झलनाथ खनाल, छिमेकी सिक्किमका पूर्वमुख्यमन्त्री डा. पवन चाम्लिङ, नेता वामदेव गौतमलगायतको रचनामा गीत पनि गाइसकेका छन् । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले २०७१ मा उनको पहिलो एल्बम विमोचन गरेका थिए । ‘मायाको खेल’ र ‘कस्तो सपना ?’ पछि उनी तेस्रो एल्बमको तयारीमा जुटेका छन् ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully