टेलरको बहुचर्चित टुर

नयाँ एल्मबसहित ‘एराज’ टुरमा निस्केकी टेलर स्विफ्टले आफूलाई यसरी प्रस्तुत गरिरहेकी छन्, जुन एकातर्फ पुरानो इतिहास र अर्कोतर्फ नयाँ भविष्य बन्नेछ । अहिले विश्व संगीतमा केहीको बढी चर्चा भइरहेको छ भने स्विफ्टको यही टुरको । उनका समर्थक निकै खुसी छन्, अनि मिडियामा पनि उत्तिकै चर्चा छ ।
हिमेश

काठमाडौँ — टेलर स्विफ्ट फेरि एकपल्ट टुरमा निस्केकी छन्, त्यो पनि ६ वर्षपछि । विश्वास नहुन सक्छ, उनको अन्तिम टुर सन् २०१८ मा थियो । यस समयबीच उनी खाली स्टुडियोमै मात्र व्यस्त रहिन् । स्विफ्ट पनि कन्सर्ट भनेपछि हुरुक्कै हुने खालकी हुन् । तर किन हो किन, बाहिर निस्केर खुला हावामा गाउने साइत भने जुरिरहेको थिएन । यसको एउटा ठूलो कारण त, कोरानो संक्रमणको महामारी र त्यसै कारण भएको लकडाउन पनि थियो ।


उनको अहिलेको टुर पछिल्लो शुक्रबार मात्र सुरु भएको हो, त्यसको पहिलो कन्सर्ट एरिजोनाको स्टेट फार्म हाउसमा भएको थियो । यो यही स्टेडियम हो, जहाँ एक महिना अगाडि सुपर बउलको खेल भएको थियो । आइतबार फेरि त्यही स्टेडियममा दोस्रो कन्सर्ट पनि राखिन् । टुरको नाम रहेको छ, ‘एराज’ । अर्थात् युगहरू । स्विफ्टको अब नयाँ निस्कने एल्बम हुनेछ, ‘लभर’ । अब टुरमा यसकै गीत बढी गाइनेछ, एल्बमको प्रचारका रूपमा पनि ।

तर यो टुरको विशेषता यही भने होइन । अहिलेसम्म उनका १० अल्बम निस्के, त्यसमध्ये टुरका क्रममा सबैको प्रतिनिधित्व गरिनेछ । पहिलो कन्सर्टपछि ३३ वर्षीया अमेरिकी गायिका तथा गीतकार केही भावुक पनि बनिन् । अलिकति अन्योल पनि देखिइन् । उनको भनाइ थियो, ‘म अहिले के कस्तो अनुभव गरिरहेकी छु, त्यो भनै सक्दिनँ ।’ कन्सर्टको साढे तीन घण्टामा आफ्ना ४४ गीत गाइन् । सबै गीत पूरा भने गाइनन् । यसअघिका तीन एल्बमका लागि उनले कन्सर्ट नै गरिनन् ।

नोभेम्बरमा सबैलाई आश्चर्यमा पार्दै एकाएक यो टुरको घोषणा गरेकी थिइन् र यसको नाम पनि सुनाएकी थिइन्, त्यही ‘एराज’ । यस्तो नाम किन त ? उनकै भनाइमा, टुरका क्रममा स्विफ्टले आफूलाई यसरी प्रस्तुत गर्नेछिन्, जुन एकातर्फ पुरानो इतिहास हुनेछ, अर्कोतर्फ नयाँ भविष्य पनि हुनेछ । अहिले विश्व संगीतमा केहीको बढी चर्चा भइरहेको छ भने स्विफ्टको यही टुरको भइरहेको छ । उनको समर्थक पनि खुसी नै छन्, मिडियामा पनि मस्त चर्चा छ ।

खासमा गीतको मज्जा त्यति बेला बढी हुने गर्छ, जति बेला आफूलाई मन परेको गायक अथवा गायिकाले ‘लाइभ’ गाइरहेको हुन्छ । दोस्रो कन्सर्टसम्म आइपुग्दा स्विफ्ट नयाँ चुनौतीलाई लिएर अभ्यस्त पनि देखिइन् । त्यसैले उनको अनुहारमा केही खुसीको अंश पनि देखियो, पहिलो कन्सर्टको तुलनामा । त्यसै क्रममा उनले भनिरहेकी थिइन्, ‘प्रत्येक कन्सर्टमा केही न केही नयाँ गर्ने योजना छ । सायद तुरुन्त तुरुन्तै म एउटै गीत दोहराएर गाउने पनि छैन । त्यसको अर्थ के भने प्रत्येक कन्सर्ट यसअघिको कार्यक्रमभन्दा फरक हुनेछ ।’

विश्वास गरौं, त्यस्तै हुनेछ र यो त उनका समर्थकका लागि मिठो उपहार नै हो । एक थोक भने समान हुनेछ । फेरि त्यही पहिलो कन्सर्टमा फर्कन हो भने, त्यसको अन्त्य भएको थियो, ‘कर्मा’ गीतबाट । अर्थात् कर्म । उनी प्रत्येक कन्सर्ट यही गीतबाट टुंग्याउन योजनामा छिन् । यो गीत उनको पछिल्लो अल्बम ‘मिडनाइट्स’ बाट हो । अक्टोबर २१ मै मात्र रिलिज भएको हो । गीत के एकपल्ट जारी भयो, यो रातारात चर्चित भयो, सफल रह्यो ।

व्यावसायिक रूपमा पनि यो उत्तिकै अब्बल रह्यो । अमेरिकामै पनि यो गीत लगभग तुरुन्त जस्तै शीर्ष १० भित्र आरामले परेको थियो । यो गीतको लेखनमा स्विफ्टको मात्र हात छैन, उनलाई यस काममा उनका केही खासखास साथीहरूले मद्दत पनि गरेका छन् । विशेषतः ज्याक एटोनोफले । पश्चिमेली विश्वमा कर्म शब्द खुबै चर्चित छ, अचेल । बौद्धधर्मको सबैभन्दा ठूलो सिद्धान्त हो, कर्म । यसअनुसार जसले जे गर्छ, ठीक त्यस्तै नियति त हुन्छ ।

सायद स्विफ्टलाई पनि बौद्धधर्ममा केही न केही आस्था छ । त्यसो नभए, कम्तीमा कर्मको सिद्धान्तमा त विश्वास छ । त्यसैले उनले कर्म शब्दमा खेल्न थालेको अहिले होइन । सन् २०१४ मा उनको पाँचौं अल्बम निस्केको थियो र यसको नाम थियो, ‘१९८९’ । यो पनि व्यावसायिक रूपमा सानदार ढंगले सफल रह्यो । आलोचकले पनि मन पराए । तर उनी यसै क्रममा लगातार विवादमा पनि परिन्, धेरैसँग विवाद पनि गरिन्, परे झगडा पनि गरिन् ।

सन् २०१६ आइपुग्दा नपुग्दै उनी यस्ता विवाद, व्यर्थका चर्चाबाट आजित भइन् । अनि एक अन्तर्वार्तामा भनिन् पनि, ‘कर्म साँच्चै हुँदो रहेछ ।’ एक प्रकार यसबीच उनको व्यक्तिगत जीवन पनि निकै उतारचढावबाट गुज्रेको थियो । स्थिति कस्तोसम्म भयो भने स्विफ्टले सामाजिक सञ्जालबाटै अलग हुने घोषणा गरिन् । सन् २०१७ मा उनको नयाँ अल्बम आयो, ‘रेपुटेसन’ नामले । त्यसमा एउटा गीत छ, ‘लुक ह्वाट यु मे मि डु’ नामले ।यो गीतमा पनि कर्म शब्द प्रयोग भएको छ । अब त पूरापूर गीतकै नाम रहेको छ, ‘कर्मा’ ।

रोलिङ स्टोन पत्रिकाले यसलाई सन् २०२२ कै सर्वाधिक उत्कृष्ट गीतमध्ये एक मानेको छ । अझ केहीले त यसलाई स्विफ्ट अहिलेसम्मकै कोसेढुंगा गीत हो पनि भनेका छन् । उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, स्विफ्टमा पछिल्लो समय धेरै परिवर्तन आएको छ, विशेषतः उनका धार्मिक आस्था केही हदसम्म फेरिएको छ ।

एक समय उनी निकै धार्मिक थिइन्, विशेषतः किशोर उमेरमा । समयसँगै उनी पनि फेरिन् र यसकै एउटा उदाहरण त हो, ‘फल्स गड’ गीत । स्विफ्ट पक्कै पनि पूर्ण बौद्धमार्गी भएकी छैनन् । सायद हुने पनि छैनन् । तर उनलाई कर्मको सिद्धान्तमा बेजोडले विश्वास हुन थालेको छ । यी त भए, उनको केही निजी कुरा । एक गायिका तथा गीतकारका रूपमा उनी अब्बल दर्जाकी छन्, यसमा कुनै शंका छैन । यसो हुँदैन थियो त, उनका २० करोडभन्दा बढी रेकर्ड बिक्री हुने थिएनन् ।

त्यसैले उनी पश्चिमेली संगीतका खुबै चल्तीका स्टार हुन् । फेरि अनुहार पनि त हिस्सी परेको छ । अझभन्दा सुन्दर भनौं । विशेषतः आँखा मनमोहन छन् । त्यसैले अहिलेको आधुनिक समाजमा उनको जबरजस्त प्रभाव पनि छ । फेरि उनको अहिलेको टुरमै फर्कने हो भने यसको नामैले सबथोक भनिरहेको छ, युगहरू । यी युगमा समय र अनुभवसँग स्विफ्ट धेरै फेरिएकी छन् । यो यस्तो टुर हो, जसले स्विफ्ट कसरी फेरिइन्, त्यसको कथा भनिरहनेछ ।

प्रकाशित : चैत्र ९, २०७९ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

अमेरिकामा फेरि बढ्यो ब्याजदर 

दुई बैंक बन्द भइसक्दा पनि फेडले बढायो ब्याजदर
एजेन्सी

काठमाडौँ — उच्च ब्याजदरले समस्या निम्त्याएकै कारण सिलिकन भ्याली र सिग्नेचर बैंक बन्द भएको विश्लेषण भइरहँदा समेत अमेरिकी केन्द्रीय बैंक (फेड)ले फेरि ब्याजदर बढाएको छ । बैंकले सन्दर्भ ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढाउने निर्णय गरेको हो ।

बैंकको फेडरल ओपन मार्केट कमिटीले मौद्रिक नीतिका लक्ष्य प्राप्तीलाई गहन रुपमा अध्ययन गरी सन्दर्भ ब्याजदर बढाइएको जनाएको छ । अब अमेरिकी केन्द्रीय बैंकको सन्दर्भ ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्म कायम भएको छ । यसअघि यस्तो दर ४.५० देखि ४.७५ प्रतिशतसम्म थियो । अमेरिकाको हालको ५ प्रतिशतसम्मको सन्दर्भ ब्याजदर १७ वर्षयताकै उच्च हो । यसअघि सन् २००६ को जुलाइमा पनि ५ प्रतिशत थियो ।

फेडले मौद्रिक नीतिमार्फत मूल्यवृद्धिलाई २ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ । यद्यपि २०२३ अन्त्यसम्म ३.३ प्रतिशतसम्म यो दर कायम रहने प्रक्षेपण छ । हाल बढेको ब्याजदरले मूल्यवृद्धि नियन्त्रणमा प्रभावकारी काम गरेको ठहर गर्दै कमिटीले ब्याजदर पुनः वृद्धि गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर वृद्धिपछि कमिटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'अमेरिकी बैंकिङ प्रणाली बलियो र लचिलो छ, अब आगामी दिनमा पर्ने प्रभावलाई कमिटीले नजिकबाट हेरेर मौद्रिक नीतिमा पर्न सक्ने प्रभावलाई मूल्यांकन गरी सोअनुरुपको दिशानिर्देश गर्नेछ ।'

फेडका अध्यक्ष जेरोम पावेलले ब्याजदर वृद्धि अब अन्तिम चरणमा रहेको बताएका छन् । उनको यो भनाइलाई यसपछिका दिनमा ब्याजदर नबढ्नेका रुपमा विश्लेषण गरिएको छ । मूल्यवृद्धि तत्कालै नभई लामो अवधिमा २ प्रतिशतको सीमामा ल्याउने लक्ष्य रहेको उनले टिप्पणी गरेका छन् । यसअघि सन्दर्भ ब्याजदर ०.५० प्रतिशतसम्म वृद्धि गर्ने तयारी रहे पनि अन्ततः ब्याजदरले नै समस्या पारेर दुई बैंक बन्द भएपछि फेड लचिलो भई ०.२५ प्रतिशत बिन्दुमा झारिएको अधिकारीहरुको भनाइ छ । बैंकहरुले ठूलो रकम यसअघि कायम भएको न्यून ब्याजदरको ऋणपत्रमा लगानी गरेका छन् । ब्याजदर बढ्दा स्टक मार्केटसँगै ऋणपत्रको मूल्य समेत घट्न जान्छ । जसले गर्दा तरलता व्यवस्थापनमा बैंकलाई समस्या पार्ने अधिकारीहरुले व्याख्या गर्दै आइरहेका छन् ।

प्रकाशित : चैत्र ९, २०७९ १०:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×