कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

चरामोह

पछिल्लो समय पोखराका विद्यार्थी शनिबार तथा बिदाको दिन पारेर चरा अवलोकनमा निस्कन्छन् । बर्ड कन्जर्भेसन नेपालको सहयोगमा वन विज्ञान क्याम्पसका विद्यार्थी नियमित चरा अवलोकनका लागि जाने गरेका छन् ।
अनिश भट्टराई

गण्डकी — जपानका मासाफुमी नाकामुरा बर्सेनि जस्तो नेपाल आइरहन्छन् । उनी नेपाल आउनुको तात्पर्य घुम्नु मात्र होइन । नेपाली आकाशमा उड्ने विभिन्न प्रजातिका चरा हेर्न उनलाई असाध्यै मन पर्छ । मासाफुमी मात्र होइन उनका दाजु तादामासा पनि सँगै चरा अवलोकनका लागि नेपाल आउँछन् ।

चरामोह

जापानको राजधानी टोकियोमा ट्राभल कम्पनी चलाउने नाकामुरा दाजुभाइ अन्य पर्यटकलाई पनि सँगै लिएर आउँछन् । अनि, नेपालमा गाइड खोजेर चरा अवलोकन गराउँदै पदयात्रामा निस्कन्छन् । नेपाल टेक्नासाथ नाकामुरा दाजुभाइसँगै १२ जनाको टोली पोखरा आइपुगेको छ । उनीहरूले फेवाताल किनारको रानीवनमा चरा अवलोकन गरेपछि धम्पुस जाने योजना बनाएका छन् । धम्पुसमा पाइने चरा पनि हेरेपछि भने उनीहरू चितवन ओर्लने छन् । नेपालका चराहरू बढी रंगीन भएकाले मन पर्ने नाकामुरा दाजुभाइ बताउँछन् ।

चरा अवलोकनलाई मासाफुमी जीवनको गतिशीलतासँग तुलना गर्छन् । टक्क अडिएको चरा एक निमेषमै उडेर अन्यत्र चलिदिन सक्छ । त्यसरी नै आफ्नै गतिमा बगिरहेको जीवन पनि कुनै घटनापछि धार फेर्न सक्छ, बाटो मोडिइन सक्छ । यसैले चरा अवलोकनलाई जीवन हेर्ने आँखीझ्याल मान्छन्, नाकामुरा । नाकामुरा दाजुभाइ चरा अवलोकनमा लागेको झन्डै ४ दशक भयो । यतिका दशक बितिसक्दा पनि उनीहरूको धीत मरेको छैन । झन् बढ्दो छ । यसैले उनीहरू पटकपटक नेपाल यात्रा गर्छन् । नेपालका डाँडा चढ्छन् ।

मासाफुमीले जीवनभर करिब सयभन्दा बढी प्रजातिका चरा देखिसकेका छन् । तर उनीहरू दुवैलाई एउटा चाहना छ, डाँफे हेर्ने । दशकौं नेपाल आएर पनि उनीहरूले नदेखेको एक मात्र चरा डाँफे नै हो । भन्छन्, ‘डाँफेको रंगीन चकचक हेर्न मन छ ।’ यी दाजुभाइको टोलीमै सामेल भएर पहिलो पटक नेपाल आएकी छन्, नियोरी कातो । ३३ वर्षीया कातो जापानमा विज्ञापन एजेन्सीमा कन्टेन्ट लेखकका रूपमा काम गर्छिन् । दुई साताको बिदा लिएर कातो नेपाल आएकी हुन् । चरा अवलोकनका लागि उनले गरेको पहिलो अन्तर्राष्ट्रिय यात्रामा नेपाल आएकी उनी पोखरामा चरा हेर्दै मोहित देखिइन् । कातो पनि नाकामुरा दाजुभाइको ट्राभल एजेन्सीबाट नेपाल यात्राबारे थाहा पाएपछि आएकी हुन् । नेपालमा धेरै चरा देख्न सकिने सुनेपछि उनी नेपाल हानिइन् ।

चार वर्षयता चरा अवलोकनमा लागेकी कातो चराले आफूलाई संसार हेर्ने नजर नै परिवर्तन गरिदिएको बताउँछिन् । ‘एक दिन मैले किंगफिसर देखें, मलाई एकदमै राम्रो लाग्यो र म बर्ड वाचिङमा लागें,’ उनी स्मृतिमा पुग्छिन्, ‘त्यसअघि मैले केवल मान्छे र जनावरको संसार ठान्थें । त्यसपछि मात्रै म चरा, रूख, माछाको पनि संसार देख्न थाले ।’ विदेशी पर्यटकहरूले खासगरी कास्कीका रानीवन, फेवा किनार, दोबिल्ला, मेथलाङलगायत स्थानमा चरा अवलोकन गर्छन् । तर पछिल्लो समय भने विदेशीसँगै स्वदेशी विद्यार्थी पनि शनिबार तथा बिदाको दिन पारेर चरा अवलोकनका गर्ने गरेका छन् ।

बर्ड कन्जर्भेसन नेपालको सहयोगमा वन विज्ञान क्याम्पसका विद्यार्थी प्रत्येक शनिबार चरा अवलोकनका लागि जाने गरेका छन् । घाँटीमा बाइनोकुलर झुन्ड्याएर उनीहरू बिहानै लस्करै निस्कन्छन् । गन्तव्यसम्म हिँडेरै पुग्छन् । बिहानै ६ बजे क्याम्पसमा जम्मा भएर तोकिएको गन्तव्यसम्मै चरा हेर्दै, चराबारे जानकारी लिँदै हिँड्छन् । चरा अवलोकनले एक त उनीहरूलाई चराबारे इच्छुक र जिज्ञासु बनाएको छ, अर्कोतर्फ कक्षाकोठामा किताबमा पढ्नुपर्ने चराबारे आफैंले हेरेर, देखेर जान्ने बनाएको छ ।

वन विज्ञान क्याम्पस, टुटुंगामा दोस्रो सेमेस्टरमा अध्ययनरत समीक्षा पराजुलीलाई क्याम्पसबाट अवलोकनमा जानुअघि चराका बारेमा केही थाहा थिएन । चरा देख्थिन्, तर चराले उनका लागि केही अर्थ बोक्दैनथे । तर अहिले उनलाई चरा हेर्न जान एकदमै रहर लाग्छ, उनी प्रायः गइरहन्छिन् । हालसम्म उनले ३० भन्दा बढी प्रजातिको चरा देखेकी छन् । देखेका चराबारे डायरीमा टिप्छिन् र ती चराबारे घरमा गएर पनि अध्ययन गर्छिन् । चरासँगै उनलाई रूख चिन्दै हिँड्न पनि उत्तिकै रोचक लाग्छ । ‘फरेस्ट्री पढ्न आउनुअघि मलाई मतलबै लाग्दैनथ्यो । अहिले बाटोमा कुनै चरा देख्दा पनि कुन चरा होला, पोखरामा कति होलान् यस्ता चरा भन्ने भाव आउँछ,’ समीक्षा भन्छिन् ।


बर्ड वाचिङका लागि नेपाल आएको जापानी टोली, बर्ड वाचिङपछि सामूहिक तस्बिर खिचाउँदै विद्यार्थीहरू । तस्बिर : बीसीएन

वन विज्ञान क्याम्पसमै अध्ययनरत सुन्दर वली पनि ६ वर्षयता चरा अवलोकनमा सक्रिय छन् । सुरुमा उनलाई एकदमै पट्यार लाग्थ्यो । तर बिस्तारै रस पस्दै गयो । पहिलो पटक चरा अवलोकनका लागि काठमाडौंको भीमढुंगा पुगे । अहिले प्रत्येक साता उनी चरा अवलोकनका लागि साथीसँग निस्कने गरेका छन् । ‘बिहानै उठेर चरा हेर्दै हिँड्दा फ्रेस पनि भइन्छ र चराबारे थप जान्दै पनि गइन्छ,’ उनी भन्छन् । उनी चरा अवलोकनका लागि अपुभन्ज्याङ, निर्मलपोखरी, पामेतिर जाने गरेका छन् । मान्छेकै कारण चराले अनायासै ज्यान गुमाउनुपरेकामा भने आफूलाई दुःख लाग्ने बताउँछन् उनी ।

पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे पोखरामा चरा पर्यटनको लहर बढ्दै गएको बताउँछन् । विद्यार्थीसँगै विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिहरू पनि रमाइलोका लागि चरा हेर्न निस्कने गरेका उनले बताए । ‘अवलोकन गर्दै हिँड्दा चराप्रतिको मोह बढ्छ, यसले चरा संरक्षण गर्नुपर्छ भन्ने भावना पनि विकास गरेको छ,’ घिमिरेले भने । हरेक शनिबार आयोजना गरिने चरा अवलोकनमा औसत ४० जना सहभागी हुने गरेको उनले जनाए । घिमिरेका अनुसार पोखरा आउने करिब ८ प्रतिशत विदेशी पर्यटक चरा अवलोकनमा जान्छन् । नर्वे, जापान, जर्मनी, अमेरिका, बेलायतबाट चरा हेर्न आउने पर्यटकको संख्या बढी छ ।


अध्यक्ष घिमिरेका अनुसार पोखरा वरपर हाल ४ सय ८६ प्रजातिका चरा पाइन्छन् । २०१९ को अन्त्यमा पोखरामा ४ सय ६७ प्रजातिका चरा रहेकोमा पछिल्लो समय यो संख्या बढेको हो । पोखरामा टाइगर माउन्टेन लजले पोखरा बर्ड सोसाइटीसँग मिलेर बर्सेनि पानी चराको पनि गणना गर्ने गरेको छ । नेचर गाइड झलक चौधरीका अनुसार २००४ देखि लजले पानी चराको गणना थालेको हो । पछिल्लो पटक गरिएको गणनाअनुसार पोखरामा २ हजार ६३४ पानी चरा छन् । ५३ प्रजातिका पानी चरा पोखराका ताल तथा सिमसार क्षेत्रमा पाइन्छन् । पानी चराको संख्या भने २ वर्षयता घट्दो देखिन्छ । पानी चराको गणनाअनुसार पोखरामा २०२१ मा ४६ प्रजातिका २ हजार ८५ चरा भेटिएका थिए । २०२२ मा ४८ प्रजातिका ३ हजार ८ चरा भेटिएकामा २०२३ मा यो संख्या २ हजार ६ सय ३४ मात्र छ ।

पानी चराको संख्या यकिन भए पनि सहरी भेगमा पाइने चराको संख्या यकिन गर्न सम्भव देखिँदैन । तर सहरमा देखिने चराको दरअनुसार सहरी भेगका चराको संख्या भने घट्दो रहेको आईयूसीएनका गिद्ध विज्ञ पनि रहेका पन्छी समाजका हेमन्त ढकालले बताए । सहरमा बनाइएका संरचनाहरू पन्छीमैत्री नहुँदा चराको संख्या घटिरहेको हो । तर आम जनतामा चरामोह भने बढ्दो रहेको उनको अनुभव छ । ‘दशकअघिसम्म त गुनेली लिएर चरा मार्दै हिँडेको देखिन्थ्यो, अहिले त्यस्तो छैन । चरामोह बढेको छ,’ ढकालले भने ।

प्रकाशित : चैत्र ८, २०७९ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?