जसिता र धिरजको रोमान्टिक ‘कथा’

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाख तेस्रो साता रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को सामग्रीले दर्शकलाई एकपछि अर्को रूपमा सरप्राइज दिइरहेको छ । फिल्मको फस्टलुक सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै बढेको छ । यसले, फिल्मको निर्माण पक्षमा दबाब सिर्जना गरिरहेको छ ।

टिजर र फस्टलुक पोस्टरपछि फिल्मको निर्माण पक्षले पहिलो गीत पनि सार्वजनिक गरेको छ । ‘कथा’ बोलको गीत आइप्लेक्स मलमा रहेको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकारद्वय धिरज मगर र जसिता गुरुङले उक्त गीतमा नृत्यसमेत गरेका थिए । गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ । भिडियोमा मुख्य कलाकारद्वय धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरू गीतमा केही रोमान्टिक देखिएका छन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । फिल्मलाई डान्स ड्रामा भनिएको छ ।

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रभुशमशेर जबरा र प्रज्वलशमशेर जबरा छन् । फिल्ममा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बाँस्कोटाको संगीत छ । कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ वर्ष समय दिएको र फिल्मका लागि गरेको मिहिनेत सम्झँदा पनि खुसी लाग्ने बताइन् ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

ब्रिटिस अभिनेत्री क्लार्कको खुलासा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१९ मा आजकै दिन (मार्च २१) मा ब्रिटिस अभिनेत्री एमिलिया क्लार्कले आफूलाई मस्तिष्कसम्बन्धी समस्या रहेको सार्वजनिक गरेकी थिइन् । ‘द न्यु योर्कर’ मा एक लेख लेख्दै उनले आफ्नो मस्तिष्कमा दुईवटा एन्युरिज्म रहेको खुलासा गरेकी थिइन् । 

क्लार्क १९८६ को अक्टोबर २३ मा बेलायतको राजधानी लन्डनमा जन्मिएकी हुन् । ड्रामा सेन्टर लन्डनमा अध्ययनपछि उनले २००९ मा बीबीसी वनको मेडिकल सोप ओपेरा ‘डक्टर्स’ बाट अभियन यात्रा थालेकी थिइन् । त्यसको अर्को वर्ष ‘ट्राइयासिक अट्याक (२०१०)’ टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण उनलाई स्क्रिन इन्टरनेसनल म्यागेजिनले ‘यूके स्टार्स अफ टुमारो’ मा समावेश गरेको थियो ।

२०११ मा ‘गेम अफ थ्रोन्स’ सिरिजमा अभिनय गरेपछि भने क्लार्कले विश्वव्यापी चर्चा बटुलिन् । उनले ‘स्पाकइक आइल्यान्ड’, ‘डोम हेमिङवे’, ‘टर्मिनेटर जेनिसिस’, ‘मी विफोर यू’, ‘भ्वाइस फ्रम द स्टोन’, ‘लास्ट क्रिसमस’, ‘द अमेजिङ मरिस’, ‘द पड जेनेरेसन’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । अम्पाएर तथा स्याटर्न अवार्ड विजेतक क्लार्क क्रिटिक्स च्वाइस अवार्डमा तीन पटक र प्राइमटाइम एमी अवार्डमा चार पटक मनोनयनमा परिसकेकी छन् । टाइम म्यागेजिनले उनलाई २०१९ मा विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको थियो ।

प्रकाशित : चैत्र ७, २०७९ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×