काठमाडौँ — सन् २०१९ मा आजकै दिन (मार्च २१) मा ब्रिटिस अभिनेत्री एमिलिया क्लार्कले आफूलाई मस्तिष्कसम्बन्धी समस्या रहेको सार्वजनिक गरेकी थिइन् । ‘द न्यु योर्कर’ मा एक लेख लेख्दै उनले आफ्नो मस्तिष्कमा दुईवटा एन्युरिज्म रहेको खुलासा गरेकी थिइन् ।
क्लार्क १९८६ को अक्टोबर २३ मा बेलायतको राजधानी लन्डनमा जन्मिएकी हुन् । ड्रामा सेन्टर लन्डनमा अध्ययनपछि उनले २००९ मा बीबीसी वनको मेडिकल सोप ओपेरा ‘डक्टर्स’ बाट अभियन यात्रा थालेकी थिइन् । त्यसको अर्को वर्ष ‘ट्राइयासिक अट्याक (२०१०)’ टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण उनलाई स्क्रिन इन्टरनेसनल म्यागेजिनले ‘यूके स्टार्स अफ टुमारो’ मा समावेश गरेको थियो ।
२०११ मा ‘गेम अफ थ्रोन्स’ सिरिजमा अभिनय गरेपछि भने क्लार्कले विश्वव्यापी चर्चा बटुलिन् । उनले ‘स्पाकइक आइल्यान्ड’, ‘डोम हेमिङवे’, ‘टर्मिनेटर जेनिसिस’, ‘मी विफोर यू’, ‘भ्वाइस फ्रम द स्टोन’, ‘लास्ट क्रिसमस’, ‘द अमेजिङ मरिस’, ‘द पड जेनेरेसन’ लगायतका फिल्ममा अभिनय गरेकी छन् । अम्पाएर तथा स्याटर्न अवार्ड विजेतक क्लार्क क्रिटिक्स च्वाइस अवार्डमा तीन पटक र प्राइमटाइम एमी अवार्डमा चार पटक मनोनयनमा परिसकेकी छन् । टाइम म्यागेजिनले उनलाई २०१९ मा विश्वका एक सय प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश गरेको थियो ।
प्रकाशित : चैत्र ७, २०७९ ०७:३२