कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

क्लब थर्काउने डिजे युवतीहरू

सुजाता मुखिया

काठमाडौँ — एन्जिला डंगोल, उनको नाम । तर एन्जिलालाई चिनाउने नाम ‘डिजे एनरोइन’ हो । उनको नामको भन्दा पनि कामको कुरा गरौं । काठमाडौं सहर निदाउने समय हुँदै गर्दा एन्जिला भने नाइट क्लबमा पुगिसकेकी हुन्छिन् ।

क्लब थर्काउने डिजे युवतीहरू

रात्रिकालीन जीवनमा रमाउन चाहनेलाई नचाउनु नै उनको कर्म हो । अर्थात् उनी डिजे (डिस्क जकी) हुन् ।

रात्रिकालीन पेसा । त्यसमा पनि ग्ल्यामर क्षेत्र । पुरातन धारणा के छ भने महिलाका लागि त्यहाँ सुरक्षित हुँदैन । तर, डिजे एनरोइनको अनुभव भने विल्कुल फरक छ । नाइट क्लबहरूमा डिजेइङ गरिरहँदा उनले कहिल्यै आफूलाई असुरक्षित ठानिनन् । बरु त्यहाँको रमाइलो माहोलले उनलाई आफ्नो काममा थप प्रेरित गरिरह्यो ।

डिजे एनरोइन भन्छिन्, ‘क्लबमा ड्रिंक गर्ने तथा रमाइलोका लागि गइने भएकाले त्यस्तो ठाउँमा महिलाहरू असुरक्षित हुन्छन् भन्ने सोच छ । तर, अहिलेसम्म मैले त्यस्तो भोगेकी छैन । अझ सुरक्षाका लागि खटाइएका बाउन्सरहरू पनि हुन्छन् त्यहाँ ।’ बाउन्सरको आडले मात्र होइन, क्लबको माहोलले पनि उनलाई त्यो ठाउँ सहज लाग्न थाल्यो । त्यसैले त उनले डिजेइङलाई निरन्तरता दिइरहेकी छन् ।

उनकै जस्तो अनुभव छ डिजे क्विनको पनि । उनको पूरा नाम हो, शालु महर्जन । पाटनकी शालुले आधा दशकदेखि आफूलाई डिजे क्विनकै नाममा चिनाइरहेकी छन् । उनी भन्छिन्, ‘नाइट क्लबहरूमा महिला डिजेलाई दुर्व्यवहार हुन्छ जस्तो मलाई लाग्दैन । किनभने मैले त्यस्तो देखेकी छैन र भोगेकी पनि छैन ।’ सानैदेखि संगीतमा रुचि भएकाले उनले डिजेइङ बन्ने सोचिन् । यो क्षेत्र हेर्दा जति चमकदमक छ, उत्तिकै चुनौतीपूर्ण पनि छ । डिजे क्विनलाई यस्तै लाग्छ । ‘क्लबमा आउनेहरू ड्रिंक गरेका हुन सक्छन् । उनीहरूलाई नाच्ने, रमाइलो गर्ने मुड हुन्छ,’ उनी भन्छिन्, ‘त्यो भीडलाई एउटा लयमा नचाइरहनु सजिलो छैन । उनीहरूको मनोविज्ञान बुझेर आफूले त्यहीअनुसारको गीतलाई बजाइदिनुपर्ने हुन्छ ।’

उनलाई संगीतप्रति एकदमै लगाब थियो र त्यसको नयाँ नयाँ ट्रेन्डबारे सकेसम्म अपडेट हुने गर्थिन् । आफूलाई मन परेको गीत संग्रह गर्थिन् । यही बानीले गर्दा आज उनलाई आफ्नो पेसामा थप सहज भएको छ । ‘सुरुमा मसँग थुप्रै गीतको संग्रह थियो । तर, अनुभव र आत्मविश्वास थिएन,’ उनी सुनाउँछिन्, ‘मैले बजाएको गीतमा मान्छेहरू नाच्छन् कि नाच्दैनन् भन्ने कुरामा शंका थियो । तर, जब मैले पहिलो पटक डिजेइङ गरें मान्छेहरू एकदमै रमाएर नाचे ।’ यसले भने उनको आत्मविश्वास बढाइदियो ।

बजारमा चलेको नयाँ वा पुरानो गीतलाई संयोजन गरेर भीड नचाउनु नै डिजेको खास कला हो । भीडको मुड कस्तो छ र उनीहरू कस्तो गीतमा रमाउँछन् भनेर डिजेले सोहीअनुसारको संगीत बजाउनुपर्ने हुन्छ ।

‘त्यहाँ सबै एउटै उमेर समूहका हुँदैनन् । उनीहरूका लागि फरकफरक गीत बजाउन सम्भव हुँदैन,’ डिजे एनरोइन भन्छिन्, ‘त्यस्तो बेला दुवैलाई कस्तो गीतले नचाउन सकिन्छ भनेर छनोट गर्न सक्नुपर्छ ।’

सुरुसुरुमा भने डिजेइङ गर्दा गाह्रो भएको उनको अनुभव छ । ‘पछि काम गर्दै गएपछि परिपक्वता आउँछ र सहज हुन्छ,’ उनी भन्छिन् । अहिले भने उनलाई डिजेइङ गर्नु खुब रमाइलो लाग्छ । आफूले पस्कने संगीतको सुरमा भीड नाचिरहँदा एकदमै सन्तुष्टि पनि मिल्छ ।

डिजे क्विनचाहिँ क्यानेडियन डिजे रिजबाट प्रभावित छिन् । उनको व्यक्तित्व, प्रस्तुति र भीडलाई सम्हाल्ने कलाले डिजे क्विनलाई लोभ्याएको छ । उनैबाट प्रभावित भएर डिजे क्विनले डिजेइङ कोर्स गरिन् । ‘सुरुमा केही थाहा थिएन । अनलाइनबाट डिजेइङ कोर्स गर्ने ठाउँ खोजेर यसको कोर्स पूरा गरें,’ उनी भन्छिन्, ‘डिजेइङको कोर्स सकेर काम सुरु गरेपछि पो सिकाइ खास सिकाइ सुरु भयो ।’ एसएलसी सकाएर कक्षा ११ मा भर्ना हुँदै गर्दा उनले डिजेइङ सिकेकी थिइन् ।

बिहान जब मान्छेहरू उठ्ने तयारी गरिरहँदा सुत्ने तयारी गर्नु । दिउँसोको समयमा सुत्नु । रातभर जाग्राम बस्नु । नाच्नु, नचाउनु । डिजेइङको काम सहज भने छैन । ‘अरू उठ्ने बेला हाम्रो सुत्ने बेला भइरहेको हुन्छ,’ डिजे क्विन भन्छिन्, ‘नाइट क्लबमा काम गर्दा साथी र परिवारलाई समय दिन सकिँदैन । साथी सर्कल नै परिवर्तन भएको छ ।’ क्लबमा काम सुरु गरेपछि सुत्ने र उठ्ने समय तालिका बढी झन्झटिलो हुने डिजे एनरोइन बताउँछिन् । त्यससँगै घरपरिवारको चित्त बुझाउनुपर्ने पनि बाध्यता हुन्छ । ‘रात्रिकालीन काम गर्छु भन्दा परिवारले पनि सहजै अनुमति दिने कुरा हुँदैन,’ डिजे एनरोइन भन्छिन्, ‘सुरुमा भने मलाई घरबाट साथ र समर्थन थिएन ।’

आरुबारी, बौद्धकी डिजे नाटकम अर्थात् लक्ष्मी तामाङले त रात्रिकालीन डिजेइङ गर्न नै छाड्नुपर्‍यो । ‘परिवारले समर्थन गर्ने भए पनि समाजले त्यति राम्रो नमान्ने,’ उनी सुनाउँछिन्, ‘राति घरबाट निस्कन्छ, कस्तो केटी, के काम गर्छ भनेर बढी चियोचर्चा हुन्छ ।’ यस्तै कुराले गर्दा उनले रात्रिक्लब धाउन छाडिन् र दिउँसोको इभेन्टहरूमा आफूलाई केन्द्रित गरिन् । दिउँसो हुने इभेन्टहरूमा उनले डिजेइङ गर्दै आएकी छन् ।

डिजे नाटकमलाई यस पेसाप्रति औधी रुचि थियो । साथीहरूसँग मिलेर उनले डिजेइङ कोर्स सकाइन् । तीन महिने प्रोफेसनल डिजेइङ कोर्स सकेपछि उनले करियरको सुरुवात चपली हाइट फिल्मको प्रमोसनल डिजेइङबाट गरिन् । त्यसपछिका दिनमा उनले इभेन्टहरूमा काम गर्न थालिन् । अहिले डिजे नाटकम डिजेइङसँगै रामहिटीमा क्याफे सञ्चालन गर्छिन् ।

डिजे नाटकमलाई जस्तै डिजे मायालाई पनि यस पेसाप्रति रुचि थियो । दाइको म्युजिक स्टुडियो भएकाले उनले त्यहींबाट डिजेइङ सिकिन् । प्राइम टेलिभिजनबाट प्रसारित रियालिटी सो ‘आम्मा कस्सम या दुख्छ’ बाट उनले डिजेइङ करियरको सुरुवात गरिन् । तर उनले त्यतिबेलासम्म कुनै कोर्स भने गरेकी थिइनन् । डिजेइङ उनको सोख थियो । तर पछि तीनमहिने कोर्स पनि गरिन् । एक वर्षदेखि डिजेइङ गरिरहेकी डिजे माया यसलाई निरन्तरता दिने सोचमा छिन् ।

पछिल्लो समय सहरमा रात्रिकालीन जीवनमा रमाउनेहरूको संख्या बढ्दै गएको र डिजेइङ कल्चर पनि झांगिँदै गएकाले यस क्षेत्रमा राम्ररी भविष्य बनाउन सकिने उनीहरूको भनाइ छ । ‘महिलाहरूलाई यस क्षेत्रमा जति गाह्रो छ उत्ति नै अवसर पनि छ,’ डिजे एनरोइन भन्छिन्, ‘क्लबहरूमा लेडी डिजेको माग उच्च छ ।’ त्यसैले रात्रिकालीन पेसामा रमाउन चाहने, संगीतमा लगाब भएको, नाच्न–गाउन जाँगर र भीडको मनोविज्ञान बुझ्ने क्षमता भएकाका लागि यस क्षेत्रमा करियर राम्रो छ ।

प्रकाशित : चैत्र ६, २०७९ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?