हरिवंशको ‘काउली’- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरिवंशको ‘काउली’

कान्तिपुर संवाददाता

काठमाडौँ — हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आचार्यको शब्द, संगीत र स्वर रहेको लोक लयमा आधारित गीतको गायनमा उनलाई लोक गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

चेलीबेटी बेचबिखनविरुद्ध सन्देश दिने गीतको भिडियोमा आचार्यसँगै प्रियंका कार्की, प्रकाश सपुत, बालकृष्ण ओलीलगायतले अभिनय गरेका छन् ।

करिब एक वर्षअघि ओलीसँगको भेटका क्रममा गीतका शब्द फुरेको आचार्यले बताए । ‘एक वर्षअघि म सरोज भाइको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बतमा गएको थिएँ,’ हरिवंश गीत लेख्दाको क्षण सम्झन्छन्, ‘त्यहीबेला एक्कासि काउलीको प्रसंग निस्कियो । मेरो मुखमा त्यसै ए काउली, नचिने मान्छे आँखा झिम्काउली शब्द फुर्‍यो । त्यसपछि गीतले स्वरूप पायो ।’

गीतको भिडियो भने सरोज ओलीले निर्देशन गरेका हुन् । पारिवारिक जमघट, सांस्कृतिक कार्यक्रम तथा भेलाहरूमा रमाइलो गर्न मिल्ने गीतको एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् ।

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको उनी बताउँछन् । ‘बिहे, व्रतबन्धतिर उफ्रीउफ्री नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरू पनि उफ्रीउफ्री नाच्न सक्नुहुनेछ,’ आचार्यले भने । गम्भीर विष्टको कन्सेप्ट तथा कोरियोग्राफीमा तयार भिडियोको सम्पादन भने बनिश शाहले गरेका हुन् ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्

विद्यार्थीले बनाए काठमा बुट्टा भर्ने मेसिन

अनिष भट्टराई

गण्डकी — अल्बर्ट आइन्सटाइनको दिमाग संग्रहालयमा राखिएको थाहा पाएपछि पोखराका अभिनाश अधिकारी (२०) अचम्ममा परे । यसले उनलाई अचम्मितमात्र नभई, जिज्ञासु पनि बनायो । अनि, आइन्सटाइनबारे पढ्न र खोज्न थाले । जन्मिएको ३ महिनामै औषधिको ओभरडोजका कारण उनको खुट्टा नचल्ने भएको थियो ।

५ वर्षको हुँदासम्म पनि निको नभएपछि डाक्टरले सुनाएका थिए, ‘टाउको नअडिने वा मानसिक सन्तुलन गुम्ने पनि हुन सक्छ,’ त्यसका कारण उनले आइन्सटाइनको मात्र होइन, आइज्याक न्युटन, स्टेफेन हकिङ, म्यारी क्युरी, निकोलस टेस्लालगायत वैज्ञानिकबारे पनि अध्ययन गरे ।

कक्षामा एउटा औसत विद्यार्थी अभिनाशले विज्ञानसम्बन्धी विषयमा भने निकै चासो दिए । वैज्ञानिकका विषयमा पढ्दापढ्दा उनी आविष्कारका विषयमा रुचि राख्न थाले । १० कक्षामा पढ्दा उनले सोलिड रकेट बुस्टर बनाउन आँटेका थिए । केमिकलबाट चल्ने बुस्टर बनाउने उनको योजना भने सफल भएन । त्यो असफलताको ३ वर्षपछि उनले पहिलो पटक झ्यालढोकामा बुट्टा भर्ने मेसिन बनाएका छन् ।

गुराँस आर्ट्सका सञ्चालक उनका बुबाले १८ वर्षअघि भारतबाट झ्यालढोकामा बुट्टा भर्ने मेसिन नेपाल ल्याएर व्यापार थालेका थिए । बुबासँग पसल जाँदा अभिनाशले मेसिन कसरी चल्छ, कसरी काम गर्छ हेर्थे । स्कुल बिदा भएका बेला त दिनभर पसलमै बसेर मेसिन हेर्थे । मेसिन कहिलेकाहीँ बिग्रिहाले अभिनाशका बुबाले भारतबाटै प्राविधिक बोलाएर बनाउन लगाउँथे । त्यतिबेला उनी मेसिनका पार्टपुर्जा पनि नियाल्थे ।

पछिल्लो समय भने मेसिनको माग बढेको थाहा पाएपछि उनले आफ्ना बुबा र अन्य व्यापारीलाई भने, ‘यत्तिको मेसिन त म आफैं नेपालमै बनाउन सक्छु ।’ पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत अभिनाशले सुरुमा सानो मोडेलको सीएनसी (कम्प्युटराइज्ड न्युमेरिकल कन्ट्रोल) बनाए । त्यसका लागि चाहिने मोटर र प्रोसेसर नेपालमै पाए । तर ठूलो व्यावसायिक मोडेलको बनाउन चाहिने सामान भने नेपालमा पाएनन् । निमा ३४ मोटर र प्रोसेसरचाहिँ उनले चीनबाट मगाएको केही समयपछि उनले मेसिन बनाउन थाले । काम सुरु गरेको एक महिनामै मेसिन बनाएको उनी बताउँछन् । उनलाई पहिलो पटक मोटर, प्रोसेसरसमेत किन्नुपरेकाले ६ लाख रुपैयाँ लागत लाग्यो । अब अरू मेसिन बनाउँदा आफैंले प्रोसेसर पनि बनाउने सोच बनाएका छन् ।

यसले थ्रिडी प्रोडक्ट बनाउनेदेखि शिलालेख लेख्ने र आफ्नो आइडियाअनुसार बुट्टा भर्ने काम गर्न सक्छ । मायाको चिनो बनाउने काममा पनि यसले सहजै गर्न सकिने दाबी छ । यो मेसिनको नाम उनले १३–२५ राखेका छन् । एक्स एक्सिसमा १३०० मिलिमिटर र वाई एक्सिसमा २५०० मिलिमिटरसम्म काम गर्न सक्ने बताइएको छ । यसबाट बुट्टा भर्ने काम सबै कम्प्युटरबाटै गर्न सकिन्छ । बुट्टाका डिजाइनलाई अंकका रूपमा कम्प्युटरलाई सूचना दिइन्छ । कम्प्युटरले त्यही सूचनाका आधारमा बुट्टा भर्ने काम गराउन सक्छ । मेसिनले भक्तपुरे शैलीको ढोका एक दिनमै बनाउन सक्ने उनको दाबी छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×