फैलिँदै ‘थ्रिफ्ट कल्चर’- फिचर - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फैलिँदै ‘थ्रिफ्ट कल्चर’

पछिल्लो समय फेसनका रूपमा विकसित भएको थ्रिफ्टिङ अर्थात् प्रयोग भइसकेका सामानको खरिदप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको छ । यसले फेसनेबल बन्न, पैसाको बचत गर्न र वातावरणीय प्रभाव न्यूनीकरणमा पनि सहयोग पुन्छ । 
बुनु थारु

काठमाडौँ — कक्षा १२ मा अध्ययनरत इच्छा लिम्बू र आज्ञा राई फुर्सद मिल्नेबित्तिकै माइतीघरमा रहेको ‘अफोर्डएबल थ्रिफ्ट स्टोर’ पुग्छन् । मन पर्ने लुगा सस्तोमा पाइने भएकाले पनि उनीहरू थ्रिफ्ट स्टोरमा बारम्बार गइरहन्छन् । पछिलो पटक इच्छाले आफूलाई सुहाउँदो लेहेंगा किनिन् ।

गृष्मा गुरुङ र ‘अफोर्डएबल थ्रिफ्ट स्टोर’मा कपडा मिलाउँदै प्रथा बस्नेत । तस्बिर : इलिट जोशी/कान्तिपुर

फेसनको जमाना त्यसमाथि जहिले महँगो लुगा किन्न पैसा नहुने । इच्छा र आज्ञालाई थ्रिफ्ट स्टोरले निकै सजिलो बनाइदिएको छ । इच्छा भन्छिन्, ‘राम्रो–राम्रो लुगातिर ध्यान जान्छ । थ्रिफ्ट गर्दा आफूले रोजेस्तो लुगा सस्तो दाममा पाइन्छ ।’ उनीहरूले आफ्ना प्रयोग नभएका लुगाहरू पनि थ्रिफ्ट स्टोरलाई बेचेका छन् ।

२७ वर्षीया गृष्मा गुरुङ कन्टेन्ट राइटर हुन् । ‘फेसनेबल×’ पनि छन् उनी । तर फेसन मनपर्ने भए पनि आफू वातावरणप्रति निकै सचेत छिन् गृष्मा । भन्छिन्, ‘वातावरणमा पर्ने असर कम गर्ने तरिकामा थ्रिफ्ट पनि एक हो । यो स्लो फेसन मैले केही वर्षयता

पछ्याइरहेकी छु ।’ उनले विभिन्न थ्रिफ्ट स्टोरबाट हालसम्म छालाको ज्याकेट, मेकअपका सामान, टप्स, प्यान्ट, स्कर्ट खरिद गरिसकेको बताइन् । ‘ब्रान्डेड सामानहरू पनि थ्रिफ्ट स्टोरमा पाइन्छन् । जारा, न्यु लुक, भिक्टोरियाज् सेक्रेटजस्ता ब्रान्डका सामान पाए त यसै फुरुङ्ग हुन्छु,’ उनले सुनाइन् ।

थ्रिफ्टिङ भन्नाले प्रयोग भइसकेका वस्तुहरू जस्तै कपडा, सामान, वा फेसनका वस्तुहरू खरिद गर्नु हो । सजिलो बुझाइमा सेकेन्ड ह्यान्ड सामानका रूपमा बुझ्न सकिन्छ । केहीले सेकेन्ड ह्यान्ड लुगा तथा सामान प्रयोग गर्न रुचाएका छन् भने कोही अझै हच्किन्छन् । २९ वर्षीय रिदम अधिकारी सेकेन्ड ह्यान्ड लुगाहरू प्रयोग गर्न आँट आइहालेको छैन । ‘अर्काले लगाइसकेको चिज म लगाउन सक्दिनँ । सिकसिक लाग्छ । सेकेन्ड ह्यान्ड ग्याजेट तथा किताबहरू भने प्रयोग गरिराखेको हुन्छु,’ उनले भने ।


भनाइ नै छ, ‘वन म्यान्स् ट्र्यास, अनादर म्यान्स् ट्रेजर’ अर्थात् एउटा मानिसको कबाडी, अर्काका लागि खजाना’ । सायद यही भनाइ थ्रिफ्ििटङमा लागू भइरहेको छ । सेकेन्ड ह्यान्ड, दिगो र किफायती फेसनले सबैलाई तानिरहेको छ ।

आफूलाई फिट नहुने तथा पुराना कपडा दराजमा यत्तिकै थन्क्याउनुभन्दा प्रयोग भइसकेका कपडाबाट पनि उद्यम सुरु गर्ने युवाहरू बढिरहेका छन् । ‘अफोर्डएबल थ्रिफ्ट स्टोर’ की सञ्चालक २४ वर्षीया प्रथा बस्नेत यसको एक उदाहरण हुन् । आफ्नै तथा साथीहरूको लुगा बेचेर व्यवसाय सुरु गरेकी उनी आफ्नो स्टार्टअपबाट निकै सन्तुष्ट छिन् । भन्छिन्, ‘सानै उमेरबाट व्यापार सुरु गरेँ । कमाइ पनि राम्रै छ । ७ जना स्टाफ पनि राखेकी छु ।’

पुरानो लुगा किन लगाउने भन्ने संकोच तथा हिच्किचाहट पछिल्लो समय मानिसमा हट्दै गरेको उनले सुनाइन् । ३ वर्षअघि अनलाइन प्लेटफर्मबाट सुरु गरेकी हाल उनले फिजिकल स्टोर पनि खोलिसकेकी छन् । जहाँ महिलालाई चाहिने हरेक प्रकारका लुगा, गहना, ब्याग, जुत्तालगायत सामान उपलब्ध छन् । स्टोरमा सय रुपैयाँदेखि दस हजारसम्मका सामान छन् ।

सामान्यतः थ्रिफ्ट स्टोरका प्रायः ग्राहक ‘टिन एजर’ देखि ३५ वर्षसम्मका छन् जो सामाजिक सञ्जाल बढी चलाउँछन् । उनी भन्छिन्, ‘बजेट फ्रेन्डली पनि भयो । यहाँ थोरै पैसामा पनि धेरै सामान पाइन्छ । प्रयोग नभएको लुगा बेच्दा अरुले किन्छन् । एउटा कम्युनिटी हब जस्तै बन्छ । लुगाहरू स्वाप भइराखेको हुन्छ ।’


पुरुषका लागि भनेर हालसम्म खासै थ्रिफ्ट स्टोरहरू सञ्चालनमा छैनन् । आगामी दिनमा उनले पुरुष तथा बालबालिकाका लागि पनि लुगाहरू राख्ने योजना रहेको सुनाइन् । ‘अरु पनि शाखा खोल्ने र परिवार नै सपिङ गर्न मिल्ने खालको स्टोरको कल्पना गरेको छु,’ उनले भनिन् । प्रथा मात्र होइन बचत गर्ने बानी र वातावरणमा सचेत, युवा उद्यमीहरू इन्स्टाग्राममा सफलतापूर्वक थ्रिफ्ट स्टोरहरू चलाउँदै छन् । पश्चिमा मुलुकहरूमा झन् यो कल्चर चर्चित छ । पहिले सस्तोमा लुगा पाइन्छ भनेर पैसा बचतका लागि किन्ने चलन थियो तर अहिले भने प्लानेटका लागि पनि सोचेर किन्ने बढेका छन् । ‘थ्रिफ्ट वे डट एन पी’ की सञ्चालक हुन् १९ वर्षीया नविना कार्की । उनले २ वर्षअघि इन्स्टाग्रामबाट यो व्यवसाय सुरु गरेकी हुन् । थ्रिफ्ट कल्चर तथा अनलाइन सपिङ गर्ने बढेसँगै आफूले पनि सुरु गरेको उनले बताइन् । उनले १५ प्रतिशत राखेर ८५ प्रतिशत बेच्नेलाई दिने बताइन् । उनी भन्छिन्, ‘अहिले पढाइले गर्दा जति समय दिनुपर्ने हो दिन सकेको छैन । भविष्यमा एउटा पसल नै खोलेर व्यापार बढाउने इच्छा छ ।’

‘दोहोरन नेपाल’ थ्रिफ्ट स्टोर सञ्चालन गर्दे आएकी २६ वर्षीया सिल्भिना प्रधानले सबैभन्दा कम लगानीमा घरमै बसेर गर्न सकिने व्यापारमध्ये थ्रिफ्ट स्टोर पनि एक रहेको बताउँछिन् । धैर्यता तथा लगाव भने चाहिने उनको बुझाइ छ । उनका अनुसार युवाहरू विस्तारै थ्रिफ्ट कल्चर स्विकार्दै गइरहेका छन् ।


‘मैले २०१९ मा सुरु गर्दा सेकेन्ड ह्यान्ड लुगाप्रति मानिस त्यति सकारात्मक थिएनन् । प्रयोग भइसकेका राम्रा लुगा सस्तो दाम भएर पनि यसमा रुचि बढेको छ,’ उनले भनिन् । ‘स्टोर पनि थुप्रै खुलिरहेका छन् जहा ग्राहकसँग थुप्रै विकल्प छ ।’ थ्रिफ्ट कम्युनिटी बढ्दै गएसँगै फेसन पलुटेन्ट घट्न सहयोग पुग्ने उनले बताइन् । उनका अनुसार केमिकलको प्रयोग गरेर लन्ड्रीमा धोएपछि आइरन गरेर मात्र बिक्रीमा राखिन्छ ।

संसार फास्ट फेसनमा

दौडिरहेको बेला प्रि–लभ्ड, पुनः प्रयोग गरिएका कपडाहरूको लोकप्रियता बढेको छ, किनकि दिगोपन र जलवायु परिवर्तनको बहस चुलिँदो देखिन्छ । ‘सस्टेनेबल तथा इको फ्रेन्डलीसँगै अफोर्डएबल फेसन’ युवाहरूको रोजाइमा पर्दै गरहेको छ । थ्रिफ्ट कल्चरले जलस्रोतको प्रदूषण घटाउन मात्र नभई, कपडाका कारण ल्यान्डफिल भरिन वा त्यसमा प्रयोग हुने आवश्यक ऊर्जा र स्रोतहरूको मात्रा समेत घटाउँछ ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्

५ किलो नुन लिन ५ दिन यात्रा, ५ हजार खर्च

कोरोना महामारीपछि भोट बन्द हुँदा दुई दिन हिँडेर गमगढी, त्यहाँ पनि नुन प्रतिव्यक्ति ५ किलो मात्रै किन्न पाइने
राजबहादुर शाही

मुगु — मुगुमकार्मारोङ–२ डोल्फुका फुन्जोङ तामाङलाई ५ जनाको परिवारका लागि खाद्यान्न जोहो गर्न जति दुःख छ, त्योभन्दा बढी सास्ती नुन जुटाउन हुन्छ । पाँच वर्षअघिसम्म नुन लिन भोट (चीनको तिब्बत) जाने उनी कोरोना महामारीका कारण भोट बन्द भएपछि दुई दिन हिँडेर गमगढी आउने गरेका छन् ।

‘गाउँमा अन्नभन्दा चर्को छ नुनको भाउ,’ उनले भने, ‘अन्न त बरु बारीमै उब्जाएर पनि खाइन्छ, नुन खोज्न पुस्तौंदेखि सास्ती भोगिरहेका छौं ।’

नुन डिपो सदरमुकाम गमगढीसहित सोरु र खत्याड गाउँपालिकामा भए पनि तिब्बत सीमाको मुगमकार्मारोङमा छैन । त्यस गाउँपालिकाको चितै, डोल्फु, कार्ती, किम्रीलगायत गाउँका बासिन्दा नुन लिन सदरमुकाम आउन बाध्य छन् । सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयले आयोडिनयुक्त नुन प्रतिव्यक्ति ५ किलो बिक्री गर्छ । ‘दुई दिन हिँडेर सदरमुकाम आई एक दिन लाइन बसेर घर फर्किंदा ५ दिन लाग्छ,’ चितैका तोर्च तामाङले भने, ‘डिपोमा ५ किलो नुन लिन पनि कम्तीमा ५ हजार रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ ।’

सदरमुकाममा नुन लिन आउँदा होटलमा बस्नुपर्ने अवस्था रहेको उनले बताए । डिपो खोल्न कसैले ध्यान नदिएको उनले गुनासो गरे । ‘कि नुनबिनै खाना खानुपर्‍यो, नत्र गमगढी आउनुको विकल्प छैन,’ उनले भने, ‘डिपोमा दिनभरि लाइन बस्नुपर्छ, हामीलाई ५ किलो नुन लिन पनि ठूलो दुःख छ ।’


पहिलेदेखि नै नुनको दुःख भोग्नुपरेको डोल्फु गाउँकी फुटिक तामाङले बताइन् । उनका अनुसार कोरोना महामारी नफैलिँदासम्म डोल्फुका ५६ घरधुरीका स्थानीय जेठ/असारमा नुनका लागि घोडा, खच्चड लिएर भोट जाने गर्थे । तर चीनले नाका बन्द गरेपछि लर्को लागेर नुनकै लागि गमगढी धाउनुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

चितै गाउँका ६६ परिवारलाई पनि सधैं नुनको दुःख छ । चामल, दाल, घिउ, तेल, चियालगायत उपभोग्य सामान गाउँमै आउने भए पनि ढुवानी समस्याले नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता भएको छिरिङ तामाङले बताए । गमगढीबाट व्यापारीले कहिलेकाहीँ घोडा, खच्चडमा गाउँमा पुर्‍याएको ढिके नुन ७५ रुपैयाँ प्रतिकिलोमा किनेर उपभोग गर्नुपरेको उनले बताए । ‘कि महँगोमा नुन किनेर खानुपर्‍यो कि ढुवानी अनुदानको नुन ल्याउन सदरमुकाम आउनुपर्‍यो,’ उनले भने, ‘हामीलाई त वर्षैभरि नुनको चिन्ता छ ।’ मुगु, चितै, डोल्फु, कार्ती, किम्री, वाङ्रीलगायत १२ वटा बस्ती चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका छन् । मुगमकार्मारोङको जनसंख्या करिब १२ सय छ । डिपो नहुँदा स्थानीयले नुनका लागि ठूलो सास्ती खेप्नुपरेको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पहिले तिब्बतबाट ढिके नुन आउँदा आयोडिनयुक्त नुनको कसैलाई वास्ता थिएन,’ उनले भने, ‘उताबाट नुन आयात रोकिएपछि सदरमुकाम पुग्नैपर्छ ।’ डिपो स्थापनाका लागि धेरै निकायमा पुगे पनि कतैबाट सुनुवाइ नभएको उनले गुनासो गरे ।


मुगमकार्मारोङमा डिपो खोल्न पहल भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसनका शाखा प्रमुख देवेन्द्रकुमार महतोले बताए । जिल्लाभरका लागि ३२ सय क्विन्टल नुनको वार्षिक कोटा तोकिएको छ । जसमध्ये छायानाथरारा र मुगुमकार्मारोङ गाउँपालिकाका लागि बर्सेनि १२ सय क्विन्टल नुन आउने गरेको उनले जानकारी दिए । ‘वार्षिक नुनको कोटा नै अपुग छ,’ उनले भने, ‘अर्कोतिर ठेकेदारले समयमै नुन ढुवानी गर्दैनन् ।’ सरकारले ढुवानी अनुदान दिइरहेकाले सदरमुकाममा प्रतिकिलो ९ रुपैयाँमा नुन बिक्री भइरहेको छ ।

प्रकाशित : चैत्र ५, २०७९ ०९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×