सधैं चर्चामा केटी पेरी- मनोरञ्जन - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सधैं चर्चामा केटी पेरी

हिमेश

काठमाडौँ — अमेरिकन आइडलको २१ औं संस्करण सुरु भएको पनि एक महिना जति हुन लाग्यो । अहिले अडिसनको चरण चलिरहेको छ, लगभग त्यसको पनि मध्यभाग पुगेको छ ।


एबीसी टेलिभिजनले प्रसारण गरिरहेको सन् २०२३ को कार्यक्रममा जजका रूपमा फेरि एकपल्ट केटी पेरी र लुका ब्रायन त छन् नै, लियोनल रिचीले पनि पुनरागमन गरेका छन् । यसमा सहभागी भएर केही विशेष गर्नेको त खुबै चर्चा हुने गर्छ भने जजहरू मात्रै कसरी अपवाद हुन सक्छन् र ?

अझ उनीहरूले केही फरक गर्‍यो कि समाचार बनिहाल्छ । तीन जजमध्ये पनि सबैभन्दा बढी चर्चा भने पेरीकै हुने गर्छ । उनी काम नै यस्तै गर्छिन्, सबैको आँखामा पर्ने । कार्यक्रम सुरु भएलगत्तै उनी भन्थिन्, ‘कम्तीमा म उस्तै छु, केही फेरिएको छैन ।’ भनेपछि कार्यक्रमका क्रममा पेरीले ती सबै सबै हर्कत गर्नेछिन्, जुन यसअघि पनि उनले गरेकी थिइन् । सायद त्यो भन्दा बढी नै । सन् २०१० मा उनी पहिलोपल्ट अमेरिकन आइडलसँग जोडिएकी थिइन् ।

त्यति बेला उनी अतिथि जज मात्र थिइन्, सन् २०१८ यता भने पूर्णकालीन जज बनिन् । यी ३८ वर्षीया अमेरिकी गायिका, गीतकार तथा टेलिभिजन पर्सनालिटीको तत्कालका लागि कुनै योजना छैन, यस लोकप्रिय कार्यक्रमबाट छुटिने । ‘अमेरिकन आइडल वास्तवमै निकै गज्जबको कार्यक्रम रहेको छ, यसमा सबथोक छ । सबैभन्दा ठूलो यस कार्यक्रमको पटकथा नै हुन्न, त्यसैले आफूखुसी काम गर्न पाइन्छ । भोटिङ सुरु नभएसम्म सबथोक हामीले भने जस्तै हुने गर्छ ।’

जजका रूपमा उनले निभाएका पछिल्ला केही संस्करणलाई आधार मान्ने हो भने उनी आफूलाई निकै नाटकीय रूपमा प्रस्तुत गर्ने गर्छिन् र उनको हाउभाउ पनि उत्तिकै उतारचढावपूर्ण हुने गर्छ । सायद त्यसैले पनि उनी बढी लोकप्रिय छन् कि ? यसपल्टको सिजनको एउटा पछिल्लो संस्करणलाई नै लिऔं न । अडिसनमा आएकी एक महिलालाई पेरी गाली गर्न पनि पछि पर्दिनन् । ती महिला भर्खर २५ वर्षकी थिइन् र यसबीच तीन सन्तानकी आमा पनि भइसकेकी थिइन् ।

पेरीलाई यसमै समस्या लाग्यो । उनको तर्क थियो, ती महिला आफ्ना तीन सन्तानलाई स्याहार्न नै व्यस्त हुनेछिन्, उनले गाउनेमा ध्यान दिनेचाहिँ कहिले हो त ? उनको यो प्रतिक्रिया धेरैलाई मन भने परेन । त्यसैले ट्वीटरमा तिनलाई उडाउनसम्म उडाउने काम भयो । प्रायःको तर्क थियो, सायद पेरीले आफ्नो सीमारेखा पो नाघिन् कि ? जस्तै आलोचना भए पनि पेरीलाई यसको खासै मतलब भएन, उनी मुखमा जे आउँछ, त्यही बोल्छिन् ।

पेरीको एक अर्को रूप पनि छ र त्यो हो, निकै भावनात्मक । अडिसनकै क्रममा २१ वर्षीय त्यस्ता प्रत्याशी पनि आए, जो टेक्सासको एक स्कुलमा भएको अन्धाधुन्ध गोली प्रहारमा जोगिएका थिए । नाम थियो, ट्रे लुइस । उनको कुरा सुन्नेबित्तिकै पेरीले आफूलाई रोक्न सकिनन् र स्टेजमै रोइन् पनि । उनको भनाइ थियो, ‘हाम्रो अमेरिका यस्तो कुरामा साह्रै नमज्जासँग चुकेको छ । आखिर अमेरिकामै किन यस्तो हुन्छ ?’

यहाँनिर एउटा प्रश्न निकै महत्त्वपूर्ण बन्छ, आखिरमा पेरी नै किन ? पेरीलाई नै किन बढी गाली गरिन्छ, तर तिनैलाई माया पनि किन बढी ? अरूलाई चाहिँ किन कम ? धेरैको ध्यान किन उनमै बढी केन्द्रित हुन्छ ? उनी कति धेरै लोकप्रिय छिन् भन्ने एउटा राम्रो उदाहरण त उनलाई ट्वीटरमा फलो गर्नेको संख्याले नै बताउने गर्छ । सन् २०१३ मा उनी जस्टिन बिबरलाई उछिनेर ट्वीटरमा सर्वाधिक पछ्याइएकी पर्सनालिटी भएकी थिइन् ।

सन् २०१५ मा गिनिज वर्ल्ड रेकर्डमै उनको नाम पनि जोडियो, ट्वीटरमा सर्वाधिक फलो गर्ने कीर्तिमानका लागि । सन् २०१७ मा ट्वीटरमा पेरीलाई पछ्याउनेको संख्या हन्ड्रेड मिलियन पुगेको थियो । फेसबुक र इन्स्ट्राग्राम पनि जोड्ने हो भने उनको छेउछाउ त कोही पनि पर्दैनन् । अझ टाइम म्यागाजिनले त केही वर्ष अगाडि मात्रै पेरी पूरा विश्वलाई प्रभावित पार्न सक्ने २५ को सूचीमा पर्छिन् भनेर घोषणा पनि गरेको थियो । एक प्रकारले भन्दा उनी सामाजिक सञ्जालकै लागि बनेकी जस्तो पनि देखिन्छ ।

साँच्चै पेरीको यतिविघ्न लोकप्रियताको रहस्य के त ? यसका स्पष्ट दुई कारण छन् । पहिलो कारण त उनी जबर्जस्त गायिक हुन्, यसमा कुनै शंका छैन । यसो मन लगाएर उनका गीत सुन्नु त, ती वास्तवमै मिठा हुने गर्छन्, अनि अरू महिला गायिकाको तुलनामा ठ्याक्कै फरक पनि । जस्तै, उनका साह्रै लोकप्रिय गीतमा पर्छन्, ‘डार्क हर्स’, ‘ईटी’, हार्लेस इन हवाई’, ‘द वन ड्याट गट अवे’, ‘आई किस्ड द गर्ल’, अनि ‘रोर’ । यो सूची बनाउने हो भने पक्कै लामै हुनेछ ।

किशोर उमेरदेखि नै गाउन र गीत लेख्न थालेकी पेरीको प्रमुख विशेषता भन्नु नै पप रक गीत हो । कीर्तिमानकै कुरा गर्ने हो भने पनि उनका रेकर्ड पूरा विश्वमा १४ करोडभन्दा बढी बिकेको छ । उनी यसरी सर्वाधिक रेकर्ड बिक्री हुनेको शीर्षस्थानमा पनि पर्छिन् । विश्व पप संगीतमा उनको योगदान र प्रभावको खुलेर प्रशंसा गर्न मिल्छ । अमेरिकन आइडलसँग जोडिएपछि उनको लोकप्रियता अझ चुलिएको हो । त्यस अर्थमा अमेरिकन आइडल र पेरी एक–अर्काका लागि भनेकै जस्तै देखिन्छ ।

र, पेरी लोकप्रिय हुनुको दोस्रो कारण । उनलाई ‘क्विन अफ क्याम्प’ पनि भनिन्छ । पेरी क्याम्प शैलीलाई पछ्याउने गर्छिन् । के हो त यो क्याम्प शैली ? यसलाई परिभाषित गर्न पनि सजिलो छैन । सजिलोमा भन्दा यो शैलीमा आफैंमा बेढंगको हुने गर्छ, आम शैलीभन्दा धेरै फरक । यसमा कला त लुकेको हुन्छ, तर त्यसलाई खोज्दै जाँदा पाउन पनि सकिन्न । यसलाई एक प्रकारले गे–कल्चरसँग पनि जोडेर हेर्ने गरिन्छ । तर आफैंमा सबैलाई भ्रममा पार्न पर्याप्त छ ।

अब यही अचम्मको शैलीकी रानी हुन्, पेरी । एउटा तस्बिरमा केटको टाउको माथि पनि मैनबत्ती थियो भने शरीरको वरिपरि पनि मैनबत्ती थियो । अब यसको के अर्थ त ? फेरि एकपल्ट उनी ठ्याक्कै ह्याम्बर्गर ढाँचाको पोसाकमा पनि देखा परिन् । तर पेरीलाई मन पर्ने भनेकै यस्तै । त्यसैले त उनी फरक छिन् । साँच्चै उनी कस्ती हुन् त ? यसबारे बुझ्ने इच्छा भने उनका गीत त सुन्नै पर्‍यो, सकिन्छ भने अमेरिकन आइडल हेर्दा पनि राम्रो । अहिलेको नयाँ सिजनमा उनी धमाका गर्ने योजनामै छिन् ।

प्रकाशित : चैत्र ३, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्

रोकियो मध्यपहाडी लोकमार्गको काम

नयाा रेखांकनअनुसार बाटो निर्माण गर्दा महानगरको मापदण्डभित्र पर्ने घर, जग्गालाई भत्काएर बनाउन सकिने
अनिष भट्टराई

गण्डकी — निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–१६ मा पर्ने खण्डको काम रोकिएको छ । काली खोलादेखि महेन्द्र गुफा खण्ड र याम्दी पुलसम्म सडक निर्माणको काम रोकिएको हो ।

फाइल तस्बिर

पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पर्वत कुश्माले पोखरा–१६ लाई त्यस खण्डमा स्थानीयको सहमतिबिना काम नगरिने भन्दै बुधबार पत्र लेखेको छ ।

काली खोलादेखि याम्दीसम्म स्थानीयको चर्को विरोधपछि काम रोकिएको हो । पुरानै रेखांकनअनुसार आयोजना निर्माण बढाइनुपर्ने र नयाँ रेखांकन गर्दा आफूहरूलाई झुक्याएर गरिएको भन्दै स्थानीय आन्दोलित छन् । २०७८ चैत २६ को संघीय मन्त्रिपरिषद्को बैठकले नयाँ रेखांकन पारित गरेको थियो । वडा, महानगरले नयाँ रेखांकन सिफारिस गरेपछि आयोजना कार्यालय हुँदै मन्त्रिपरिषद् पुगेको सो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । पुरानो रेखांकनअनुसार विजयपुर खोला हुँदै कसेरी, पाटनबेंसी, काहुँ खोला, काहुँ, भन्ज्याङ, मणिपाल, भलाम, काली खोला, बाटुलेचौर, अमला बिसाउनी हुँदै याम्दी जोड्ने योजना थियो । उक्त खण्डका लागि डीपीआर तयार भएको भए पनि मन्त्रिपरिषद्ले रद्द गरेको थियो । उक्त रेखांकनमा निजी घर, जग्गा धेरै पर्ने, मुआब्जा वितरणमा झमेला हुने, बाटो साँघुरो हुने भएकाले रेखांकन परिवर्तन गर्न गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले आयोजनालाई निवेदन बुझाएका थिए ।

आयोजनाले सम्भाव्यता अध्ययन गरी तीनवटा विकल्पमध्ये हालको भैंसेबाट सवी, अर्मला, बाटुलेचौर हुँदै जौबारी निस्कने खण्ड रोजेको हो । नयाँ रेखांकन गरेर मौजा आँटीघर, अर्मलाकोट–काली खोला–अमला बिसाउनी हुँदै याम्दी जोड्न महानगरले आयोजना कार्यालयलाई पत्राचार गरेको थियो । महानगरले २०७७ फागुन १० मा गरेको यही सिफारिसलाई नै मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो । वडा र महानगरले नयाँ रेखांकनबाट राजमार्ग लैजाँदा मुआब्जाको पनि विषय नउठ्ने भन्दै पत्र लेखेका थिए । त्यस निर्णय बाहिरिएयता नै स्थानीय विरोधमा छन् । नयाँ रेखांकनबाट लैजाँदा मुआब्जा पनि दिनु नपर्ने भन्दै वडाले गरेको सिफारिसमा उनीहरूको चर्को विरोध छ । नयाँ रेखांकनअनुसार राजमार्ग निर्माण गरे महेन्द्र गुफा, चमेरे गुफा पनि नरहने उनीहरूको दाबी छ ।

संघर्ष समितिका सचिव सन्दीप थापा कुनै पनि जानकारी नै नदिई नयाँ रेखांकनअनुसार काम थाल्न लागिएको बताउँछन् । सार्वजनिक सुनुवाइ पनि नगरी नयाँ रेखांकन भन्दै क्याबिनेटमा पुग्नु र आफूहरूलाई थाहै नदिई आनो जग्गाबाट बाटो लैजान खोज्नु मौलिक हकको हनन भएको बताए । वडाका पूर्वपदाधिकारीहरू विभिन्न प्रलोभनमा परेर नयाँ रेखांकन गरेर आफूहरूको जायजेथा खोस्न लागेको उनको आरोप छ । नयाँ रेखांकनबाट बाटोको दूरी पनि बढ्ने र लागत पनि बढ्ने भएकाले पुरानै रेखांकन कायम गरेर राजमार्ग निर्माण कार्य अघि बढाउन उनको माग छ । ‘नयाँ रेखांकन कसरी क्याबिनेट पुग्यो ? सार्वजनिक सुनुवाइ पनि गरिएन । चोर शैलीमा आएर काम गर्न पाइन्छ ? हामीलाई नै थाहा नदिई हाम्रो जग्गा खोस्न कसरी मिल्छ ?’ उनको प्रश्न छ ।

पोखरा–१६ का अमृत थापाले थाहै नदिई आनो १० रोपनी जग्गा जाने गरेर बाटो निर्माण गर्न लागिएको भन्दै आपत्ति जनाए । ‘नयाँ रेखांकनमा मेरो पनि जग्गा परेछ भन्ने बाहिर निर्णय आएपछि थाहा पाएँ,’ उनले भने, ‘भोलि डोजर चलाएर जग्गा मासेपछि बल्ल विरोध हुन्छ भनेर जानकारी गराइनँ भन्ने जवाफ नआउला भन्न सकिएन ।’

आयोजना कार्यालय, कुश्माका प्रमुख इन्जिनियर नारायणदत्त भण्डारी भने नयाँ रेखांकनमा दूरी बढे पनि खर्च भने कम लाग्ने दाबी गर्छन् । पुरानो रेखांकनमा ८ सय ५० बढी घर भत्काउनुपर्ने र मुआब्जा दिँदा खर्च बढी हुने उनले बताए । निर्माण खर्च २ अर्ब भए पनि मुआब्जालगायतका अरू खर्च जोड्दा ६ अर्बसम्म पुग्ने भए पनि नयाँ रेखांकनअनुसार काम गर्दा सबै खर्च ४ अर्बभित्र रहने उनको दाबी छ । यसैअनुसार स्वच्छन्द एपेक्स कम्पनीसँग ३ अर्ब ८२ करोडको ठेक्का सम्झौता भइसकेको पनि उनले जानकारी दिए ।

नयाँ रेखांकनअनुसार बाटो निर्माण गर्दा महानगरको मापदण्डभित्र पर्ने घर, जग्गालाई भत्काएर बनाउन सकिने पनि उनले बताए । मापदण्डमा नपर्ने जग्गालाई भने मुआब्जा दिएर निर्माण गर्न सकिने नीति आयोजनाको नभएकाले अहिल्यै समस्या समाधान हुने अवस्था देखिँदैन । मध्यपहाडी लोकमार्ग निर्माणमा सरकारले मुआब्जा नदिने नीति लिएको छ । विरोधमा रहेका समूहले भनेझैं नयाँ रेखांकन गरेर अन्यत्र लैजान पनि सकिने अवस्था नरहेको भण्डारीले बताए ।

प्रकाशित : चैत्र ३, २०७९ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×