जुम्ला — दुई वर्षको नहुँदै बुबाले कान्छी आमा ल्याएपछि अभावमै हुर्किए जुम्लाका सुरज पण्डित । बुबासँग अलग भएर आमा र उनी पानी चुहिने घरमा बस्नुपर्दाको पीडाले भने जीवनमा धेरै सिकायो उनलाई । तर जीवन परिवर्तनका लागि भने त्यस्तै दुःखले सिकायो पण्डितलाई ।
दुःखकष्ट झेल्दै अभावमा हुर्किएका उनी अहिले भने चिनिएका गायक हुन् । सँगै राम्रो संगीतकार पनि । गायक बन्छु भन्ने सपना कल्पनामा साँचेर बसेका उनी अवसरको खोजीमा थिए । तर अवसर दिने कुनै निकाय थिएन । जहिल्यै पनि हुने–खानेलाई मात्र साथ पाइने भएकाले उनले कसैको आशा गर्नु व्यर्थजस्तै थियो ।
तैपनि उनले हिम्मत हारेनन् । उनले संघर्षको कदम हरदम चलाइरहे । फलस्वरूप माया गर्ने जीवन साथी, ए मेरी टुल्की नलाई बाडुल्की, तम्रा मनमा र रेलको बाटोलगायत दर्जन बढी गीत चर्चित बनेका छन् । ०६८ सालदेखि गायन क्षेत्रमा होमिएका उनी जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडमा जन्मेका थिए ।
गीत–संगीतप्रति उनको रुचि भने गायक नारायण गोपालको गीत सुनेपछि बढेको हो । टेलिभिजन कार्यक्रम नेपाली तारा हेर्न थालेपछि भने उनको रुचि झन् बढ्यो । एक दिन कक्षाकोठामै गीत गुनगुनाइरहेको एक शिक्षकले थाहा पाएपछि भने विद्यालयका कार्यक्रमहरूमा गाउन पाए ।
लोक गायक पदमबहादुर रोकायाले २०६८ सालमा जुम्लामा एकल साँझ चलाए । सुरजले गीत गाउने अवसर पाए । राजधानीबाट आएका कतिपय गायकले भन्दा उनको प्रस्तुति रुचाए दर्शकले । स्वर र गीतका शब्दको निकै चर्चा चल्यो । जसका कारण गायक रोकायाले एउटा गीत रेकर्ड गराइदिने वचन दिए । काठमाडौं गएर त्यो गीत भएको थियो, ‘माया गर्ने जीवन साथी’ । ३५ हजार रुपैयाँको लगानीमा रेकर्ड भएको गीत राम्रै चल्यो । पहिलो गीत निकै चलेपछि भने संगीतप्रतिको मोह झन् बढ्यो । ‘नामको पछि दौडिएर जीवन बर्बाद नगर भनेर आमाले भन्दै हुनुहुन्थ्यो,’ सुरजले सम्झिए, ‘तर एक दिन पक्कै खुसी फर्किन्छ भनेर गीत–संगीत क्षेत्र छोडिनँ ।’
करिब तीन वर्षअघिको कुरा हो । देशमा रेलको चर्चा चुलिएको थियो । काठमाडौंमा रेलको बहस भइरहँदा कर्णालीमा मोटर बाटो बन्ने पनि छेकछन्द थिएन । उनको मन चसक्क हुन्थ्यो । त्यसैबीच, एक दिन उनले आफ्नो भोगाइमा आधारित भएर शब्द कोरे । ‘रेलको बाटो बन्दै छ रे, रेल चढौंला नेपालैमा, हुम्ला मोटर बाटो छैन के चढौंला हिमालैमा ।’ त्यसपछि यी शब्द उनले कर्णालीको अवस्थाबारे चित्रण गर्दै साथी लेखराज गिरीलाई पठाए ।
अन्त्यमा गीत बन्यो, ‘रेलको बाटो पुग्दै छ रे तिमी बस्ने सहरैमा, हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा’ ।
सरकारले देखाएको रेलको सपना र कर्णालीको अवस्थाबारे सोचमग्न बनाएको छ यो गीतले । जनतालाई समृद्धिका सपना सुनाउन पाइन्छ तर दुःखका कथा यथावतै राखेर सुनाइने सपनाको के अर्थ हुन्छ र ?’ सरकारले रेलको सपना सुनाइरहँदा कर्णालीको पीडा कति गहिरो छ भन्ने दर्शाइरहेको छ । गीतमा कर्णाली र सहरको अवस्थालाई तुलना पनि गरिएको छ । सहरमा रेल आउने तयारी भइरहँदा हुम्लामा गाडी नपुगेजस्तै विकासका अन्य सूचकमा पनि कर्णाली पछि परेको शब्द–दृश्यमा उतारिएको छ ।
गीतमा पण्डितले सुमधुर स्वरमार्फत कर्णालीका दुःखका सुस्केरा सुसेलेका छन् । सरकारले रेलको सपना सुनाउँदै गर्दा हुम्लामा मोटर पनि पुर्याओस् भन्ने सुरजको सदिच्छा छ । सुरज अहिले कर्णालीको सांस्कृतिक निधि मात्र होइन, लाखौं दर्शकको मुटुको ढुकढुकी बनेका छन् । अनि, युवा पिँढीका लागि प्रेरणाका स्रोत ।
प्रकाशित : चैत्र ३, २०७९ ०७:५०