नेपाल चिनाउने फिल्मकर्मी

फिल्मका निर्माताहरू लगानीकर्ता मात्रै होइनन् । लगानी खोज्ने जिम्मा उनीहरूकै काँधमा त हुन्छ तर उनीहरूले खर्चने भनेको आफ्नो सिर्जनात्मक कला, समय र परिश्रम हो।
अनुप पौडेलद्वारा निर्मित फिल्म ‘लोरी’ ले कान्स फिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड जित्यो। प्रवीण कार्कीका ‘घनटाउके’ इन्टरनेसनल फिल्म फेस्टिभल आम्स्ट्रडम र ‘दद्या’ टोरोन्टो फिल्म फेस्टिभल पुगे।
रीना मोक्तान

काठमाडौँ — व्यावसायिक फिल्म क्षेत्रले निर्मातालाई कसरी व्याख्या गर्छ ? पैसा लगानी गर्ने लगानीकर्ताका रूपमा । कुनै बेला निर्माताको परिचयभित्र ‘मुर्गा’ शब्द निकै चल्थ्यो । तर, के निर्माताको अर्थ पैसा लगानी गर्ने मात्र हुन्छ त ? अथवा मुर्गा बनेर पैसा डुबाइरहनु नै वास्तविक परिचय हो ?

नेपाल चिनाउने फिल्मकर्मी

आज हामी त्यस्ता युवा निर्माताको चर्चा गर्दै छौं, जो खास अर्थमा नेपाली फिल्म क्षेत्रले बनाएको निर्माताको परिचयभित्र अटाउँदैनन् । उनीहरू फिल्मका निर्माता त हुन् तर लगानीकर्ता मात्रै होइनन् । लगानी खोज्ने जिम्मा उनीहरूकै काँधमा त हुन्छ, तर उनीहरूले खर्चने भनेको आफ्नो सिर्जनात्मक कला, समय र परिश्रम हो ।

‘पैसा हालेर निर्माता बन्नेहरू पनि छन् । तर, निर्माताले पैसा हाल्नैपर्छ भन्ने हुँदैन । हाम्रो फिल्म क्षेत्रमा सय फिल्म बन्दा ९५ निर्माता नयाँ आइरहेका हुन्छन् । तर, एउटा निर्मातामा आफूले कुन क्षेत्रमा लगानी गर्दै छु भन्ने ज्ञात हुनुपर्छ । फिल्म व्यवसायको विषयमा जानकारी हुनुपर्‍यो,’ निर्माता अनुप पौडेल भन्छन्, ‘निर्माता त त्यस्तो भिजन भएको व्यक्ति हो, जसलाई आफ्ना दर्शक कहाँ छन् भनेर थाहा हुन्छ । मेरो फिल्मको विषयवस्तु के हो र यो कहाँसम्म पुग्न सक्छ भन्ने ज्ञान भएको व्यक्ति निर्माता हो ।’

अनुप पौडेल । तस्बिर : इलिट जोशी/कान्तिपुर

अनुप त्यस्तै, निर्मातामा पर्छन्, जो आफ्ना फिल्ममार्फत अन्तर्राष्ट्रिय बजार पुगिरहन्छन् । उनी निर्मित ‘लोरी’ ले पछिल्लो समय विश्वप्रख्यात फिल्म फेस्टिभल कान्समा स्पेसल मेन्सन अवार्ड जित्दै इतिहास रच्यो । अविनाश विक्रम शाह निर्देशित ‘लोरी’ कान्सको लघु विधातर्फ अवार्ड जित्ने पहिलो नेपाली फिल्म हो । सन् २०१९ तिर बुसान एसियन फिल्म्समा ‘फिल्म प्रोड्युसिङ र फिल्म मार्केट’ पढिसकेपछि अनुपले अन्तर्राष्ट्रिय बजारबारे ज्ञान बटुले ।

त्यति बेला अविनाशद्वारा लिखित ‘सिजन अफ र्ड्यागन फ्लाज’ (झ्यालिन्चा) लिएर उनी बुसान पुगेका थिए । सन् २०१८ तिर ‘तटिनी’ मा पनि निर्माताका रूपमा जोडिए । त्यसपछि अविनाशसँग मिलेर ‘एलिफेन्ट्स इन्द द फग’ निर्माण गर्ने तयारी थाले । यही फिचर फिल्म गर्नु अगाडि अविनाश र अनुपले लघु फिल्म बनाउने योजना बनाए । त्यसैको नतिजा हो, ‘लोरी’ । ‘लोरी एकदमै राम्रो फिल्म थियो । त्यतिबेलासम्म धेरै जनामा अविनाशको काम नपुगेको हो कि भन्न लाग्यो । त्यसैले हामीले अन्तर्राष्ट्रिय बजारमा फिल्मलाई पुर्‍यायौं । अन्तमा लोरीले कान्समा स्पेसल मेन्सन अवार्ड पायो,’ अनुपले भने ।

लघु फिल्महरूसँगै आफ्नो निर्माण रहेको ‘एलिफेन्ट्स इन्द द फग’ र ‘द चेन्जिङ स्काई’ मार्फत अनुपले थुप्रै अन्तर्राष्ट्रिय बजार चहारिसके । ‘फिल्म बनाउनु मात्र ठूलो कुरा होइन । फिल्म चलाउनु ठूलो कुरा हो । अन्तर्राष्ट्रिय बजार पुग्नु गाह्रो र चुनौतीपूर्ण काम हो । निर्माताको हिसाबले तपाईंसँग स्क्रिप्टको ज्ञान हुनुपर्‍यो । लगलाइन, सिनोप्सिस लेख्न आउनुपर्‍यो । एउटा स्क्रिप्टको विकासदेखि त्यसलाई कसरी बनाउने भन्नेसम्मको योजना तपाईंसँग हुनुपर्छ,’ अनुप सुनाउँछन्, ‘तपाईंको प्रोजेक्टका लागि एक करोड खर्च लाग्छ भने त्यो रकम कहाँबाट जुटाउने निर्मातासँग योजना हुनुपर्छ । तपाईं फिल्म निर्माण गर्न चाहनुहुन्छ, इन्टरनेसनल को–प्रोडक्सन गर्न चाहनुहुन्छ भने आफ्नै खर्चमा भए पनि बजार पुग्नुपर्ने हुन्छ ।’

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आफैंमा ठूला बजार हुन् । त्यहाँ विश्वभरका वितरक आइपुग्छन्, निर्माता आइपुग्छन् । त्यहीं हुन्छ, फिल्मको किनबेच । विश्वका यस्तै फेस्टिभलदेखि ठूला बजारमा नेपाली फिल्म पुर्‍याउन अनुपको ठूलो भूमिका छ । १४ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय अनुप सन् २०१० तिरै चर्चामा आइसकेका थिए । फिल्म पढ्दै गर्दा बनाएको डेमोक्रेसीमाथिको भिडियोले हिलारी क्लिन्टनको हातबाट पुरस्कार थापेका अनुप त्यतिबेला रातारात चर्चामा आए ।

त्यतिबेलै त्यो चर्चा, मिडियाको चासो अनि चौतर्फी वाहवाहीले वाक्क भएर पर्दा पछाडि बसेरै काम गर्नुपर्छ भन्ने लागिसकेको थियो । डाक्टर बन्ने सोचले केयूमा एमबीबीएस पढे, पूरा गर्न सकेनन् । परिवारको सल्लाहमा इन्जिनियरिङ भर्ना भए त्यो पनि अपूरै भयो । देशको राजनीतिक अस्थिरताले फ्रस्टेट भएर अमेरिका पनि नपुगेका होइनन् तर, फिल्म निर्माणको लतले सन् २०११ देखि यसमै करिअर देख्न थाले ।

फिल्म क्षेत्रमा प्रवेश गर्दा ताका निर्माताका रूपमा होमिएका थिएनन्, सुशान्त श्रेष्ठ । सन् २००९ मा फेसन डिजाइनिङको अध्ययन सकेर फिल्मकर्मी नवीन सुब्बाको ‘गुडबाई काठमाडौं’ मा कस्ट्युम डिजाइनर बने । एस्ट्रोनट बन्ने सपना पूरा नहुने छाँटकाँटले उनलाई फिल्ममा पुर्‍यायो । खासमा उनलाई पहिल्यैदेखि फिल्ममा रुचि । तर, फिल्म पढ्ने जाँगर चलेन । त्यसैले फेसन डिजाइनिङमार्फत फिल्ममा जोडिए । ‘गुडबाई काठमाडौं’ ताका निर्देशनतिर बढी ध्यान हुन्थ्यो, त्यसैले क्यामेरा पछाडि बसिरहन्थे ।

सुशान्त श्रेष्ठ । तस्बिर : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

‘हाइवे’ मा सहायक निर्देशक बनेर काम गरेका उनले ‘लुट’ र ‘छड्के’ मा पनि अनुभव बटुले । निर्देशक बन्नका लागि फिल्मका सबै क्षेत्रमा अनुभव बटुले । बिस्तारै आफ्नो झुकाव प्रोडक्सनमा रहेछ भन्ने चाल पाएपछि सन् २०१६ देखि निर्माता बन्ने यात्रा सुरु भयो । सन् २०१८ को ‘कथा ७२’, लघु फिल्म ‘जुनुको जुत्ता’ र ‘एट एनोदर विन्टर’ लाई निर्माण गरे । समीक्षात्मक रूपले रुचाइएको ‘ऐना झ्यालको पुतली’ मा उनी सह–निर्माता थिए । अहिले उनी लघु फिल्म ‘गुलाबी पत्र’, ‘माई फस्ट डेथ’ र ‘चलचित्र’ को निर्माणमा व्यस्त छन् ।

‘म फिल्ममा पैसा हाल्ने निर्माता होइन । तर, फिल्मलाई शून्यदेखि सयमा पुर्‍याउने निर्माताको जिम्मेवारीमा छु,’ सुशान्त सुनाउँछन्, ‘फिल्मको सुरुवातदेखि प्रदर्शनसम्म निर्माताको भूमिका हुन्छ ।’ प्रि–प्रोडक्सन, प्रोडक्सन र पोस्ट प्रोडक्सनलाई फिल्म निर्माणका तीन सहज चरणका रूपमा हेरिन्छ । तर, निर्माताले प्रि–प्रोडक्सनभन्दा अगाडिको डेभलप्मेन्ट (स्क्रिप्टको विकासदेखि पैसा खोज्ने काम) देखि प्रदर्शनसम्मका गाह्रा चरणहरू पार गर्नुपर्ने उनी बताउँछन् ।

‘हामीजस्ता निर्माताले फिल्म बन्नुभन्दा अगावै र बनिसकेपछि २ पटक फिल्मलाई बेच्नुपर्छ । यो सबभन्दा गाह्रो चरण हो । कति फिल्म त डेभलप्मेन्ट फेजमै हराउँछ,’ सुशान्तले भने । निर्माताले स्क्रिप्ट लेखनको सुरुवातदेखि टिम निर्माणमा पनि ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘नेपाली फिल्म क्षेत्रमा खट्किएको विषय के हो भने हामी फिल्म बनाउँछौं तर लक्षित दर्शक कुन हो ध्यान दिँदैनौं । सबैका लागि भनेर प्रचार गर्छौं । निश्चित दर्शकलाई हामीले सुरुवातदेखि नै लक्षित गरेर फिल्म बनाउनुपर्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय बजार पुग्न नयाँ शैलीको कथा वाचन, हाम्रा कथा भनिनुपर्ने सुशान्तको अनुभव छ । ‘मौलिक कन्टेन्ट हुनुपर्छ । बजेट थोरै किन नहोस् स्क्रिप्टमा उतिकै मिहिनेत भयो भने विश्व बजार पुग्न सक्छौं,’ उनी भन्छन्, ‘फिल्म भनेको कला नै हो तर बनिसकेपछि बेच्नुपर्छ ।’ लघु विधाको हकमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजार पुग्ने फिल्महरूको संख्या ह्वात्तै बढेको छ । लघु फिल्मका लागि घरेलु बजारमा राम्रो प्लेटफर्म छैन । त्यसैले लघु फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभलमै पुर्‍याउनुपर्ने अवस्था रहेको सुशान्त सुनाउँछन् । उनी निर्मित ‘जुनुको जुत्ता’ थुप्रै बजार घुम्यो । ‘ऐना झ्यालको पुतली’ बुसानमा प्रिमियर भयो । ‘एट एनोर विन्टर’ लाई भने अपेक्षित बजारमा पुर्‍याउन नसकिएको सुशान्तको बताउँछन् ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अन्य थुप्रै नामहरू छन् । रामकृष्ण पोखरेल, प्रवीणकुमार राउत, केदार भुसाल, नवनिधि दाहाल र अभिमन्यू दीक्षितहरूकै भीडमा पर्छन्, प्रवीण कार्की पनि । पूजा गुरुङ र विभूषण बस्नेतको फिल्म ‘डम्बरे डेन्ड्राइटको सरुवा सपना’ र ‘घनटाउके’ का निर्माता हुन् उनी । ‘दद्या’ का सह–निर्माता । यी तीन फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभल मात्रै होइन विश्व बजार पुर्‍याउन प्रवीणले गरेको मिहिनेत तारिफ गर्नलायक छ । ‘खासमा नेपालमा फेस्टिभल जाने फिल्म भनेर छुट्याइन्छ । तर, फेस्टिभल पुग्नु भनेकै ठूलो बजारमा छिर्नु हो नि । त्यहाँ फिल्म मात्रै देखाइँदैन । हजारौं फिल्मकर्मीका छानिएका फिल्म हुन्छन् । निर्माताहरू त्यहाँ आइपुग्छन् । स्टोरी पिचिङ गर्ने समय हुन्छ । त्यहाँसम्म पुग्न गुणस्तरको फिल्म बनाइनुपर्छ,’ कार्कीले भने ।

प्रवीण कार्की । तस्बिर : केशव थापा/कान्तिपुर

एमाजोन प्राइममा रहेको ‘आमा खाण्डो’ बुसान पुग्यो । उनी निर्मित यो फिल्मले किम्फमा अडियन्स च्वाइस अवार्ड जित्यो । नेपाली फिल्मलाई विश्वका प्रतिष्ठित बजारमा लैजाने निर्मातालाई भने राज्यले चिन्न नसकेको प्रवीणको गुनासो छ । ‘सगरमाथा चढ्नेलाई पर्यट्न बोर्डले सम्मान गरिरहेको हुन्छ । तर, हाम्रा फिल्महरू विश्वका चर्चित बजार पुग्दा पनि कसैलाई चासो छैन,’ प्रवीणले भने । ‘घनटाउके’ इन्टरनेसनल फिल्म फेस्टिभल आम्स्ट्रडम (आईडीएफए २०२०) मा र ‘दद्या’ टोरोन्टो फिल्म फेस्टिभलमा पुग्यो ।

अहिले उनको टिम ‘होल टाइमर्स’ का लागि १ करोड ८० लाख बजेट दिने सह–निर्माताको खोजीमा छन् । ब्रुसली र ज्याकी च्यानका फिल्म हेर्दै हुर्केका प्रवीण कुनै बेला त्यस्तै फिल्म बनाउने उद्देश्यले फिल्म बनाउन थालेका थिए । तर, जब गम्भीर फिल्मकर्मीसँग ठोक्किए, तब निर्माणतिर उनको झुकाव बढ्यो । प्रोजेक्टको सुरुदेखि प्रदर्शनसम्म निर्माताले फिल्ममा समय, लगनशीलता र सिर्जना लगानी गर्नुपर्ने उनको बुझाइ छ ।

प्रकाशित : चैत्र २, २०७९ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?