काठमाडौँ — निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘पशुपति प्रसाद–२ ः भष्मे डन’ को सुटिङ शुक्रबारदेखि हुने भएको छ ।
‘पशुपति प्रसाद’ फिल्ममा विपिन कार्कीले निर्वाह गरेको मुख्य चरित्र भष्मे डनमा केन्द्रित रहेर निर्माण हुन लागेको फिल्ममा कार्कीसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, वर्षा सिवाकोटी, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, मिश्री थापा, सजन थापा मगरलगायतका कलाकारले अभियन गर्ने जनाइएको छ ।
सात वर्षमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई मुख्य विषयवस्तुका रूपमा फिल्मले प्रस्तुत गर्ने जनाइएको छ । फिल्मको कथा खगेन्द्र लामिछानेले तयार पारेका हुन् भने उनी आफैं निर्माता हुन् । नाम मात्रको नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने लेखक लामिछानेको दाबी छ । निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।
फिल्मको शुक्रबार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा शुभमुहूर्त गरिएको हो । शुभमुहूर्त कार्यक्रममा निर्देशक खनालका साथै विभिन्न कलाकारको उपस्थिति थियो । फिल्मको छायांकन पशुपति क्षेत्र विकास कोष परिसरमा हुने र ३० दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ । फिल्म बडादसैंको फूलपातीका दिनदेखि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
काठमाडौँ — सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले एकैपटक ठूलो संख्यामा नयाँ सेयर ब्रोकर लाइसेन्स वितरण गर्न नपाएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अहिले धमाधम शाखा विस्तारका लागि अनुमति दिन थालेको छ । यसअघि सञ्चालनमा रहेका ब्रोकरबाट प्रभावकारी सेवा प्रवाह हुन नसकेको, बजारमा संस्थागत लगानीमा सेयर ब्रोकर आवश्यक रहेको निष्कर्षका आधारमा एकैपटक देशभर ठूलो संख्यामा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न बोर्डले आवेदन संकलन गरेको थियो ।
मुद्दा विचाराधीन अवस्थामा रहेकाले उक्त योजनामा अवरोध भएपछि बोर्डले अदालतको फैसला पनि नकुरेरै धमाधम शाखा विस्तारको अनुमति दिन थालेको हो । कहिले नयाँ लाइसेन्सका लागि आवेदन माग्ने त कहिले पुरानै ब्रोकरलाई मागे जति शाखा सञ्चालनको अनुमति दिने बोर्डको कामकारबाहीले अन्योल सिर्जना गरेको सरोकारवालाहरू बताउँछन् । ‘सञ्चालनमा रहेकै ब्रोकरलाई कार्यक्षेत्र विस्तार गर्न दिँदा उनीहरूले गुणस्तरीय सेवा दिन सक्छन् भन्ने लागेको भए किन नयाँ लाइसेन्स बाँड्न आवेदन मागियो ?’ स्रोतले भन्यो, ‘उनीहरूले उत्कृष्ट सेवा दिन नसकेकै कारण नयाँ लाइसेन्स दिन लागिएको थियो भने अहिले किन धमाधम शाखा विस्तारका लागि अनुमति दिइँदै छ ?’
बोर्डले कुनै अध्ययन र अनुसन्धानबिना सीमित वर्ग र समुदायको दबाबमा काम गरिरहेकाले उसका काम कामकारबाहीमा स्पष्ट धारणा नदेखिएको स्रोतको आरोप छ । बोर्डले लाइसेन्स वितरणको योजना बनाइरहँदा कुनै ठोस अध्ययन र अनुसन्धानबिनै हचुवाका भरमा काम अघि बढाउनुले पनि यो पुष्टि हुने स्रोतको दाबी छ । अहिले बजारका लागि कति ब्रोकर आवश्यक हो ? सञ्चालनमा रहेका ब्रोकरले नागरिकलाई उत्कृष्ट सेवा दिन सक्छन् वा सक्दैनन् ? नयाँ थप्ने हो भने कहाँ र कसरी ? यावत् प्रश्नबारे सोचविचार नगरी जसरी भए पनि अनुमति दिने ध्याउन्नमा बोर्ड रहेकाले उसका गतिविधिमा आशंका उत्पन्न भएको जानकारहरू बताउँछन् ।
नयाँ ब्रोकर थप्ने कि पुराना ब्रोकरको कार्यक्षेत्र विस्तार गर्न दिने भन्नेमा बोर्डको धारणा स्पष्ट नभएको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीको भनाइ छ । ‘बोर्डको काम घरी के, घरी के जस्तो भयो । बजारलाई चाहिएको बैंकहरू जस्तै संस्थागत लगानीकर्ताको लगानीमा ब्रोकर हो,’ उनले भने, ‘हाल रहेका ब्रोकरको सेवामा संस्थागत लगानीकर्ताको अभाव खड्किएरै नयाँ ब्रोकर थप्न लागिएको हो । तर अहिले बोर्डका गतिविधिले झन् अन्योल बढाएको छ ।’
नयाँ लाइसेन्स वितरण गर्न नदिने पक्षमा हाल सञ्चालनका रहेका ब्रोकरहरू रहेकाले बोर्डले बजारका लागि के आवश्यक हो ? सेवाको गुणस्तर कसरी बढाउन सकिन्छ भन्ने पक्षमा बोर्डको स्पष्ट धारणा हुनुपर्नेमा त्यसो नदेखिएको पूर्वअध्यक्ष कार्कीले बताए । ‘यस्तो पाराले त संस्थागत लगानीकर्ता आउँदैनन्,’ उनले भने, ‘बजारलाई संस्थाको लगानीमा ब्रोकर चाहिएको हो । नियामक निकाय यस कुरामा स्पष्ट हुन जरुरी छ ।’
हाल ५० वटा ब्रोकर सञ्चालनमा छन् । हाल ४४ वटा ब्रोकरका कुल ६९ शाखा सञ्चालनमा आइसकेका छन् । थप २० वटा शाखा सञ्चालनका लागि ब्रोकरहरूले पूर्वाधार तयारी गरिसकेका छन् । थप ६५ स्थानमा १ सय २० वटा शाखा स्थापनाका लागि आवेदन प्राप्त भएको बोर्ड स्रोतले बताएको छ ।
ब्रोकरको शाखा विस्तार नयाँ भने होइन । ०७६ सालअघि नेपाल स्टक एक्सचेन्जले आफैं ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन पाउने व्यवस्था थियो । सोही व्यवस्थाअन्तर्गत नेप्सेले त्यतिबेला १७ जिल्लामा ४१ वटा शाखा सञ्चालनका लागि अनुमति दिइसकेको थियो । ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, ०६४’ को तेस्रो संशोधन गरेर नेप्सेको अधिकार धितोपत्र बोर्डले आफू मातहत ल्याएको थियो । यसरी ०७६ साल फागुन १ देखि बोर्ड आफैंले ब्रोकरलाई शाखा स्थापनाको अनुमति दिन थालेको हो । सोही व्यवस्थाबमोजिम पूर्वअध्यक्ष कार्कीको पालामा थप ६ वटा शाखा सञ्चालनका लागि बोर्डले अनुमति दिएको थियो । पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको पालामा १४ ब्रोकरलाई २३ शाखा स्थापनाका लागि प्रक्रिया सुरु गरिएको थियो । बाँकी शाखाका लागि बोर्डले अहिले अनुमति दिइरहेको छ ।
के कति शाखा विस्तारका लागि अनुमति दिने भन्ने सम्बन्धमा बोर्ड लचिलो रहेको र विद्यमान नीतिअनुसार तोकिएको मापदण्ड पूरा गरेर आएको सबै आवेदनलाई शाखा सञ्चालनका लागि अनुमति दिने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले स्विकारे । ‘कसले र कति संख्यामा पाउने भन्ने सीमा छैन, बोर्डले तोकेको मापदण्ड पूरा गरेर आएका सबैले शाखा सञ्चालनका लागि अनुमति पाउँछन्,’ उनले भने, ‘मापदण्ड पूरा गरेर व्यवसाय विस्तार गर्छु भनेर आउँछन् भने उनीहरूलाई रोक्नु हुँदैन । मापदण्डअनुसार सञ्चालन नभए अनुमति खारेज पनि गरिन्छ ।’ मुलुकभर ब्रोकर सेवा विस्तार गर्ने बोर्डको उद्देश्य रहेकाले मापदण्ड पुगेर आएको आवेदनलाई अनुमति दिइने उनले बताए ।
बोर्डको अनुगमन र सुपरिवेक्षण क्षमता अभिवृद्धि नगरी शाखा सञ्चालनको अनुमति दिँदा आउन सक्ने विकृतिबारेको जिज्ञासामा अध्यक्ष हमालले भने, ‘नियमन र सुपरिवेक्षणको पाटोमा ठूलो समस्या छ । त्यसलाई पनि हामी विस्तारै सुधार गर्दै आएका छौं । यही प्रक्रियाअनुसार चालु आर्थिक वर्षमै कम्तीमा एउटा प्रदेशमा बोर्डको प्रादेशिक कार्यालय स्थापना गर्ने योजना छ ।’ नयाँ लाइसेन्स वितरण र शाखा विस्तार फरक फरक पक्ष भएकाले दुईवटैलाई एकै मानेर नबुझ्न पनि उनले आग्रह गरे ।
बोर्डको उद्देश्य नयाँ लाइसेन्स थप्ने हो कि पुराना ब्रोकरलाई कार्यक्षेत्र विस्तार गर्ने हो भन्ने अर्को जिज्ञासामा हमालले थपे, ‘नयाँ लाइसेन्स पनि बाँड्ने र पुराना ब्रोकरको पनि कार्यक्षेत्र विस्तार गर्ने हो । सेवा प्रदायक संस्था धेरै भएपछि प्रतिस्पर्धा बढ्छ, लागत घट्छ र नागरिकले उत्कृष्ट सेवा पाउँछन् । यसकारण के कति ब्रोकर आवश्यक छ भन्ने कुरा बजारले निर्धारण गरोस् भन्ने मेरो धारणा हो ।’
बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली (पाँचौं संशोधन) ०७९’ मार्फत नियमावलीमा ब्रोकर छनोट गर्न मुख्य ५ वटा मापदण्ड तय गरेको छ । यसअनुसार पुँजी, अनुमति प्रदानसम्बन्धी दस्तुरहरू, सञ्चालकहरूको योग्यता, संस्था प्रमुखको योग्यता र सूचना प्रविधि छन् । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने बोर्डले जनाएको छ ।
सम्बन्धित क्षेत्रमा तोकिएको पाठ्यक्रमका आधारमा लिखित परीक्षा लिई ब्रोकर लाइसेन्स वितरण गरिँदै आएको पुरानो व्यवस्था हटाइएको छ भने तोकिएको मापदण्ड पूरा गर्ने जोकोहीले पनि ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था थप गरिएको छ । संशोधित नियमावलीमा सीमित र पूर्ण कार्य गर्ने गरी २ प्रकारका ब्रोकरको परिकल्पना गरिएको छ । सीमित कार्य गर्ने ब्रोकरका लागि न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्ण कार्य गर्ने ब्रोकरका लागि न्यूनतम ६० करोड रुपैयाँ तोकिएको छ ।
गत फागुन पहिलो साता बोर्डले ब्रोकर कम्पनीहरूलाई शाखा कार्यालय खोल्नेसम्बन्धी निर्देशिका जारी गरेको छ । निर्देशिकामा कम्पनीहरूले काठमाडौं उपत्यकाबाहिर कम्तीमा ३ शाखा कार्यालय खोलेपछि मात्रै अब उपत्यकाभित्र शाखा खोल्न पाउने प्रावधान छ । ब्रोकर कम्पनीहरू काठमाडौं उपत्यकामा मात्रै थुप्रिएपछि बाहिर पठाउन बाध्यात्मक व्यवस्था गरेको बोर्डको दाबी छ । निर्देशिकाअनुसार ब्रोकर व्यवसायीले शाखा खोल्न बोर्डसमक्ष निवेदन दिनुपर्छ । सम्पूर्ण विवरण तथा कागजात प्राप्त भएको १५ दिनभित्र बोर्डले निवेदकलाई शाखा कार्यालय खोल्न स्वीकृति दिनेछ ।
शाखा कार्यालय खोल्न स्वीकृति प्राप्त गरेपछि कार्यालय खोल्न नसकेमा बोर्डबाट स्वीकृति रद्द भएको १ वर्षसम्म ब्रोकरले शाखा खोल्न निवेदन दिन नपाउने निर्देशिकामा उल्लेख छ । त्यस्तै शाखा कार्यालयका लागि बोर्डले चुक्ता पुँजी प्रतिशाखा १ करोड ५० लाख रुपैयाँ तोकेको छ । निर्देशिकाअनुसार हाल सञ्चालन भइरहेका शाखा कार्यालयले समेत ६ महिनाभित्र यो चुक्ता पुँजी पुर्याउनुपर्नेछ ।
धितोपत्र बोर्डले एकैपटक ठूलो संख्यामा लाइसेन्स बाँड्न गत असोज २ मा एउटा स्टक एक्सचेन्ज, दुईवटा कमोडिटी एक्सचेन्ज र धेरै संख्यामा ब्रोकर लाइसेन्स वितरणका लागि सूचना निकालेको थियो । यसअनुसार ब्रोकरका लागि ४५ वटा आवेदन परेका छन् । स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जमा आवेदनका लागि गत कात्तिक १५ सम्म म्याद दिइएको थियो । उक्त म्याद सकिन एक दिन बाँकी रहँदा सर्वोच्च अदालतको आदेशअनुसार बोर्डले उक्त प्रक्रिया स्थगन गरेको छ ।