प्रसाद-२ को ‘मार्सी धान’

कान्तिपुर संवाददाता

काठमाडौँ — चैत २४ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रसाद २’ ले मंगलबार आफ्नो पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरेको छ । राजनराज सिवाकोटी र मिलन नेवारको स्वर तथा राजनराजकै शब्द, संगीत रहेको लोक लयमा आधारित उक्त गीतलाई फिल्ममा विवाहको सन्दर्भ जोडिएको छ ।

जसमा‘प्रसाद २’ का मुख्य जोडी विपिन कार्की र केकी अधिकारीसहित कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माले नाचेका छन् । विवाह सेटमा पञ्चेबाजासहित कलाकारलाई नृत्य निर्देशन गरेका हुन्, विक्रम स्वाँरले ।

पछिल्ला वर्ष लोक गीत, संगीतमा सफलता कमाइरहेका संगीतकार सिवाकोटीले ‘मार्सी धान’ आफूले निकै मिहिनेत गरेकाले दर्शकलाई रुचिकर लाग्ने बताउँछन् । ‘लै लै’ र ‘वनकी चरी’ जस्ता हिट गीत दिइसकेको ‘प्रसाद’ कै सिक्वेल भएकाले पनि ‘प्रसाद २’ का गीत पनि दर्शकका लागि प्रतीक्षित छन् । सिवाकोटीले आफू त्यसप्रति जानकार भएकैले पनि ‘मार्सी धान’ लाई पूर्णतः न्याय दिएरै फिल्मको कथा, पात्र र अवस्था सुहाउँदो मौलिकता पस्केको बताउँछन् ।

सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ मा विपिन र केकीका साथमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपाल, विशाल पहाडीलगायतका कलाकारको मुख्य भूमिका छ । पारिवारिक सम्बन्ध र सामाजिक कथावस्तुमा आधारित ‘प्रसाद २’ सुशील पौडेलले लेखेका हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । फिल्मको निर्माण सुदर्शन बस्नेतले गरेका हुन् भने यसका प्रस्तुतकर्ता सुभाष थापा हुन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

आजकै दिन : ‘माई केमिकल रोमान्स’को ब्रेकअप

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०१३ मा आजकै दिन (मार्च २२) मा अमेरिकी रक ब्यान्ड ‘माई केमिकल रोमान्स (एमसीआर)’ ले ब्रेकअपको घोषणा गरेको थियो । २००१ को सेप्टेम्बरमा अमेरिकाको न्युजर्सीमा स्थापित ब्यान्डलाई २१ औं शताब्दीको सबैभन्दा प्रभावशाली रक ब्यान्डका रूपमा लिने गरिन्छ ।

गेरार्ड वे, मिकी वे, रे टोरो र म्याट पेलिसियरले स्थापना गरेको ब्यान्डमा पछि फ्राङ्क लेरो जोडिएका थिए । ब्यान्डले आफ्नो पहिलो एम्बल ‘आई ब्रट यू माई बुलेट्स, यू ब्रट मी योर लभ (२००२)’ मा बजारमा ल्याएको थियो । त्यस्तै, ब्यान्डले २००४ मा दोस्रो एल्बम ‘थ्री चियर्स फर स्विट रेभेन्ज (२००४)’ सार्वजनिक गरेको थियो ।

ब्यान्डका ‘द ब्याल्यक परेड (२००६)’, ‘डेन्जर डेज : द ट्रु लाइभ्स अफ द फ्याबुलस किलजोयज (२०१०)’ लगायतका एल्बम चर्चित छन् । ब्रेकअपपछि ब्यान्डले बजारमा ल्याएको एल्बम ‘मे डेथ नेभर स्टप (२०१४)’ निकै लोकप्रिय भएको थियो । ब्यान्डमा हाल गेरार्ड लिड भोकलिस्ट र रे लिड गिटारिस्टका रूपमा छन् । त्यस्तै, रिदम गिटारिस्टका रूपमा लेरो छन् भने वे बासिस्ट हुन् ।

प्रकाशित : चैत्र ८, २०७९ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×