'मेटा अवार्ड हाम्रो लागि ओस्कर नै हो' : विमल सुवेदी

'साउथ एसियाका लागि यो अवार्ड त ओस्कर नै हो । यो अवार्डको गरिमा नै छुट्टै छ । रंगमञ्चका लागि विश्वमा यस्ता प्लेटफर्म फिल्मको दाँजोमा निकै कम छ । त्यसैले पनि हाम्रा लागि यो ठूलो संयोग हो ।'
रीना मोक्तान

काठमाडौँ — नेसनल स्कुल अफ ड्रामा(एनएसडी)बाट सन् २०१३ उत्तीर्ण भइसकेपछि भारतीय चर्चित सञ्चारमाध्यममा विमल सुवेदीलाई सोधियो,'अब के गर्छौ त ?' जवाफमा विमलले निर्धक्क भनेका थिए,'अब जे गर्छु, नेपालमै गर्छु' । त्यतिबेला बेग्लै राष्ट्रप्रेम थियो, आफ्नो सिकाइलाई अवसरमा बदल्ने । अन्तर्वार्ताकारले नयाँ प्रोजेक्टबारे प्रश्न गर्दा विमलले 'द लस्ट बुक'माथि फिल्म बनाउने बताएका थिए । फिल्मको कथा र कन्सेप्ट उनकै । 

'मेटा अवार्ड हाम्रो लागि ओस्कर नै हो' : विमल सुवेदी

विमलका बुवा सिन्धुलीको कार्यालयमा कर्मचारी । त्यहाँ एउटा पत्रिका आउँथ्यो,'यातना मुक्ति' । ७/८ वर्षको उमेरदेखि नै विमलले त्यो पत्रिका पढ्न थाले । त्यही पत्रिकाले भुटानी शरणार्थीबारे जानकार बनायो । उक्त पत्रिका विमलले यति पढे कि पछिसम्म भुटानीका जीवनकथाले पछ्याइरह्यो । उनीहरुको कथामा तानिँदै जाँदा विमल झापाका शरणार्थीबीच पुगे । फिल्म बनाउने भनिसकेपछि त शिविरमा पुगेर अध्ययन, अनुसन्धान नै गरे । तर, निर्माण टोलीले फिल्मलाई व्यावसायिक बनाउने भनिसकेपछि विमल पछाडि सरे ।

यस्तो गम्भीर विषयलाई व्यावसायिक बनाउँदा उनीहरूका जीवन संघर्षले न्याय पाउँदैन भन्ने विमललाई थाहा थियो । तर, निर्माण टोलीले उनको कन्सेप्ट लग्यो, हातमा थपाइदियो, चेक । चेक पनि बाउन्स भयो, फिल्म बनेन । त्यही कथामा विमलले निर्देशन गरेको नाटक 'दि डिपार्टेड डन' अहिले भारतको निकै प्रतिष्ठित 'महिन्द्रा एक्सिलेन्स इन थिएटर अवार्ड(मेटा)मा मनोनीत छ । निर्देशक, संगीत, प्रकाश र कोरियोग्राफीसहित चार विधामा छनौट भएको यो नाटक भारतभरका ४ सय ९५ नाटकमध्यबाट शीर्ष १० मा पर्दा विमलको खुसीको सीमा छैन ।

'यो खुसीको वर्णन गर्ने शब्द छैन । साउथ एसियाका लागि यो अवार्ड त ओस्कर नै हो । यो अवार्डको गरिमा नै छुट्टै छ । रंगमञ्चका लागि विश्वमा यस्ता प्लेटफर्म फिल्मको दाँजोमा निकै कम छ । त्यसैले पनि हाम्रो लागि यो ठूलो संयोग हो । नेपालको कथा त्यहाँ पुगेको छ । यो कुराले अन्य रंगकर्मीलाई पनि हौसला दिन्छ,'विमलले भने,'हामी सँधै कन्टेन्टलाई मात्रै प्राथमिकतामा राख्छौं । तर, कन्टेन्ट केवल मटेरियल हो । हामीसँग कोदो, मकै, चामल छ त्यो हाम्रो कथा/कन्टेन्ट भयो । तर, त्यसलाई कसरी बनाउँछौं भन्ने कुराले अन्तर्राष्ट्रियस्तरमा लैजान मद्दत गर्छ । हामीसँग थुप्रै मौलिक कथा छन् त्यसलाई मज्जाले पस्किन सके विश्वबजारमा पुग्न सकिन्छ ।'

नेपालमा सिर्जनशील कामका लागि खासै ग्रान्ट(अनुदान) दिइँदैन । रंगमञ्चको हकमा त झनै शून्य बराबर छ । यस्तो अवस्थामा मेटाजस्तो अवार्डमा मनोनीत हुनु नै विश्वरंगमञ्चमा नेपाली नाटकले मारेको फड्को हो । नेपालभाषी भुटानीको कथा त्यहाँ पुग्दा उनीहरूको आवाज पनि बुलन्द हुने विमलको आशा छ । 'हामी एक/दुई पटकमै यस्तो खालको उपलब्धि खोज्छौं । सायद निरन्तरताले पनि अर्थ राख्छ होला,'विमलले भने,'मेटा अवार्ड जित्यो भने हामी सबैका लागि राम्रो हुने थियो । नेपाली रंगमञ्चको प्रवर्द्धन हुन्छ ।'

लकडाउनअघि मणिपुरका साथी भिक्टर थाउडमले 'सेरेनपिडिटी आर्टस् ग्रान्ट'का लागि विमलसँग कथा मागेका थिए । त्यहीबेला आफूले वर्षौंदेखि इच्छ्याएको नेपालभाषी भुटानीको कथा भिक्टरलाई सुनाइदिए । फिल्मका लागि संकलन गरेको कथालाई पुन: लेखेर पठाइदिए । विमल आफैंले ग्रान्टका लागि कथा पठाउन नपाउने । ग्रान्टमा निवेदन दिन त्यहीँको नागरिक हुनुपर्ने । त्यसैले भिक्टरले ल्याएको सहकार्यको प्रस्ताव विमलले सजिलै स्वीकारे । शरणार्थीको कथा भारतसँग पनि जोडिएको । कथाले सन् २०१९ मा यो नाटकले ग्रान्ट पायो । त्यही अनुदान रकमले विमल मणिपुर पुगेर नाटक निर्देशनमा लागे । यसबीच उनी अमेरिका पनि पुगेका थिए । त्यहाँ नेपालीभाषी भुटानीहरूसँग भेट भयो । त्यही भेटपछि पनि यो समुदायको कथा 'भन्नैपर्छ' भन्ने विमललाई लाग्यो ।

'दि डिपार्टेड डन' नेपालमा भने मञ्चन भएको छैन । एक नेपाल भाषी भुटानी शरणार्थीको कथा नाटकमा प्रस्तुत छ । नाटकमा तीन पात्र छन् । मेची पुलबाट सुरु हुने कथा त्यहीँ आएर सकिन्छ । अध्ययनकै क्रममा भेटिएका एक पात्रले भुटानदेखि भारत हुँदै मेचीसम्म आउन गरेको संघर्ष र भुटान फर्कन त्यही मेची पुल वाधक बनेको कुरा देखाइएको छ । सानै उमेरमा मेची आइपुगेका उनले ८० को हुँदासम्म आफ्नो देश फर्कन गरेको संघर्षलाई मेचीको विम्बबाट प्रस्तुत गर्न खोजिएको छ । 'भौतिक रूपले भुटानीहरू फस्ट वर्ल्ड पुगे पनि उनीहरू मेची पुलमै अड्किएका छन् भन्ने देखाउन त्यो पुललाई विम्बका रूपमा प्रयोग गरेको हुँ । पुल तरेर जान खोजे तर बगरमै अड्किए । जुन बगर नोम्याडल्यान्ड नै हो । त्यो पुल उनीहरुका लागि लाइफलाइन बन्यो । अहिले पनि उनीहरूको पहिचान छैन भन्ने देखाउन खोजेको हुँ,'विमलले भने ।

भुटानीहरूले देश कसरी छोड्नुपर्‍यो, उनीहरुका लागि घर के हो र पहिचानका लागि उनीहरुले गर्ने संघर्ष ? 'दि डिपार्टेड डन'को कथा हो । 'जतिखेर उहाँहरूलाई नेपालीमूलको भनेर नेपाल पठाइयो । सायद त्यतिबेला नेपाल-भारतमा मेचीको यो राजनैतिक सिमा नै थिएन । त्यो हुनाले उहाँहरुलाई भारतको भन्ने की भुटानको । अथवा नेपालको भन्ने कि? उनीहरु अहिले अमेरिका पुगे तर अमेरिकी होइनन्,'विमल नाटकबारे सुनाउँछन्,'भुटानले आफ्नो नागरिक मानेन । भारतले नेपाल धपाइदिए । नेपालले आफ्नो मान्दैन । अहिले जहाँ उनीहरु पुगेका छन् त्यहीँ पनि उनीहरूको पहिचान छैन । त्यसैले यो नाटक उनीहरुको पहिचान संकटको कथा हो ।' यो नाटक विकसित राज्यमा जान नचाहनेहरूको कथा रहेको विमलको भनाइ छ ।

भुटानी शरणार्थीको भोगाइ र जीवनलाई समकालीन समाजसँग जोडेर विमलले नाटकमा प्रस्तुत गरेका छन् । 'जब विदेश भ्रमणमा पुगेँ तब मैले शरणार्थीका कुराहरू धेरै देखें । अहिले रसिया र युक्रेनको युद्ध चलिरहेको छ । झन्ड, २०/३० लाख युक्रेन नागरिक शरणार्थी हुनुभयो । युरोपका थुप्रै देशले ती शरणार्थीलाई लिए । त्यसले गर्दा नेपालीले काम गुमाए, उनीहरुले काम नपाउँदा हाम्रो रेमिट्यान्स घट्ने भयो । हाम्रो जीडीपी घट्ने भयो,' ४० वर्षीय विमल भन्छन्,'फेरि उनीहरू नेपाली पनि हुन् । हाम्रै कथा हो, उनीहरुको कथा कसैले भनिदिँदैन । ग्लोबल भए पनि यो मुद्दा हामीसँग जोडिएको छ । त्यसैले पनि यो कथा भनुँ-भनुँ लाग्यो ।'

यो विषयमा 'पोलिटकली इन्करेक्ट' हुन्छु कि भन्ने विमललाई डर थियो । त्यसैले त्यो समुदाय र त्यो समयलाई न्याय दिन संवेदनशील भएर कथा लेखे । नाटकमा कुनै संवाद छैन । छोटो कविता छ । पर्फमिङ आर्टको शैलीमा नाटक तयार भएको छ । ४५ मिनेटको यो नाटक पर्फमिङ आर्ट शैलीमा भए पनि दर्शकले कथालाई सजिलै बुझ्ने किसिमले पस्किएको छ । यो नाटकलाई नेपालमा पनि मञ्चन गर्ने तयारी छ । विमल नेपाली रंगकर्मी आयतित नाटकमै रमाउनुको साटो गुणस्तरीय कामले विश्व रंगमञ्चमा पुग्नुपर्ने धारणा राख्छन् । 'हामी आफैं गुणस्तरीय नाटक गर्नमा चुकेका छौं । म आफैं पनि चुकेको छु । नेपालको कथाहरू बाहिर जानुपर्छ भन्ने नै हो,'उनले भने,'हामी कस्तो काम लिएर जाँदैछौं भन्ने कुराले पनि त्यसमा असर गर्छ । देशबाट त्यसरी बाहिर जानु त देशको प्रतिनिधित्त्व गरेर जानु नै हो नि ।'

सामाजिक विषयवस्तुमा नाटक गर्दै आइरहेका विमल रंगकर्मीलाई हौसला दिन राज्यले खासै भूमिका नखेलेको बताउँछन् । 'अन्तर्राष्ट्रिय महोत्सवहरूमा पुग्न यात्रा खर्च नै हामीसँग हुँदैन । फिल्महरु त आफैं पुग्न सक्छ । तर, नाटकको त सबै टोली नै पुग्नुपर्ने हुन्छ,'उनले भने,'राम्रो महोत्सवमा नाटक छनौट हुँदा धेरै देशले बाटो खर्च जुटाइदिन्छ । भारतमै पनि त्यस्तो खर्च दिइन्छ । तर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आजसम्म हामीलाई यस्तो खर्च दिएको छैन । अहिले त चौथो कार्यकाल सुरु भयो, तर उहाँहरू पैसै छैन भन्नुहुन्छ ।'

यसअघि 'ह्याम्लेट' लिएर विमलको टिम(१७ जना) यूके पुग्यो । 'मालिनी' भारतदेखि पाकिस्तान र बेल्जियमका महोत्सवहरूमा पुग्यो । पछिल्लो समय 'साविति' एनएसडी पुग्यो । त्यतिबेला टिकटको स्पोन्सर खोजे तर राज्यबाट केही सहयोग मिलेन । यस्ता थुप्रै महोत्सवहरूमा नेपाली नाटक पुग्न सक्थ्यो, तर राज्यले बाटो खर्चमै ध्यान नदिँदा नेपाली रंगमञ्च नेपाली दर्शकबीच नै खुम्चिएको छ । एक दशकको रंगकर्ममा नाटककै लागि विमलले घरखेत सके तर आफूले सरकारबाट एक रुपैयाँ पनि नपाएको उनी गुनासो गर्छन् । विमलको यो गुनासो रंगकर्मीहरूको साझा समस्या हो ।

प्रकाशित : चैत्र ८, २०७९ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?