पूर्वी नेपालको झापाबाट उदाएका गायिकाहरू अस्मिता अधिकारी, रचना रिमाल, एलिना चौहान र प्रविशा अधिकारी पछिल्लोसमय तन्नेरी पुस्तामाझ निकै लोकप्रिय बनेका छन्।
झापा — कति रोएँ म तिम्रो लागिकति कराएँ तिम्रो लागि तर बुझेनौं धोकाको खेती गर्ने रैछौदिनदिनै मुटु साट्ने रैछौ तर भनेनौ यति सारो नि स्वार्थी भयौ तिमीअझै पनि यो मनमा छौ तिमी धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी
गायिका एलिना चौहानको यो गीत यतिबेला तन्नेरी पुस्तामाझ लोकप्रियताको चरमचुलीमा छ । ‘स्याड भर्सन’ को गीतले टिकटक र सामाजिक सञ्जाल छपक्कै छोपेको छ । करिब डेढ वर्षअघि नमस्ते प्लस युट्युबबाट सार्वजनिक भएको गीत अहिले आएर छोटो समयमै ‘भाइरल’ भएको छ । ‘अहिले आएर गीत यति धेरै मन पराइला भन्ने सोचेकी थिइनँ,’ गायिका एलिना सुनाउँछिन् ।
छोटो समयमा एलिनाले बनाएको सांगीतिक उचाइ भने निकै ईर्ष्यालाग्दो छ । खासमा उनलाई चिनाउने पहिलो गीत ‘फाटेको जुत्ता...’ हो । तर, भाइरल भएको गीत चैं कालीप्रसाद बाँस्कोटाको ‘इन्स्टाको फोटो...’ हो । उनले कभर गरेपछि यो गीत श्रोताका मुखमुखमा झुन्डिन थाल्यो । ‘बरी लै’ गीतको कभर त ‘ओरिजिनल’ गीतभन्दा बढीले मन पराए ।
सुरुमा टंक तिम्सिनाको ‘लेऊ न माया लेऊ... भन्ने गीत गाइन् । तर, खासै चलेन । उनलाई गायनमा ब्रेक दिने संगीतकारचाहिँ तिम्सिना नै हुन् । कभर गीतहरू भाइरल हुन थालेपछि एक दिन बिर्तामोडको घरमै बसिरहेकी थिइन् एलिना । संगीतकार सापकोटाले फोन गरेर गाउन प्रस्ताव गरे । उनले एकै पटक तीन गीतमा स्वर भरिन् । कभरबाटै सांगीतिक क्षेत्रमा पाइला राखेकी एलिना अहिले देशका केही चर्चित गायिकामध्ये अग्रपंक्तिमा पर्छिन् । उनलाई यतिबेला देश तथा विदेशका मेला, महोत्सवहरूमा भ्याइनभ्याई छ । प्लस टु सकेपछि फुर्सदिलो समयलाई सदुपयोग गर्न कभर गीततिर लागेकी एलिनालाई अहिले यति धेरै ‘पपुलर’ हुन्छु भन्ने पनि लागेको थिएन ।
करिब तीन सयभन्दा बढी गीत गाइसकेकी एलिनाका पानी ‘पानी पँधेरो’, ‘मिनिरल वाटर’, ‘बेहुलो बनेर’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’, ‘मेरो बाबा भगवान्’, ‘आयो चेली’, ‘डल्ली’, ‘घरको छतमा’, ‘कहिले माया देखायौ’ लगायतका गीत टिकटक र सामाजिक सञ्जालमा ‘भाइरल’ छन् । ‘लकडाउन अवधिमा ४० भन्दा बढी गीत रेकर्ड गरें,’ प्यूठान महोत्सवमा गीत गाउन पुगेकी एलिनाले फोनमा भनिन्, ‘अधिकांश हिट छन् । यी गीतबाट कमाइ पनि राम्रै भयो ।’
•••
झापा, भद्रपुरकी रचना रिमालको सांगीतिक करिअरको सुरुआत बडो रोचक छ । ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’, ‘सुनन पियारी’ जस्ता थुप्रै ‘भाइरल’ गीतकी यी सर्जकको लोकप्रियता पनि लोभलाग्दो छ । रचनाको सांगीतिक यात्रा त्यति लामो छैन । पुगनपुग तीन वर्षभित्रै रचनाले चर्चाको शिखर चुमिन् । पढाइ खर्च टार्न घरमै चटपटे पसल थापेर बसेकी रचनालाई युट्युबर भोजराज थापाले फेला पारे । अनि ‘चटपटे बेच्दै, गीत गाउँदै’ भनेर युट्युबमा पोस्ट गरे । त्यसपछि उनी रातारात ‘भाइरल’ भइन् ।
त्यही बेला ‘नेपाल आइडल सिजन–३’ को अडिसन चलिरहेकाले अडिसन दिइन् । उत्कृष्ट आठसम्म पुगेर बाहिरिइन् । नेपाल आइडलबाट बाहिरिए पनि उनको सांगीतिक यात्रा भने बल्ल सुरु भयो । ‘फोटो फिरिममा’ बोलको गीत हिट भयो । त्यसपछि रचनाले पछाडि फर्किनुपरेकै छैन । ‘यो महिनाभरि महोसवमा व्यस्त छु,’ झापा बिर्तामोडको व्यापारिक महोत्सवमा गाउन आएकी रचनाले भनिन्, ‘महोत्सव र नयाँ गीतहरूको रेकर्डिङको व्यस्तताले समय निकाल्नै गाह्रो छ ।’
गीत रेकर्डिङ गराउन गीतकार र संगीतकारहरूबाट दिनहुँजसो प्रस्ताव आउने गरेको रचनाले सुनाइन् । दुई वर्षयता उनले करिब आधा दर्जन देशको भ्रमण गरिन् । यही अवधिमा नयाँ घर पनि बनाइन् । ‘विदेश गएर भए पनि चिटिक्कको घर बनाएर बाआमालाई राख्ने सपना थियो,’ उनले थपिन्, ‘त्यो बल्ल पूरा भएको छ ।’
यी गायिकाको ‘उनको प्रीति’, ‘रुमाल चिनो’, ‘पानी मीठो धाराको’, ‘कोसँग बोलुँ मनको’, ‘एक चिम्टी सिन्दुर’, ‘नरौ नरौ नीरमाया’, ‘काफल गेडी कुटुक्कै’, ‘तिमी बिना’, ‘मेरो माया हार हैन’, ‘रित्तो मझेरी’ जस्ता गीत चर्चित छन् । एलिनालाई झैं रचनालाई पनि गायनमा स्थापित गर्न भने संगीतकार वसन्त सापकोटाले भूमिका खेले । ‘रुमाल चिनो देउन कान्छा’ बोलको गीत रचनाले पहिलो पटक रेकर्ड गराएकी थिइन् । ‘वसन्त सरले गाउन प्रस्ताव गर्दा म झापामै थिएँ,’ उनले सुनाइन्, ‘घरबाट काठमाडौं गएर पहिलो गीत रेकर्ड गरेर फर्किएकी थिएँ ।’ सानैदेखि गायनमा रुचि थियो । बेलाबेला गाउँका मन्दिरमा गाउँथिन् । एक पटक सत्संगमा धेरैले गाए । तर, उनको पालो आएन । उनी रुँदै घर फर्किइन् । भजन गाउन नपाएको ईखले आफू गायनमा मिहिनेत गरेर लागेको उनी बताउँछिन् ।
•••
एलिना र रचनाभन्दा अघिल्लो पुस्ताकी गायिका हुन्– प्रविशा अधिकारी । उनले नेपाली चलचित्रको पार्श्व गायनबाट सांगीतिक करिअर सुरु गरिन् । एसएलसी सकेर झापाबाट काठमाडौं पुगेपछि झापाकै गायक प्रमोद खरेलले चलचित्र ‘बिदाइ’ मा गाउन गरेको अफर प्रविशाले सहर्ष स्विकारिन् । ‘रुचि थियो तर स्कुलमा कहिल्यै गाइनँ,’ प्रविशाले गायनमा गरेको डेव्युबारे सुनाइन्, ‘एकैचोटि फिल्ममा गाउन सुरु गर्दा सबैलाई सरप्राइजजस्तो भयो ।’
करिब डेढ दशकदेखि नेपाली गायन क्षेत्रमा सक्रिय प्रविशा झापाको राजगढमा जन्मिएकी हुन् । एसएलसीपछि उनी थप अध्ययनका लागि काठमाडौं उक्लिइन् । त्यही मेसोमा उनी गायिका भइन् । ‘गीत गाएर खान्छु भन्ने सोचेकै थिएन,’ युवा पुस्तामाझ चर्चित प्रविशाले फोनमा सुनाइन्, ‘कहिलेकाहीँ, जिन्दगीमा नसोचेको पनि हुँदो रैछ ।’
ए मेरो हजुर ३ को जिन्दगी नै भन्दिन, चिट डे, तिमीबाहेक, माया, चलचित्र निगरानीको तिम्रै निगरानी, बाटो छेकी अँगालोभरि, १६ वर्षे उमेरमा, नौलो नौलो, मायालुको गाउँमा, काफल पाक्यो भन्छ जस्ता सय बढी हिट गीतकी यी गायिका भ्वाइस अफ नेपालकी कोच पनि हुन् । प्रविशा निकट भविष्यमा हुन लागेको ‘भ्वाइस अफ नेपाल किड्स’ को कोचका रूपमा पनि आबद्ध भएकी छन् ।
•••
‘नेपाल आइडल सिजन–२’ अघि अस्मिता अधिकारी पारिवारिक सदस्य र साथीसंगीले मात्रै चिन्थे । जब आइडलमा उनले दमदार प्रस्तुति दिन थालिन् तब अस्मिताको चिनारी देशव्यापी बन्यो । यिनको गायकीप्रति सिंगो देशको नजर सोझियो । ‘तिम्रो मायाले बाँधेर राख’ उनको डेव्यु गीत हो । यो गीत निकै हिट भयो । साथै अस्मिताको परिचयमा कोसेढुंगा बन्यो ।
‘साली मनपर्यो’, ‘आँखामा बसाउँ मलाई’, ‘लज्जावती झार’, ‘माया गरौंला’, ‘बाबरी रंगमा’ जस्ता हिट गीतकी यी सर्जकको बाल्यकालदेखिको सपना थियो, गायन र नर्सिङ । सानैदेखि साँचेको सपना अन्ततः पूरा गरिन् । गायनसँगै उनी नर्सिङ पेसामा आबद्ध छिन् । भारतीय गायिका नेहा कक्कडको सांगीतिक यात्राको प्रस्थान बिन्दु पनि भजन नै थियो ।
अस्मिताको पनि भजनबाटै गायनप्रति झुकाव भएको हो । यसै वर्ष प्रतिष्ठित छिन्नलता प्रतिभा पुरस्कार पाएपछि गायनमा थप ऊर्जा मिलेको उनी बताउँछिन् । ‘यस्तो प्रतिष्ठित पुरस्कार पाउनु मेरा लागि ठूलो कुरा हो,’ उनले थपिन्, ‘पुरस्कारले थप मिहिनेत गर्ने उत्साह दिएको छ ।’
