पोलियोविरुद्ध खोप लगाउन सुरु

फाल्गुन ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९५५ मा आजकै दिन (फेब्रुअरी २३) मा पोलियोविरुद्धको पहिलो खोप सर्वसाधारणलाई लगाउन सुरु गरिएको थियो । डाक्टर जोनास ई. साल्क नेतृत्वको टोलीले विकसित गरेको ‘इनएक्टिभेटेड पोलियो भाइरस भ्याक्सिन (आईपीभी) पोलियोविरुद्ध हाल लगाइने खोपमध्ये एक हो ।

उक्त खोप विकसित तथा परीक्षण गरी सर्वसाधारणका लागि प्रयोगमा ल्याउन करिब तीन वर्ष लागेको थियो । 

खोप विकास गरेपछि परीक्षणका लागि साल्कले आफ्नी श्रीमती, तीन जना छोरा र आफू स्वयंलाई खोप लगाएका थिए । सन् १९४८ मा पोलियो रोग विश्वभर महामारीका रूपमा फैलिएको थियो । त्यसको करिब ७ वर्षसम्म पोलियोका कारण वार्षिक कम्तीमा पाँच लाख मानिसले ज्यान गुमाएका वा अपांगताको सिकार भएका बताइन्छ । खोप लगाउनु अघिसम्म पोलियो बालबालिकामा हुने अपांगताको मुख्य कारणका रूपमा रहेको थियो । १९५५ मा ठूलो संख्याका स्कुले विद्यार्थीलाई उक्त खोप लगाइएको थियो । जसका कारण पोलियो संक्रमण करिब दुई प्रतिशतमा झरेको जनाइएको थियो । 

सन् १९६१ मा डाक्टर अल्बर्ट बी. सबिनले पोलियोविरुद्धको दोस्रो खोप विकसित गरेका थिए । त्यसको दुई वर्षपछि तेस्रो खोप विकसित गरिएको थियो । सन् १९९४ देखि पोलियो रोग उत्तर र दक्षिण अमेरिकामा उन्मूलन भएको बताइन्छ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully