‘बिहे पास’ को टिजर सार्वजनिक

फाल्गुन ११, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘बिहे पास’ को बुधबार टिजर सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको युट्युब च्यानलमा सार्वजनिक गरिएको फिल्ममा उनीहरू श्रीमान्–श्रीमतीको भूमिकामा छन् ।

बुधबार सार्वजनिक गरिएको टिजरमा दयाहाङ र प्रकृतिको बिहेको प्रसंग देखाइएको छ । प्रकृति सरकारी जागिरे रूपमा देखिएकी छन् । दयाहाङले भने सरकारी जागिर खोजी गरिरहेको टिजरमा देख्न सकिन्छ । फिल्मबाट प्रकृतिले लामो समयपछि अभिनयमा कम ब्याक गरेकी हुन् । ‘होस्टेल’ फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी उनले यसअघि ‘जिन्दगी रक्स’ र ‘उत्सव’ मा अभिनय गरेकी थिइन् ।

‘बिहे पास’ मा दयाहाङ र प्रकृतिसँगै बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर वाङ्देल, श्याम राई, रूषा न्यौपाने, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम, नवीन शेरचन, प्रकाश भुजेल, उमा बानियाँलगायतका कलाकारको अभिनय रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन् । सजन काफ्ले, सञ्जीव जे. रावल र विवेक प्याकुरेलले सहायक निर्देशकको भूमिका निभाएका छन् । 

रोहित कट्टेलको प्रस्तुतिमा तयार भएको फिल्ममा शिव ढकालले छायांकन गरेका हुन् । मित्रदेव गुरुङले फिल्मको सम्पादन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रत्न श्रेष्ठ र निर्माता रोजन श्रेष्ठ हुन् । ‘बिहे पास’ वैशाख १ गतेदेखि सार्वजनिक रूपमा प्रदर्शन हुँदै छ । दयाहाङ राई र मिरुना मगरको प्रमुख भूमिका रहेको फिल्म ‘जारी’ पनि उक्त दिनदेखि नै प्रदर्शनमा आउनेछ ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully