काठमाडौँ — सन् २००९ मा आजकै दिन (फेब्रुअरी २२) मा ‘स्लमडग मिलियनेयर’ ले उत्कृष्ट फिल्मको ओस्कार अवार्ड प्राप्त गरेको थियो । डानी बोयलले निर्देशनमा बनेको ब्रिटिस फिल्म सन् २००८ मा सार्वजनिक भएको हो ।
उत्कृष्ट फिल्मको अवार्डसँगै ‘स्लमडग मिलियनेयर’ ले निर्देशक, सम्पादन, ध्वनि सम्पादन, छायांकनलगायतका आठ उत्कृष्ट अवार्ड जितेको थियो ।भारतीय लेखक विकास स्वरूपले सन् २००५ मा लेखेको उपन्यास ‘क्यू एन्ड ए’ मा आधारित रहेर फिल्म निर्माण गरिएको हो । फिल्ममा भारतका झुपडपट्टीमा रहेका समस्याका साथै सांस्कृतिक र राष्ट्रिय मुद्दा उठान गरेको छ । निर्देशक बोयलले अनुराग काश्यपको ‘डीवाईके’ चलचित्रबाट प्रभावित भएर ‘स्लमडग मिलियनेयर’ बनाएको बताएका थिए ।
फिल्ममा देव पटेल र फ्रिडा पिन्टो मुख्य भूमिकामा छन् । उनीहरूसँगै अनिल कपुर, इरफान खान, मधुर मित्तललगायतको पनि फिल्ममा अभिनय देख्न सकिन्छ । ओस्कारका साथै फिल्मले बाफ्टा र गोल्डन गोल्ब्स अवार्डमा पनि उत्कृष्ट फिल्म र निर्देशकको अवार्ड प्राप्त गरेको थियो । निर्देशक बोयलका ‘स्यालो ग्रेभ’, ‘द विच’, ‘२८ डेज लेटर’, ‘सनसाइन’ ‘१२७ हावर्स’, ‘स्टिभ जब्स’, ‘यस्टर्डे’ लगायतका फिल्म चर्चित छन् ।
