काठमाडौँ — ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार जितु नेपालसँगै नायिका प्रियंका कार्की मुख्य भूमिकामा देखिने भएकी छन् । कार्यक्रममा कलाकार नेपाल भने नयाँ स्वरूपमा देखिने जनाइएको छ ।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले कार्यक्रमबारे जानकारी दिँदै हास्य विधामा केही नयाँ प्रयोग गर्न लागेको र त्यसका लागि तयारी पूरा भएको जनाए ।
‘मुन्द्रेको कमेडी क्लब’ यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएकामा अब भने कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ । ‘की इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा दिनेश डीसीको निर्देशनमा उत्पादन हुने कार्यक्रम आगामी चैत २ गतेदेखि हरेक दिन बिहीबार राति ९ बजे प्रसारण हुनेछ ।
कार्यक्रममा नेपाल र कार्कीसँगै दमन रूपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बाँस्कोटालगायतका कलाकार पनि विभिन्न भूमिकामा रहनेछन् । नायिका कार्कीले कमेडी क्लबमा जोडिन पाउँदा खुसी लागेको जनाउँदै स्वच्छ हास्यव्यंग्यमार्फत दर्शक/श्रोतालाई सुसूचित गर्न आफूहरू तत्पर रहेको बताइन् ।
