सुर्खेत — भारतीय राजधानी नयाँदिल्लीमा जन्मिएकी वीरेन्द्रनगर–५ की आँचलदत्त चौलागाईंले दिल्ली विश्वविद्यालयबाट समाजसास्त्रमा स्नात्तकोत्तर उत्तीर्ण गरिन् । आमाबाबु छोरीले राम्रो जागिर खाएको हेर्न चाहन्थे । आमाबाबुको इच्छा थियो– ‘छोरीले सरकारी वा गैरसरकारी संघसंस्थामा जागिर गरोस् ।’
आमाबाबु रोजगारीमा भारत गएका कारण उनी उतै हुर्किन्, बढिन् र पढिन् पनि । आँचलले केही समय होमट्युसन पढाइन् । लगत्तै कोभिड महामारी सुरु भयो । लकडाउनका कारण घरमै थुनिएर बस्नुपरेपछि युट्युबमा भिडियो हेरेर घरमै बेकरी बनाउन सिकिन् ।
महामारी लम्बिँदै गएपछि सुर्खेत फर्केकी उनले अहिले ‘केक हाउस’ खोलेकी छिन् । ‘सानैदेखिको रुचि बल्ल पूरा भएको छ,’ उनी भन्छिन्, ‘अहिले बेकरीमा बन्ने सबै परिकार आफैं बनाउँछु ।’ २ वर्षअघि उनलाई व्यापार नगर भन्ने आमाबाबु भने अहिले उनकै केक हाउसमा आफन्त र छिमेकीलाई डाक्छन् । दाजुभाइ र भाउजूले पनि सहयोग गरेकै छन् । केक हाउसमा उनले अहिलेसम्म झन्डै ४० लाख रुपैयाँ लगानी गरिसकेकी छन् । भारतबाट फर्किंदा उनीसँग १० लाख रुपैयाँ मात्र थियो । बाँकी रकम आफन्त र ‘महिला उद्यमी कर्जा’ बाट जुटाएकी हुन् ।
‘महिलाले केही गर्दैनन् भन्ने सोच हाम्रो समाजमा अझै पनि छ,’ आँचलले भनिन्, ‘त्यो सोच बदल्न र कर्णालीलाई केकको स्वाद चखाउन यो व्यवसाय सुरु गरेकी हुँ ।’ सुर्खेतमा मःम र चाउमिनलाई मात्र खाजा मान्ने चलन फेर्न आफूले ‘रिस्क’ मोलेरै व्यापार सुरु गरेको आँचल बताउँछिन् । ‘सुरुको एक वर्ष हेर्छु । व्यापारमा सफल नभए हातमा पढाइको सर्टिफिकेट छँदै छ भन्ने थियो,’ उनले भनिन् । अब भने सुर्खेतबाट बिस्तारै कर्णालीका अरू जिल्लामा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएकी छन् उनले । उनको केक हाउसमा अहिले बेकरी, दुनोट, कुकिज, केक, प्रेस्ट्री सेक, कोल्डकफीलगायत परिकार बन्छन् । ४ प्रकारका चिया कफी पिउन पाइन्छ । सकभर उत्पादनमा पनि उनले कर्णालीकै अन्न प्रयोग गर्छिन् । कोदोको कुकिज बनाइरहेकी उनले यहाँको बजारमा सबै सामान नपाइने भएकाले झन्डै आधा सामान भारतबाट आउने गरेको बताइन् । उनको उत्पादन गरेको ब्राउनी र कुकिज अहिले नेपालगन्जका केही रेस्टुरेन्टमा समेत गइरहेको छ । आँचलले ४ जनालाई रोजगारी पनि दिएकी छन् । ‘मेरो व्यवसायले अरू युवाहरू पनि प्रभावित हुनुभएको छ,’ उनले भनिन् । सुरुमा नेपाल आउँदा उनलाई भाषाको समस्या थियो । तर अहिले प्रस्टसँग नेपाली बोल्न सिकिसकेकी छन् । केकहाउस सञ्चालनसँगै उनले कोपिला भ्याली स्कुलमा कक्षा ६, ७ र ८ का विद्यार्थीहरूलाई अंग्रेजी विषय पनि पढाउँछिन् । ‘यता व्यापार गर्दागर्दै स्कुलबाट अंग्रेजी पढाइदिनुपर्यो भनेर आग्रह गरियो,’ उनले भनिन्, ‘अब शिक्षण, व्यवसायसँगै समाज सेवालाई पनि निरन्तरता दिन्छु ।’
वीरेन्द्रनगर– २ की ३३ वर्षीया रञ्जु बीसीले झन्डै १२ वर्ष सशस्त्र प्रहरी बलमा जागिर गरिन् । २०७४ सालमा जागिर छोडेर सिंगापुर पुगेकी उनले एक वर्ष काम गरिन् । त्यता बसिरहन मन नलागेपछि गाउँ फर्किएकी उनले हाल वीरेन्द्रनगरस्थित ऐरीचोकमा काठमाडौं बर्गर हाउसको शाखा सञ्चालन गरिरहेकी छन् । एसएलसीसम्मको अध्ययन गरेकी रञ्जुको रेस्टुरेन्टमा अहिले २१ जनाले रोजगारी पाएका छन् । जसमा ४ जना महिला छन् । उनको ४ तले रेस्टुरेन्ट खुलेसँगै वीरेन्द्रनगरमा अहिले ‘रेस्टुरेन्ट खाना’ को संस्कार सुरु भएको हो । उनले २० वर्ष हुँदा बाबु गुमाइन् । वीरेन्द्रनगरकै बासिन्दा भएकाले बाल्यकाल समान्य रूपमै बित्यो । ‘यहाँ फर्किएर मैले आफ्नो योजना सुनाएपछि आमाले ठूलो लगानी गरी रिस्क लिएर काम नगर भन्नुहुन्थ्यो,’ उनले भनिन् ।
काठमाडौं जाँदा बर्गर हाउसमा खाएको स्वादिलो खाजाले शाखा खोल्ने सोच आएको उनको भनाइ छ । ‘काठमाडौंको बर्गर हाउस र यहाँ एउटै सिस्टम, रेट र स्वाद छ,’ उनले भनिन् । अब सुर्खेतमै पार्टी प्यालेस खोल्ने योजना पनि बनाएकी छन् उनले । ‘आफ्नै ब्रान्डको सुविधासम्पन्न रेस्टुरेन्ट बनाएर विभिन्न स्थानमा शाखा खोल्ने योजना छ,’ उनले भनिन्, ‘केही वर्षपछि व्यवसाय छोरीहरूलाई जिम्मा लगाएर समाजसेवा गर्ने हो ।’
