कर्णालीलाई केकको स्वाद

फाल्गुन ८, २०७९

ज्योति कटुवाल

सुर्खेत — भारतीय राजधानी नयाँदिल्लीमा जन्मिएकी वीरेन्द्रनगर–५ की आँचलदत्त चौलागाईंले दिल्ली विश्वविद्यालयबाट समाजसास्त्रमा स्नात्तकोत्तर उत्तीर्ण गरिन् । आमाबाबु छोरीले राम्रो जागिर खाएको हेर्न चाहन्थे । आमाबाबुको इच्छा थियो– ‘छोरीले सरकारी वा गैरसरकारी संघसंस्थामा जागिर गरोस् ।’

आमाबाबु रोजगारीमा भारत गएका कारण उनी उतै हुर्किन्, बढिन् र पढिन् पनि । आँचलले केही समय होमट्युसन पढाइन् । लगत्तै कोभिड महामारी सुरु भयो । लकडाउनका कारण घरमै थुनिएर बस्नुपरेपछि युट्युबमा भिडियो हेरेर घरमै बेकरी बनाउन सिकिन् । 

महामारी लम्बिँदै गएपछि सुर्खेत फर्केकी उनले अहिले ‘केक हाउस’ खोलेकी छिन् । ‘सानैदेखिको रुचि बल्ल पूरा भएको छ,’ उनी भन्छिन्, ‘अहिले बेकरीमा बन्ने सबै परिकार आफैं बनाउँछु ।’ २ वर्षअघि उनलाई व्यापार नगर भन्ने आमाबाबु भने अहिले उनकै केक हाउसमा आफन्त र छिमेकीलाई डाक्छन् । दाजुभाइ र भाउजूले पनि सहयोग गरेकै छन् । केक हाउसमा उनले अहिलेसम्म झन्डै ४० लाख रुपैयाँ लगानी गरिसकेकी छन् । भारतबाट फर्किंदा उनीसँग १० लाख रुपैयाँ मात्र थियो । बाँकी रकम आफन्त र ‘महिला उद्यमी कर्जा’ बाट जुटाएकी हुन् । 

‘महिलाले केही गर्दैनन् भन्ने सोच हाम्रो समाजमा अझै पनि छ,’ आँचलले भनिन्, ‘त्यो सोच बदल्न र कर्णालीलाई केकको स्वाद चखाउन यो व्यवसाय सुरु गरेकी हुँ ।’ सुर्खेतमा मःम र चाउमिनलाई मात्र खाजा मान्ने चलन फेर्न आफूले ‘रिस्क’ मोलेरै व्यापार सुरु गरेको आँचल बताउँछिन् । ‘सुरुको एक वर्ष हेर्छु । व्यापारमा सफल नभए हातमा पढाइको सर्टिफिकेट छँदै छ भन्ने थियो,’ उनले भनिन् । अब भने सुर्खेतबाट बिस्तारै कर्णालीका अरू जिल्लामा पनि व्यवसाय विस्तार गर्ने योजना बनाएकी छन् उनले । उनको केक हाउसमा अहिले बेकरी, दुनोट, कुकिज, केक, प्रेस्ट्री सेक, कोल्डकफीलगायत परिकार बन्छन् । ४ प्रकारका चिया कफी पिउन पाइन्छ । सकभर उत्पादनमा पनि उनले कर्णालीकै अन्न प्रयोग गर्छिन् । कोदोको कुकिज बनाइरहेकी उनले यहाँको बजारमा सबै सामान नपाइने भएकाले झन्डै आधा सामान भारतबाट आउने गरेको बताइन् । उनको उत्पादन गरेको ब्राउनी र कुकिज अहिले नेपालगन्जका केही रेस्टुरेन्टमा समेत गइरहेको छ । आँचलले ४ जनालाई रोजगारी पनि दिएकी छन् । ‘मेरो व्यवसायले अरू युवाहरू पनि प्रभावित हुनुभएको छ,’ उनले भनिन् । सुरुमा नेपाल आउँदा उनलाई भाषाको समस्या थियो । तर अहिले प्रस्टसँग नेपाली बोल्न सिकिसकेकी छन् । केकहाउस सञ्चालनसँगै उनले कोपिला भ्याली स्कुलमा कक्षा ६, ७ र ८ का विद्यार्थीहरूलाई अंग्रेजी विषय पनि पढाउँछिन् । ‘यता व्यापार गर्दागर्दै स्कुलबाट अंग्रेजी पढाइदिनुपर्‍यो भनेर आग्रह गरियो,’ उनले भनिन्, ‘अब शिक्षण, व्यवसायसँगै समाज सेवालाई पनि निरन्तरता दिन्छु ।’ 

वीरेन्द्रनगर– २ की ३३ वर्षीया रञ्जु बीसीले झन्डै १२ वर्ष सशस्त्र प्रहरी बलमा जागिर गरिन् । २०७४ सालमा जागिर छोडेर सिंगापुर पुगेकी उनले एक वर्ष काम गरिन् । त्यता बसिरहन मन नलागेपछि गाउँ फर्किएकी उनले हाल वीरेन्द्रनगरस्थित ऐरीचोकमा काठमाडौं बर्गर हाउसको शाखा सञ्चालन गरिरहेकी छन् । एसएलसीसम्मको अध्ययन गरेकी रञ्जुको रेस्टुरेन्टमा अहिले २१ जनाले रोजगारी पाएका छन् । जसमा ४ जना महिला छन् । उनको ४ तले रेस्टुरेन्ट खुलेसँगै वीरेन्द्रनगरमा अहिले ‘रेस्टुरेन्ट खाना’ को संस्कार सुरु भएको हो । उनले २० वर्ष हुँदा बाबु गुमाइन् । वीरेन्द्रनगरकै बासिन्दा भएकाले बाल्यकाल समान्य रूपमै बित्यो । ‘यहाँ फर्किएर मैले आफ्नो योजना सुनाएपछि आमाले ठूलो लगानी गरी रिस्क लिएर काम नगर भन्नुहुन्थ्यो,’ उनले भनिन् । 

काठमाडौं जाँदा बर्गर हाउसमा खाएको स्वादिलो खाजाले शाखा खोल्ने सोच आएको उनको भनाइ छ । ‘काठमाडौंको बर्गर हाउस र यहाँ एउटै सिस्टम, रेट र स्वाद छ,’ उनले भनिन् । अब सुर्खेतमै पार्टी प्यालेस खोल्ने योजना पनि बनाएकी छन् उनले । ‘आफ्नै ब्रान्डको सुविधासम्पन्न रेस्टुरेन्ट बनाएर विभिन्न स्थानमा शाखा खोल्ने योजना छ,’ उनले भनिन्, ‘केही वर्षपछि व्यवसाय छोरीहरूलाई जिम्मा लगाएर समाजसेवा गर्ने हो ।’

युवा ग्यालरी

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully