काठमाडौँ — सन् १९८८ मा आजकै दिन (फेब्रुअरी २०) मा बार्बाडियन गायिका तथा अभिनेत्री रिहानाको जन्म भएको थियो । बार्बाडोसको सेन्ट माइकल परिसमा जन्मिएकी उनको पुरा नाम रोबिन रिहाना फेन्टी हो ।
२१ औं शताब्दीको सुरुदेखि नै सांगीतिक क्षेत्रमा चर्चित बनेकी रिहानाले सन् २००५ मा पहिलो एल्बम ‘म्युजिक अफ द सन’ सार्वजनिक गरेकी थिइन् । अर्को वर्ष (२००६) मा उनको ‘अ गर्ल लाइक मी’ बजारमा आएको थियो ।
तेस्रो एल्बम ‘गुड गर्ल गन ब्याड (२००७)’ मा समावेश ‘अम्ब्रेला’ गीतका कारण सांगीतिक क्षेत्रमा रिहानाको विश्वव्यापी चर्चा चुलिएको थियो । उक्त गीतबाट उनले पहिलो पटक ग्रामी अवार्ड प्राप्त गरेकी थिइन् । रिहानाले २००९, २०१०, २०११ र २०१२ क्रमशः चौथो, पाँचौं, छैटौं र सातौं एल्बम बजारमा ल्याएकी थिइन् । त्यसको चार वर्षपछि २०१६ मा उनले आठौं एल्बम सार्वजनिक गरेकी हुन् ।
रिहाना सबैभन्दा बढी एल्बम बिक्ने सर्वकालीन महिला गायिका हुन् । उनका २५ करोडभन्दा बढी एल्बमहरू बिक्री भएका छन् । उनले सन् २००७ देखि २०१८ सम्म गरी नौं पटक ग्रामी अवार्ड प्राप्त गरेकी थिइन् । उनले ‘ब्याटलसिप (२०१२)’, ‘होम (२०१५)’, ‘ओसन्स–८ (२०१८)’ लगायतका फिल्ममा अभियन गरेकी छन् ।
संगीत र मनोरञ्जनबाहेक रिहाना फेसन उद्योग र समाज सेवामा पनि सक्रिय छन् । उनी कस्मेटिक कम्पनी ‘फेन्टी ब्युटी’ र फेसन हाउस ‘फेन्टी’ की मालिक हुन् । त्यस्तै, गैरनाफामूलक संस्था ‘क्लारा लायोनेल फाउन्डेसन’ को पनि उनी संस्थापक हुन् ।
