काठमाडौँ — इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन हुने भएको छ ।
दुवै कार्यक्रमको अडिसन नेपालका विभिन्न सहरसँगै भारतको सिलिगुडीमा हुने भएको हो । यसअनुसार नेपालगन्जमा फागुन ६, बुटवलमा फागुन १०, सिलिगुडीमा फागुन १४ र १५, दमकमा फागुन २० र २१ अनि काठमाडौंमा फागुन २७ र २८ अडिसन हुने आयोजकले जनाएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन् । साथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिस्टर गर्न सकिने आयोजकले बताएको छ । डिजिटल अडिसनमा सहभागी प्रतियोगी पनि फिल्ड अडिसनमा सहभागी हुनेछन् ।
‘मेरो डान्स युनिभर्स’को संस्कृतिक समूह विधामा सहभागी हुन चहानेले पनि एपमार्फत अडिसन दिन सक्ने फाउन्डेसन अध्यक्ष डिल्ली अधिकारीले जनाए । ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुःखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो,’ उनले भने । ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता बर्मा, पुष्पन प्रधान छन् । ‘मेरो डान्स युनिभर्स’को निर्णायकमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बीसी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ ।
