बास्केटबल खेलाडी जोर्डनको जन्म

फाल्गुन ५, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९६३ मा आजकै दिन (फेब्रुअरी १७) मा अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनको जन्म भएको थियो । अमेरिकी राज्य न्युयोर्कको ब्रुक्लिनमा जन्मिएका जोर्डन बास्केटबल खेलको इतिहासमा सर्वकालीन महान् खेलाडीमध्ये एक हुन् । उनको नेतृत्वमा सिकागो बुल्सले १९९१ देखि १९९३ सम्म र १९९६ देखि १९९८ सम्म गरी ६ पटक नेसनल बास्केटबल एसोसिएसन (एनबीए) च्याम्पियनसिप जितेको थियो । 

नर्थ क्यारोलिनाको विल्मिङ्टनमा हुर्केका जोर्डन १९८१ मा चापेल हिलस्थित नर्थ क्यारोलिना विश्वविद्यालय प्रवेश गरेका थिए । अर्को वर्ष राष्ट्रिय च्याम्पियनसिपको खेलमा जर्जटाउनविरुद्ध बास्केट जितेपछि उनी चर्चामा आएका थिए । उनलाई विश्वविद्यालयले वर्ष खेलाडीसमेत घोषणा गरेको थियो । जोर्डनको नेतृत्वमा अमेरिकी बास्केटबल टिमले सन् १९८४ (लस एन्जल्स, अमेरिका) र १९९२ मा (बार्सिलोना, स्पेन) मा स्वर्ण पदक जितेको थियो । 

जोर्डन १९८८, १९९१, १९९२, १९९६ र १९९८ गरी पाँच पटक एनबीएको सबैभन्दा मूल्यवान खेलाडीसमेत घोषित भएका थिए । उनले १९९७/९८ को सिजनपछि खेलजीवनबाट संन्यास लिएका हुन् । खेल जीवनमा उनले प्रतिखेल औसत ३०.१२ सहित ३२ हजार २ सय ९२ अंक बटुलेका छन् । त्यसपछि उनले सन् २००० मा वासिङ्टन विजार्ड्सको सेयर खरिद गरेर खेल क्षेत्रमै क्रियाशील रहने निर्णय लिएका थिए । सन् २०१६ मा उनलाई ‘प्रेसिडेन्सियल मेडल अफ फ्रिडम’ बाट सम्मानित गरिएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully