आजकै दिन : क्यास्ट्रो क्युबाका प्रधानमन्त्री

फाल्गुन ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९५९ मा आजकै दिन (फेब्रुअरी १६) मा फिडेल क्यास्ट्रो क्युबाको प्रधानमन्त्री बनेका थिए । क्यास्ट्रोले आफ्नो नेतृत्वमा तानाशाही सैनिक जर्नेल फुल्गेन्सियो बाटिस्टालाई  पराजित गर्दै देशमा कम्युनिस्ट शासन स्थापित गरेका थिए । 

सन् १९२६ को अगस्ट १३ मा जन्मिएका क्यास्ट्रो १९६५ को अक्टोबर ३ मा कम्युनिस्ट पार्टीको प्रथम सचिव बनेका थिए । आफ्नो नेतृत्वमा क्रान्ति सफल भएपछि देशको प्रधानमन्त्री बनेका उनी १९७६ डिसेम्बर २ सम्म देशको प्रधानमन्त्री रहेका थिए । त्यसयता उनी सन् २००८ को फेब्रुअरी २४ सम्म क्युबाको राष्ट्रपति थिए । हवाना विश्वविद्यालयमा अध्ययन गर्दाताका राजनीतिक रूपमा निकै सक्रिय क्यास्ट्रोले सन् १९५३ मा बाटिस्टा नेतृत्वको सरकार ढाल्न असफल प्रयास गरेका थिए । 

त्यसलगत्तै एक वर्षपछि जेल परेका उनले रिहा भएलगत्तै राहुल क्यास्ट्रो र चे ग्वेभारासँग मिलेर क्रान्ति अघि बढाएका थिए । त्यसपछि उनीहरूले गरेको क्रान्ति सफल भएको हो । क्रान्ति सफल भएसँगै चिढिएको अमेरिकाले सन् १९६१ मा उनलाईअपदस्थ गर्ने प्रयाससमेत गरेको थियो । क्यास्ट्रोको सन् २०१६ को नोभेम्बर २५ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully