अफगानिस्तानबाट सोभियत सेना फिर्ता

फाल्गुन ३, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् १९८९ मा आजकै दिन (फेब्रुअरी १५) मा सोभियत संघले पूर्ण रूपमा अफ्गानिस्तानबाट सेना फिर्ता गरेको थियो । सोभियत संघले सन् १९८८ को मे १५ मा सैनिक जर्नेल बोरिस ग्रोमोभको नेतृत्वमा सेना फिर्ता सुरु गरेको थियो । तर पूर्ण रूपमा सेना फिर्ताका लागि भने करिब एक वर्ष लागेको हो ।

मिखाइल गोर्भाचोव सोभियत संघको कम्युनिस्ट पार्टीको महासचिव भएलगत्तै अफगानिस्तानबाट सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरेका थिए । सोभियत संघले सन् १९७९ मा कम्युनिस्ट शासकलाई थप शक्तिशाली बनाउने उद्देश्यले अफगानिस्तानमा हस्तक्षेप गरेको थियो । त्यसको करिब आठ वर्षसम्म सोभियत नेतृत्वको फौज र अफगानिस्तानका विद्रोहीबीच युद्ध चलेको थियो । उक्त अवधिमा दुवै पक्षले अफगानिस्तानमाथि पूर्ण नियन्त्रण कायम गर्ने प्रयास गरेका भए पनि सफल हुन सकेका थिएनन् । 

दुई पक्षबीचको युद्धमा सोभियत संघले करिब १५ हजार सैनिक तथा अर्बौं डलर बराबरको भौतिक क्षति बेहोरेको थियो । त्यसका साथै, उक्त युद्धका कारण सोभियत संघ र अमेरिकाबीचको तनाव थप चर्किएको थियो । जसका कारण सेना फिर्ताका लागि थप दबाबमा परेको जनाइएको छ । तर सोभियत संघका सेना फिर्तापछि पनि युद्ध भने अन्त्य भएन । जसका कारण तालिवान विद्रोहीहरूले १९९२ मा अफगानिस्तानमाथि नियन्त्रण कायम गरेका थिए ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully