काठमाडौँ — ‘अन अ डार्क डेजर्ट हाइवेकुल विन्ड इन माई हेयरवार्म स्मेल अफ कोलिटसराइजिङ अप थ्रु दि इयर...यसरी सुरु हुन्छ, ‘होटल क्यालिफोर्निया’ गीत । पश्चिमेली अंग्रेजी गीत मन पराउनेका लागि यत्तिको कालजयी गीत कमै पाइन्छन् । अहिलेसम्म पनि नसुनेको भए त हदै भयो । ‘इगल्स’ ब्यान्डको गीत हो, यो ।
अझ उसको खास परिचय भन्दा हुन्छ । सन् १९७१ मा अमेरिकाको लस एन्जल्स क्यालिफोर्नियामा स्थापित यो ब्यान्ड अझै पनि सक्रिय छ । नयाँ गीत त आउन छाडे । तर पुराना गीत यति धेरै संख्यामा राम्रा छन् कि यो ब्यान्ड अझै टुरमा हिँडिरहन्छ ।
तिनलाई सुन्न कहींकतै कमी हुन्न । ग्लेन फ्रे र डन हेनली यस ब्यान्डका ‘फ्रन्टम्यान’ हुन् । फ्रेको पनि निधन भएको ६ वर्ष जति भइसक्यो । अचेल ब्यान्डमा हेनली मात्र छन् । पुराना सदस्य जति बाहिरिसके । सन् १९७६ मा ब्यान्डको सबैभन्दा चर्चित एल्बम निस्केको थियो । नाम थियो, उही ‘होटल क्यालिफोर्निया’ । यही नामको गीतले नै एल्बमको नाम पनि जुरेको थियो । यो ब्यान्डको पाँचौं स्टुडियो एल्बम थियो । यो सबैभन्दा सफल र लोकप्रिय पनि सावित भयो ।
एल्बमको कभरमा ‘द बेभरी हिल्स होटल’ रहेको छ । यो गीत लेखन र संगीतको श्रेय ब्यान्डका अर्का पुराना सदस्य डन फेल्डरसँगै तिनै हेनली र फ्रेलाई दिइन्छ । सन् १९७८ मा यो गीतलाई वर्षकै उत्कृष्ट गीतको ग्रामी अवार्ड दिइएको थियो । यो गीतको सबैभन्दा उल्लेखनीय पक्ष हो, यसको अन्त्य । गीतको अन्त्य गितारको लामै धुनबाट हुन्छ र यो असाध्यै कर्णप्रिय छ । गीतमा ब्यान्डका गितारिस्ट जोए वाल्सले यसलाई बजाएका थिए ।
यसमा उनलाई फेन्डलले पनि साथ दिएका थिए । एक प्रकारले गितारको ‘डवेट’ हो, यो । अहिले यो गीतको चर्चा किन त ? प्रश्न स्वाभाविक छ । यसको अझ स्वाभाविक उत्तर के हो भने यो गीत नै यस्तो छ किनकि यसको हरदम चर्चा भइरहन्छ । यस गीतबारे केही न केही नयाँ कुरा आइरहन्छ । कोही न कोही यस गीतसँग जोडिएर आ–आफ्ना दाबी गरिरहन्छन् । फेरि हामी पनि के एक अर्को दाबी गर्न सक्छौं भने ‘होटल क्यालिफोर्निया’ हाम्रोतिर पनि उत्तिकै लोकप्रिय छ ।
हाम्रोमा सबैभन्दा लोकप्रिय पश्चिमेली अंग्रेजी गीतको सर्वकालीन दसको सूची बनाउने हो भने यो गीत त्यसभित्र पर्छ–पर्छ । इगल्स आफैं पनि हाम्रोमा असाध्यै सुनिने ब्यान्ड हो । अनि जतिले यो गीत सुनेको हुनुपर्छ, उसले पक्कै भनेको हुनुपर्छ, साँच्चै यो ‘होटल क्यालिफोर्निया पर्छ चाहिँ कहाँ ? के यो नामको होटलको वास्तवमै अस्तित्व पनि छ त ? क्यालिफोर्निया पुगेपछि यो नामको होटल खोज्नेहरू अझै पाइन्छन् । अझै यसबारे खोजीनिती भइरहन्छ ।
रमाइलो के छ भने यो गीतले भन्न खोजेको भावबारे धेरैको फरक–फरक धारणा छ । कोही के भन्छन्, कोही के । अझ जति मुख उति विचार । एकपल्ट हेनलीले ‘द हिस्ट्री अफ द इगल्स’ वृत्तचित्र बनाउने क्रममा भनेका थिए, ‘यो गीत निर्दोष मनदेखि अनुभवसम्मको यात्रा हो ।’ अमूर्त छ नि यो भनाइ, होइन र ? यस गीतबारे फ्रेले पनि उत्तिकै अमूर्त कुरा गरेका छन् । उनी भन्थे, ‘हामीले एकपल्ट केही अनौठो सिर्जना गर्ने निर्णय गरेका थियौं, हेरेका थियौं, हामी के गर्न सक्छौं ?’
यस्तै–यस्तै कुराले त यो गीतबारे हजार धारणा बनेको । अनि गीत आफैंमा रहस्यमय भएको । धेरैपछि द रोलिङ स्टोन्स म्यागजिनलाई दिएको अन्तर्वार्तामा हेनली भन्थे, ‘यो गीत एक प्रकारले अमेरिकाको प्रतिबिम्ब हो । अमेरिकामा नयाँ र पुराना कुराबीच जहिल्यै द्वन्द्व चलिरहन्छ । जस्तो– अँध्यारो र उज्यालो, राम्रो र दैत्य, युवा र उमेर, धर्म र निरपेक्षता ।’ यो गीतले सन् सत्तरीताकाको समयबारे पनि भन्छ । त्यति बेला अमेरिकामा पैसा, भ्रष्टाचार, लागू पदार्थ र घमण्ड सबै थियो ।
यो गीत त्यसैबारे हो । लस एन्जलस त्यति बेला पनि ‘हाई लाइभ’ को सहर थियो । त्यसैमा टिकेर अमेरिकी सपनाबारे लेखिएको गीत हो भनेर पनि भनिन्छ । कोही एक जना लागू पदार्थ प्रयोगकर्ता हुन्छन्, उनले मनमनै यात्रा गर्छ । यो यात्रा मायाबी हुन्छ । भनिन्छ, लागू पदार्थका प्रयोगकर्ताहरू यस्तै–यस्तै दुनियाँमा बस्छन्, वास्तविकताभन्दा पर । खालि कल्पनामै फेरि कोही यो गीतलाई भियतनाम युद्धसँग जोडेर पनि कथा बुन्ने गर्छन् ।
अमेरिकाले सुरु गरेको भियतनाम युद्धलाई त्यसताका अमेरिकाको पहिलो ‘रक एन्ड रोल’ युद्ध हो भन्नेहरू कहाँ कम छन् र ? त्यस युद्धमा भाग लिने अधिकांश अमेरिकी सैनिक बढीमा २३ वर्षका थिए, तिनलाई यो युद्ध पटक्कै मन परेको थिएन, तर बाध्य भएर भियतनाम पुगेका थिए । त्यसैले यसबारे धेरै गीत पनि लेखिए । त्यसको सबैभन्दा सटिक भाव रक संगीतमै पोखिएको थियो । यो विद्रोह थियो । ‘होटल क्यालिफोर्निया’ यस्तै एक गीत हो । अझ इगल्सले यही शुक्रबारदेखि गर्न लागेको म्युजिकल टुरका कारण पनि यसको चर्चा र चासो अहिले ह्वात्तै बढेको छ ।
गीतबारेका विभिन्न किस्साबीच पनि एउटा सबैभन्दा लोकप्रिय धारणा छ र यसबारे विचार पोख्नेहरू ब्यान्डका कोही सदस्य भने होइनन् । यो त एक प्रकारले एकले अर्कोलाई सुनाइएको कथा हो । सायद यो नै हो, ‘होटल क्यालिफोर्निया’ बारे सबैभन्दा प्रचलित कथा । यसले भन्छ, ‘होटल क्यालिफोर्निया’ कतै कहीं छैन । भविष्यमा हुने पनि छैन । कोही कसैको नाम जुरेको छ भने त्यो संयोग मात्र हो । अरू केही होइन । यो त एक बिम्ब मात्रै हो । त्यस धारणाले दाबी गर्छ, ‘होटल क्यालिफोर्निया’ ले त एक मानसिक अस्पतालको कथा भन्छ । सायद यो लस एन्जलसमै अवस्थित अस्पताल हो । सन् साठीतिर मानसिक अस्पतालका बिरामीलाई उच्च मात्रमा लट्ठ पार्ने औषधि दिइन्थ्यो । यस्तै एक लट्ठ परेको मानसिक बिरामीले मनमनै कोरेको कल्पना हो, ‘होटल क्यालिफोर्निया ।’ गज्जब छैनन् त यी सबै कुरा ? यो सबै बिम्बबीच अब फेरि एकपल्ट यो गीत दोहोर्याएर सुन्नु त तपाईंले, कस्तो अनुभव हुनेछ त ?
गीतको अन्त्य पनि यस्तो छ,
...यु क्यान चेक आउट एनी टाइम यु लाइक,
बट यु नेभर लिभ ।’
